मोतिपुर औद्योगिक करिडोर शिलान्यासका लागि तयार मञ्च भत्काइयो – Nepal Press

मोतिपुर औद्योगिक करिडोर शिलान्यासका लागि तयार मञ्च भत्काइयो

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न तयार गरिएको मञ्च असन्तुष्ट स्थानीयले भत्काईदिएका छन् । औद्योगिक व्यवस्थापन लिमिटेडको ढिलासुस्ती तथा स्थानीयको विरोधका कारण औद्योगिक करिडोरको काम अगाडी बढ्न सकेको थिएन ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएपछि तयार गरिएको मञ्च मोतिपुरका स्थानीयले भत्काईदिएका हुन् । आफुहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले उक्त मञ्च भत्काईदिएका हुन् ।

यसअघि गत १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि तय भएको हो । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने तिनाउ नदीको उकास क्षेत्रको करिब १ हजार बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने गरी दुईवर्ष पहिले नै औद्योगिक क्षेत्र कार्यालय समेत शुभारम्भ गरिएको थियो ।

तर करिव २ सय जनाको समुहमा आएका स्थानीयवासीले कार्यक्रमका लागि तयार गरिएको मञ्च र स्तम्भ भत्काईदिएको बुटवल औधोगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले जानकारी दिए ।

कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा अचानक स्थानीयको ठूलो समुह आएर हुल हुज्जत गरेर मञ्च र शिलास्तम्भ भत्काई दिएर मञ्च निर्माण गरिरहेका कामदारलाई समेत लखेट्ने काम गरेको उनले बताए ।

यसअघि बिहिबार विहान स्थानीयले पत्रकार सम्मेलन गरेर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गरेका थिए । उनिहरुले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै अन्यथा सामुहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

२०७३ सालमा स्थलगत निरीक्षण विना ३ हजार ६२ घर र करिब २ सय ५० विघा जग्गासहित ८ सय १३ विघा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गासँबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको शुद्धोधन गाउंपालिका ४ का स्थानीय रामप्रसाद पाण्डेको भनाइ छ ।

शुद्धोधन गाउपालिका वडा ३ का वडाअध्यक्ष शिव खड्काले कोरिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको भन्दै नागरिकको गाँस, बास र कपाससँग जोडिएको बिषयमा स्थानीय सरकारसँग समन्वय नै नगरि संघीय सरकारले शिलान्यास गर्न लागेको बताए । गत १३ गते अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको भएपनि संसद पुनर्स्थापना भएपछि सृजित परिस्थितीका कारण पौडेलले शिलान्यास गर्ने कार्यक्रम स्थगन गरिएको थियो ।

औद्योगिक क्षेत्रका लागि सरकारले लागत कट्टि गरेको जग्गा भित्र ३ हजार बढी परिवारहरुको बसोबास गर्दै आएका छन् । स्थानीयको माग सम्बोधन नगरि औद्योगिक क्षेत्र स्थापना भए ५० वर्ष देखि बस्दै आएका स्थानीयको गास, बास र कपास खोसिने स्थानीय संघर्ष समितिका सदस्य बाबुराम घिमिरेले बताए । रानीगन्ज, साविक मोतिपुर, तिलोत्तमा लगायतको क्षेत्रमा ३ हजार बढी घरपरिवार बस्दै आएको उनले बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने मोतिपुरमा बसोबास गर्दै आएका सबैको माग सम्बोधन हुने बताउँदै आएका छन् ।

औद्योगिक क्षेत्रको निर्माण हुने २४५ बिगाहा जग्ग क्षेत्रमा मात्र शिलान्यास हुन लागेको जानकारी दिए । उनले कामहरु अगाडि बढ्दै जाँदा सबैको माग सम्बोधन हुने बताउंदै डीपीआरमा सबैको लागत लिईएको र ईआईए मा बाँकी स्थानीयको सम्बोधन भएको र औद्योगिक क्षेत्रको परियोना सुचारुहुँदा सम्म सबैको माग पुरा हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर