पोखराले बनायो प्रज्ञा प्रतिष्ठान, पदाधिकारीले लिए शपथ – Nepal Press

पोखराले बनायो प्रज्ञा प्रतिष्ठान, पदाधिकारीले लिए शपथ

पोखरा । पोखरा महानगरले हालै गठन गरेको ‘पोखरा प्रज्ञा प्रतिष्ठान’का नवनियुक्त पदाधिकारीले बुधबार शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानका नवनियुक्त कुलपति पदमराज ढकाललाई महानगर प्रमुख मानबहादुर जिसीले र बाँकी पदाधिकारीलाई कुलपति ढकालले शपथ खुवाएका हुन् ।

प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवि सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन् ।

यसअघि सदस्यमा संगीतकार तथा गायक धनबहादुर गन्धर्वको नाम सिफारिस भएको थियो । तर, गायकको माघमा निधन भएपछि उनका छोरा गायकलाई प्रतिष्ठानमा नियुक्ति गरिएको हो ।

११ सदस्यीय सांगठनिक ढाँचामा बनेको प्रतिष्ठानमा दुई जनाको पद रिक्त छ । ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ । प्रतिष्ठानमा दुई जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनमा उल्लेख छ ।

महानगर प्रमुख जिसीले पोखरा महानगरभित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वर्धन गर्न प्रतिष्ठान स्थापना गरेको बताए । ‘पोखराको कला, साहित्य, संस्कृति लगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालसँग छलफल गरेर गुरुयोजना निर्माण गरोस्’ उनले भने ।

पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताइन् । ‘प्रतिष्ठानले सबैलाई एकीकृत गरेर महानगरको पूँजी बनाउन यसले भूमिका खेल्नुपर्छ,’ उनले भनिन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव महेश बरालले गण्डकी प्रदेशका साहित्य, कला, संस्कृति र संगीतलाई मूल प्रवाहमा ल्याउनलाई प्रतिष्ठानले काम गर्नुपर्ने बताए ।

नव नियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरुप अगाडि बढाउने बताए । उनले पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताए ।

पोखरा महानगरको छैठौं नगरसभाले ‘महानगर प्रज्ञा प्रतिष्ठान ऐन–२०७६’ पारित गरेको थियो । उक्त ऐनकोे दफा ८ बमोजिम प्रतिष्ठान गठन भएको हो ।

यससँगै पोखरा महानगर आफ्नै प्रज्ञा प्रतिष्ठान गठन गर्ने गण्डकी प्रदेशको पहिलो स्थानीय तह बनेको छ । महानगरले प्राज्ञ छनोटका लागि पोखरा ७ वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर