म अध्यक्ष हुँदा मात्रै मेसीले बार्सिलोना छाड्दैनन्: लापोर्टा – Nepal Press

म अध्यक्ष हुँदा मात्रै मेसीले बार्सिलोना छाड्दैनन्: लापोर्टा

काठमाडौं । बार्सिलोना फुटबल क्लबको अध्यक्ष पदका लागि आइतबार हुने चुनाबमा आफूले जिते मात्रै लियोनेल मेसी क्लबमै रहने प्रत्याशी जोन लापोर्टाले दाबी गरेका छन् ।

बार्सिलोनाको नेतृत्वमा एक दशकभन्दा लामो सयमपछि पुनरागमन गर्न खोजिरहेका लापोर्टा यसअघि २००३ देखि १० सम्म पनि बोर्डमा रहेका थिए । सोही समयमा क्लबले विश्व फुटबलका तत्कालिन महान् खेलाडी रोनाल्डिन्होलाई अनुबन्ध गर्न सफल भएको थियो । बार्सिलोनाले सोही समयमा पेप ग्वार्डिओलाको प्राइम टाइमको सुखद् अनुभव पनि लिएको थियो ।

दशकदेखि सुपर स्टारको छवी बनाएका मेसी फुटबलमा उदाउँदै गर्दा लापोर्टा पनि क्लबको नेतृत्वमा रहेकाले उनीहरूको सम्बन्धले पनि मेसीको बार्सिलोना छाड्ने निर्णयमा परिवर्तन आउनसक्ने देखिन्छ ।

जारी सिजनको सुरुआतमै क्लब छाड्न चाहे पनि क्लबले रिलिज नगरेकाले एक वर्ष क्याम्प नोउमै बिताउन बाध्य भएका मेसी सिजनको अन्त्यमा छोड्ने निर्णयमा हालसम्म अडिग छन् । बार्सिलोनासँगको सम्झौता जुनमा गुज्रिने भए पनि आगामी क्लब कुन हुन्छ भन्नेबारे उनले हालसम्म केही पनि खुलाएका छैनन् ।

पछिल्लो समय युरोपेली फुटबलमा आफ्नो अस्तित्व स्थापित गर्न लागि परेका दुई टोली– म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) मेसीलाई भित्र्याउने दौडधुपमा लागिरहेका छन् ।

अध्यक्ष पदका अन्य प्रत्याशी भिक्टोर फन्ट र टोनी फ्रेक्जाबीचको डिबेटमा मंगलबार लापोर्टाले आफू निर्वाचित भए मात्रै क्लबका सर्वकालिन सर्वाधिक गोलकर्ता मेसी बार्सिलोनामै रहने विश्वास व्यक्त गरे ।

‘मेसीले चाहेको कुरा जित हो । बार्सिलोनाले फेरि जितोस् भन्ने चाहन्छन् । मेरो मेसीसँग राम्रो सम्बन्ध छ, त्यसले मैले गर्ने प्रस्तावमा आउने उनको प्रतिक्रिया निहित हुन्छ,’ लापोर्टाले भने, ‘मेसीलाई बार्सिलोनामै राख्न सक्ने एकमात्र विकल्प म हुँ । मैले चुनाव जितिँन भने मेसी बार्सिलोनामा बस्दैनन् भन्नेमा म विश्वस्त छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *