नेकपा फुटेको छैन, त्यो पार्टीको मालिक केपी ओली हुन्- राजेन्द्र महतो – Nepal Press
नेपाल टक

नेकपा फुटेको छैन, त्यो पार्टीको मालिक केपी ओली हुन्- राजेन्द्र महतो

भारतलाई कम्फरटेबल सरकार कहिले बन्छ ? मलाई होइन प्रचण्ड–माधवलाई सोध्नुस

खरो र सीधा बोल्ने मधेशी नेताका रूपमा परिचित छन्– राजेन्द्र महतो । गत साता विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह उनको पार्टीसँग सहयोग माग्न जाँदा महतोले प्रश्न गरे- तपाईंहरू कुन पार्टीको ?

हामीसँगको कुराकानीमा पनि त्यही कुरा बारम्बार दोहोर्‍याए । नेपाल कम्युनिष्ट पार्टी औपचारिक रूपमा विभाजित नभएकाले प्रचण्ड-माधवको अलग अस्तित्व नरहेको उनको टिप्पणी छ । नेकपा विभाजन नहुञ्जेल अविश्वास प्रस्ताव वा सरकार परिवर्तनको प्रसंग नै नआउने पनि महतोले बताए । राजनीतिक कार्यक्रमका शिलशिलामा कैलाली आएका महतोसँग नेपालप्रेसले समसामयिक राजनीतिक विषयमा गरेको कुराकानी–

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै सरकारले प्रतिनिधिसभा बैठक आह्वान गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछिको यो बैठकमा तपाईंहरूको भूमिका के हुन्छ ?

मुख्य रूपले मुलुकलाई संकटमा हाल्ने काम नेपाल कम्युनिष्ट पार्टीले गरेको हो । जनताले दिएको दुई तिहाइ मत जनताको हितमा लगाइएन । उनीहरूले तीन वर्ष झगडा गर्नमै विताए । हुँदाहुँदा देशलाई यति संकटमा पारे कि प्रतिगमनसमेत गरे । संविधानमाथि ‘कु’ गरे ।

अब संसद शुरू हुने भए पनि अझै अलमलको अवस्था छ । अहिलेको समस्या नेपाल कम्युनिष्ट पार्टी र उसको सरकारका कारणले आएको हो । त्यसैले यसको समाधान उसैले गर्नुपर्छ ।

नेकपाभित्रकै विपक्षी समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । तपाईंहरूसँग पनि सहयोग मागिएको छ । अब तपाईंको पार्टीले सरकार ढाल्न सहयोग गर्छ कि गर्दैन ?

हामीबीच अविश्वासको प्रस्तावबारे अहिले केही चर्चा भएको छैन । यो विषयमा केही सल्लाह नै गरेका छैनौं । अविश्वासको प्रस्ताव कसैले ल्यायो भने त्यो बेला नै यस विषयमा छलफल हुन्छ ।

संसद बहिष्कार गर्ने योजना त छैन ?

आफ्नो सवालको लागि मात्र संसदमा संघर्ष हुन्छ ।

जसपा सरकारमा जान कत्तिको हतारिएको छ ?

नाइँ नाइँ नाइँ… सरकारको कुरै नगर्नुस् ! हामी मुद्दाको साथमा रहन्छौं । रेशम चौधरी रिहाइ नहुँदासम्म हामी सरकारमा जाने कल्पनासम्म नगर्नुहोस् ।

विगत चार वर्षदेखि जनता समाजवादी पार्टी सरकारमा गएको छैन । आज पनि रेशम चौधरी रिहाइ, लक्ष्मण थारूलगायतको मुद्दा फिर्ता, संविधान संशोधन गर्नुपर्ने सवाल छन् । यो भएन भने हामी सरकारको कल्पना पनि गर्दैनौं ।

त्यसो भए प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नढल्ने भएको हो ?

छँदैछ नि उसको दुई तिहाइ । जबसम्म पार्टी एउटा रहन्छ तबसम्म केपी ओलीलाई कसले हटाउने ? नेकपा एक हुनु भनेको दुई तिहाइ हो । त्यसको मालिक त केपी ओली नै हो नि ! या त संसदीय दलको नेताबाट हटाउनुपर्‍यो । त्यो प्रचण्ड माधवले हटाउनुपर्‍यो । कि हामीले हटाइदिने हो ?

केही दिनअघि नेकपाको प्रचण्ड-नेपाल समूह तपाईंहरूसँग सहयोग माग्न आउनुभएको थियो । तपाईंले उहाँहरूलाई कुन पार्टीबाट आएको भनेर सोध्दा रिसाउनुभएन ?यो कुरा मैले मात्रै होइन, नेपाली जनताले पनि जान्न खोजेका छन् । प्रचण्ड-माधव समूह भनेको के हो ? पार्टी पद्धतिमा त पार्टी चाहियो नि !

नेपाल कम्युनिष्ट पार्टी पनि भन्छन् । नेकपाले त प्रतिगमन गरेको हो । अनि त्यही पार्टीको उहाँहरू भनेपछि कसरी मिल्यो त कुरा ? प्रतिगमन गर्ने पनि नेकपा, त्यसको विरुद्धमा लड्ने पनि नेकपा । यो के हो ? प्रतिगमनविरुद्ध सबै पार्टी एकठाउँमा आउनु परेपछि तपाईंको पार्टी कुन हो भनेर सोध्नु परेन त ?

पार्टी कुन हो भनेर जिज्ञासा राख्दा उहाँहरूले के भन्नुभयो ?

(हाँस्दै) उही कम्युनिष्ट पार्टी घुमाई–फिराई । त्यसैले उहाँहरूको अवस्था क्लियर छैन । उहाँहरूमा नीति, सिद्धान्त र आदर्शको राजनीति देखिएन । पार्टी भनेको सिद्धान्तमा चल्नुपर्छ ।

त्यही पार्टीको प्रधानमन्त्री र संसदीय दलको नेताले प्रतिगमन गर्ने, अनि विरोध गर्नेहरू पनि म त्यही पार्टीमा छु भन्न मिल्छ ? सुहाउँछ ? यसले त नीति, सिद्धान्त र आदर्शमा पार्टी चलाएको भन्ने देखिएन । त्यसपछि पार्टी पक्का गरेर आउनुहोस् भनेर भनेको हुँ ।

त्यसपछि थप छलफल भएको छ कि छैन ?

त्यसपछि उहाँहरू आउनुभएको छैन । फेरि सरकार परिवर्तनमा मुख्य भूमिका नेपाली कांग्रेसको हुन्छ ।

तर, कांग्रेसले त प्रधानमन्त्रीलाई नै भरथेग गर्न खोजिरहेको आरोप छ नि ? तपाईंहरू पनि त्यही गर्ने हो ?

यो देशमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाइ जनमत छ । त्यो बाहेक कुनै पार्टीको बहुमत पुग्दैन । यसमा हाम्रो भूमिका केही पनि हुन सक्दैन । कांग्रेस वा जनता समाजवादी पार्टीको भूमिका केही पनि छैन ।

कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग प्रचण्ड–नेपाल समूहलाई भयो भने त नयाँ सरकार बन्न सक्ला नि ?

प्रचण्ड र माधव समूह भनेको नेपाल कम्युनिष्ट पार्टी हो । पहिला पार्टी क्लियर हुनुपर्‍यो । उहाँहरूको पार्टी आफैं दुई तिहाइ नजिक छ । कसैको आवश्यकता नै छैन त्यहाँ ।

या त भन्नुपर्‍यो हामी नेकपा होइनौं । जबसम्म नेकपा आफूलाई भन्छन्, तबसम्म कांग्रेसको पनि जरूरी छैन, जसपाको पनि जरूरी छैन ।

पार्टी विभाजन नहुँदासम्म तपाइँहरूको साथ कुनै पक्षलाई नहुने भयो त ?

जरूरी नै छैन नि ! दुई तिहाइ छ कम्युनिष्ट पार्टीको । प्रचण्ड र माधव आफैं कम्युनिष्ट पार्टीमा छन् । केपी ओली पनि त्यही पार्टीमा भएपछि अरूको के आवश्यकता पर्‍यो त ?

यो त अहिले कुर्सीको लडाइँ हो । उहाँहरू आफैंले यो प्रमाणित गरिसक्नुभएको छ । नीति, सिद्धान्त र आदर्शको कुनै लडाइँ होइन । जब कम्युनिष्टको दुई तिहाइ रहँदैन त्यो बेला नयाँ धुव्रीकरण होला । त्यो बेला कांग्रेस कहाँ जाने, जसपा कहाँ जाने त्यो अवस्था आउँछ । अहिले त हामीलाई कुनै बाटो छैन ।

हिजो संसद विघटन हुँदा ठूलो आन्दोलन गर्ने तयारीमा रहनुभएका तपाइँहरू अहिले त मौन हुनुहुन्छ नि ! सरकारसँग केही ‘सेटिङ’ भएको हो कि ?

होइन, हामीले यो विषयलाई प्रतिगमन माथिको प्रतिगमनको रूपमा लिएका छौं । एउटा प्रतिगमन जो केपी ओलीले गरेका थिए त्यो सकियो । तर, कांग्रेस, एमाले माओवादी सबै मिलेर गरेको प्रतिगमन त सकिएको छैन नि !

२०७२ सालमा गोली चलाएर जनताको भावना विरुद्ध अन्तरिम संविधानभन्दा पछि हटेर संविधान ल्याएका हुन् । कांग्रेस, एमाले, माओवादी र विजय गच्छदार समेतले १६ बुँदे सम्झौता गरेर संविधान बनाएका हुन् । त्यो प्रतिगमन त सच्चिएको छैन नि ! त्यसको विरुद्धमा त हामीले हिजो पनि संघर्ष गरेका थियौं भविष्यमा पनि गर्नेछौं । अहिले अधिकार प्राप्तिको लागि लड्ने आन्दोलनकारी जेलमा छ । रेशम चौधरी, लक्ष्मण थारू माथि मुद्दा लगाइएको छ । दर्जनौं साथी जेलमा छन् ।

त्यो समयमा संविधान नै जलाउनुभयो । आज प्रधानमन्त्रीले यही संविधानमाथि ‘कु’ गरे भन्नुहुन्छ । यो त दोहोरो कुरा भएन र ?

हो, कुरा यही हो । लोकतन्त्र यसैका लागि हो । लोकतन्त्र भएन भने यी नश्लवादीहरू झन् अत्याचार गर्छन् नि ! लोकतन्त्र हुँदा लड्न पाइन्छ । लोकतान्त्रिक अवस्था यो संविधानमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र छ यो संविधानमा । त्यसलाई जोगाउनुपर्छ ।

संविधान त अहिले पनि जलाउने हो । त्योभित्रका विषयवस्तुहरू जलाउन लायक छन् । आफ्नो हित रक्षाको लागि नश्लवादीहरूले बनाएको संविधान हो । यो हामी जनताको लागि बनाइएको संविधान होइन । त्यसैले यो संविधानमा एक हजार त्रुटि छन् ।

त्यो त्रुटिलाई सच्चाउनको लागि त फेरि जलाउनै पर्छ । विरोध गर्नै पर्छ तर, लोकतन्त्र भएपछि मात्रै संघर्ष गर्न पाइन्छ । संघीयता पहिचानसहितको भएन । त्यसको लागि त हाम्रो लडाइँ जारी नै छ नि !

रेशम चौधरीलाई रिहाइ गर्ने र संविधान संशोधन गर्ने विषयमा अहिले सरकार केही लचक भएको हो ?

यो गर्ने को हो पहिले त्यो बुझ्नुपर्छ । रेशम चौधरीलाई जेलमा हाल्ने काम कसले गर्‍यो त भन्दा त्यो सरकारले गर्‍यो । सरकार कसको भन्दा कांग्रेस, कम्युनिष्टको । केपी ओली, प्रचण्ड, देउवा यी सबै मिलेर रेशमलाई जेलमा हालेको हो । मुद्दा चलाएको हो । यी कांग्रेस, कम्युनिष्ट भनेका अत्याचारी हुन् । यिनीहरूले अधिकार दिंदैनन् भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

त्यसैले कांग्रेस, कम्युनिष्टको विरुद्धमा थारू एक भएर उठ्नुपर्छ । यहाँ कांग्रेस कम्युनिष्टलाई तह नलगाई थारूले न्याय पाउँदैनन् । आदिवासी, जनजातिले न्याय पाउँदैन । देश र जनताप्रति घात गर्ने, महाकाली बेच्ने यिनै देउवा र ओली होइनन् ? अनि यिनीहरू चाहिं खोक्ला राष्ट्रवादी ? यिनीहरूलाई त नांगेझार पारेर टुँडिखेलमै झुण्ड्याइदिनुपर्छ । अनि पो देश सुध्रिन्छ । देउवा, ओली र प्रचण्डले के–के गरेका छन् यहाँ ?

प्रचण्डले त तपाईंहरू र कांग्रेससँग मिलेर सरकार बनाउँदा भारतलाई ‘कम्फर्टेबल’ हुन्छ भन्नुभयो । भारतलाई ‘कम्फर्टेबल’ हुने सरकार गठन नगर्ने ?

यो कुरा प्रचण्ड र माधवलाई सोध्नुहोस् । ओली र देउवालाई पनि सोध्नुहोस् । कुर्सीको लागि दिल्लीमा गएर काम गर्ने यिनै दलहरू त हुन् नि !

तर, प्रचण्डले त तपाईंको दलको पनि नाम लिनुभएको छ । जसपा, कांग्रेस र प्रचण्ड–नेपाल समूहले सरकार बनाउँदा कसरी भारतलाई कम्फर्टेबल हुने रहेछ ?

अहिलेसम्म प्रधानमन्त्री बन्नलाई भारत, अमेरिका, चीन र युरोपसँग सम्झौता गर्ने यी कांग्रेस, कम्युनिष्टहरू त हुन् नि !

सबैभन्दा धेरै त तपाईंहरूलाई नै भारतपरस्तको आरोप लाग्छ । नाकाबन्दीमा पनि देखियो नि होइन ?

यो वाहियात् कुरा हो । नश्लीय चिन्तन र सोचको परिणाम हो । नाकाबन्दी त केपी ओलीले लगाएको हो नि !

तर, तपाईंहरू पनि आश्रय लिन सीमापारि पुग्नुभएकै हो नि !

यो पनि नश्लीय चिन्तन र सोचबाट गरिएको प्रश्न हो । यहाँका मिडियाहरू पनि यस्तै छन् ।

प्रश्न गर्दा मिडियालाई आरोप लगाएर पन्छिन मिल्छ ?

मैले जवाफ दिइरहेकै छु । यो देशलाई बर्बाद गर्नेहरू नश्लीय सोचबाट पालित र पोषित सञ्चार र मिडिया पनि हुन् । राष्ट्रघातीलाई जोगाउने, मधेशलाई देखाउने, भारत विरोधी राष्ट्रवाद भन्ने, भारतलाई गाली गरेर राष्ट्रवादी हुने यस्तो पनि हुन्छ ?

तपाईंहरूले त्यो बेला लालु यादवको दैलोमा पुगेर सहयोग मागेको जनताले बिर्से होलान् र ?

लालु यादव वा कुनै यादवलाई भेट्दा के हुन्छ ? नेताहरू त भेट्छन् नि ! यहाँ राष्ट्रघाती को हो त्यो चिन्नु पर्‍यो ।

भेट्न त भेट्नुस् न अमेरिकाको, चीनको, भारतको राष्ट्रपतिलाई भेट्दा के फरक पर्छ ? तर, राष्ट्रघात नगर्नुस् । यहाँ कांग्रेस, कम्युनिष्ट पार्टीका नेता भनाउँदाहरू राष्ट्रघाती काम गर्छन् । कहिले बेइजिङ पुग्छन्, कहिले दिल्ली, कहिले कहाँ पुग्छन् ! र, के–के सम्झौता गर्छन् कुर्सीको लागि ।

अब तपाईंकै पार्टीको कुरा गरौं । जसपामा पनि तल्लो तहसम्म एकता पूरा नहुँदै नेतृत्वको किचलो शुरू हुन थालिसक्यो है ?

हामी यो देशको वैकल्पिक शक्ति निर्माण गर्न लागेका हौं । यो ७० वर्षमा कांग्रेस र कम्युनिष्टले केही पनि गर्न सकेनन् । देश कङ्गाल भयो । अहिले जनता निराश भएका छन् । अहिले कांग्रेस र नेकपाबाट हाम्रो पार्टीमा हजारौं कार्यकर्ता प्रवेश गरिरहेका छन् ।

यस्तो बेलामा कांग्रेस र कम्युनिष्टहरूले हाम्रो पार्टीमा विवाद छ भन्ने भ्रम फैलाइरहेका छन् । यो पार्टीमा कुनै विवाद छैन । सामूहिक नेतृत्वतर्फ पार्टी गइरहेको छ । कोरोना र प्रतिगमनले समायोजनको कुरामा केही ढिलाइ भएको छ । अब चाँडोभन्दा चाँडो तल्लो तहसम्म समायोजन हुन्छ ।

तपाईं वैकल्पिक शक्तिको कुरा गर्नुहुन्छ । सरकारमा जाने अवस्था आयो भने प्रधानमन्त्री कसलाई बनाउँदा ठीक होला ?

वैकल्पिक शक्ति प्रधानमन्त्री बनाउनको लागि होइन नि ! वैकल्पिक शक्ति बहुराष्ट्रिय राज्यको लागि गर्ने हो । एकल राष्ट्रिय राज्यबाट बहुराष्ट्रिय राज्यमा लैजाने हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर