नेपालमा पहिलो पटक नट–बोल्टको उत्पादन शुरु – Nepal Press

नेपालमा पहिलो पटक नट–बोल्टको उत्पादन शुरु

रुपन्देही । सुन्दा सामान्य लाग्ने, तर, दिनहुँ आवश्यक परिरहने नट–बोल्ट अहिलेसम्म नेपालमा उत्पादन हुन सकेको थिएन । अब भने नट–बोल्टको उत्पादन नेपालमा नै हुने भएको छ ।

१० करोड रुपैयाँको लगानीमा रुपन्देहीको आवास ग्रुपले नट–बोल्ट उत्पादन शुरु गरेको छ । आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इण्डष्ट्रिज प्रालिले बजारको माग अनुसार आल्मूनियम फेब्रिकेशन, जीप्सन बोर्ड, सवारीसाधन, निर्माण कार्यलगायतमा अतिआवश्यक पर्ने स्क्रु, नट–बोल्ट  उत्पादन शुरु गरेको हो ।

रुपन्देहीको तिलोत्तमा–१७ मा एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरी मिराजले उत्पादन शुरु गरेको जनाएको छ ।

नेपाली उद्योग व्वसायी तथा उपभोक्ताले अब स्क्रु, नट–बोल्टका लागि विदेशी कम्पनीको भर पर्नु नपर्ने ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले बताए ।
‘ठूलो परिमाणमा स्क्रु र नट–बोल्ट विदेशबाट आयात हुँदै आएको छ’, उनले भने । विशेषगरी भारत र चीनको बजारबाट नेपालमा नट–बोल्ट आउने गरेको छ । ‘यो नेपालमै पहिलो उद्योग हो’, उनले भने ।

नट–बोल्ट स्वदेशमा नै उत्पादन गर्ने लक्ष्यसहित विदेशबाट अटोमेटिक मेशिन झिकाएर उत्पादन गरेको उनले बताए । नट–बोल्टका लागि कच्चा पदार्थमा भने विदेशमै भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

स्क्रु र नट–बोल्ट गरी उद्योगमा दैनिक एक हजार किलो उत्पादन क्षमता रहेको निर्देशक थैवको भनाइ छ । उद्योगमा ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । आवास ग्रुपको हाल १४ वटा विभिन्न उद्योगसञ्चालनमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *