मध्यपुरको नाटकीय जितमा कप्तान धिरजको दुई गोल – Nepal Press

मध्यपुरको नाटकीय जितमा कप्तान धिरजको दुई गोल

काठमाडौं । धिरज श्रेष्ठको दुई गोल प्रेरित मध्यपुर युथ एसोसिएसनले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ गोलको नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १७औं मिनेटमा किस्मत लिम्बुले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए । बराबरी गोलका लागि संघर्षरत मध्यपुरका लागि ३३औं मिनेटमा कप्तानसमेत रहेका धिरजले पहिलो गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यमा पुन: पुल्चोकले अग्रता लिएको थियो । पुल्चोकका शाइरबलो तामाङले ४५+२ मा गोल गर्दै पहिलो हाफमा टोलीलाई १-२ को अग्रता दिलाएका थिए ।

पछि परेको मध्यपुरका लागि पुल्चोकका यम बहादुर श्रेष्ठले गरेको आत्मघाति गोल उपहार सावित भयो । श्रेष्ठले ६३औं मिनेटमा गरेको आत्मघाति गोलसँगै २-२ को बराबरीमा फर्किएको मध्यपुरका लागि धिरजले ६७औं मिनेटमा तेस्रो गोल गरेका थिए । बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा मध्यपुरको जित निश्चित बन्यो ।

जितसँगै ९ खेलमा १० अंक जोडेको मध्यपुर लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट २ अंक मात्रै जोडेको पुल्चोक तालिकाको अन्त्यमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर