‘मार्सी काण्ड’ सम्झिंदै दुर्गा प्रसाईले भने- मलाई अचाक्ली खेदियो (भिडियो) – Nepal Press

‘मार्सी काण्ड’ सम्झिंदै दुर्गा प्रसाईले भने- मलाई अचाक्ली खेदियो (भिडियो)

प्रशंसा गर्दै ओलीले भने- हिम्मतिलो मान्छे

काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेपालको व्यावसायिक क्षेत्रमा आफू सबैभन्दा धेरै आक्रमणको शिकार भएको गुनासो गरेका छन् । आफूलाई ‘माफिया’ देखि ‘डन’ सम्मको उपमा दिएर खेद्‍ने काम भएको उनले बताए ।

झापामा आफैंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईले यस्तो बताएका हुन् । नेपाली राजनीतिका दुई शीर्ष नेतालाई मार्सी चामलको भात खुवाएको प्रसंग निकाल्दै प्रसाईले यसलाई विवादको विषय बनाइएकोमा असन्तुष्टि पोखे ।

मार्सी भात खुवाउँदाको प्रसंग उनले यसरी निकालेः

२०७४ साल फागुन ३ गते मैले एउटा सानो प्रयत्न गरेको थिएँ । दुई तिहाइभन्दा बढी वामपन्थी जनमत भएको देशमा छरिएर रहेका वामपन्थीहरूको एकता भए त्यसले देशलाई स्थिरता र समृद्धिको दिशामा लैजान्छ भन्ने आम नेपाली जनमत थियो । भक्तपुरस्थित मेरै घरमा नेपाली राजनीतिका दुई हस्तीका बीचमा तीन बुँदे सम्झौता भयो ।

त्यो सम्झौतामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर पाउँदा म धेरै खुशी थिएँ । मेरो निवासमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सहभागिता थियो । मैले उहाँहरूलाई नेपालको दुर्गम हिमाली जिल्लामा उत्पादन हुने मार्सी चामलको भात खुवाएँ । भात खाँदै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो । ठीक त्यही बिन्दुबाट मलाई अनर्गलरूपमा खेद्ने काम शुरू भयो । मार्सी, माफिया, डनलगायतका उपमाहरू मेरा नामका पछाडि, अगाडि जोड्ने काम शुरु भयो । केही पत्रकार, राजनीतिज्ञ, आफूलाई प्रधान सम्झने लेखक र केही बुद्धिजीवी मलाई लखेट्न हात धोएर लाग्नुभयो । भात-पानी छाडेर लाग्नुभयो ।

सम्भवतः नेपालको व्यावसायिक इतिहासमा यति धेरै नकारात्मक टिप्पणी र अपमान खेप्नुपर्ने व्यवसायी सायद म नै होला । एउटा उदाउँदो नेपाली व्यवसायीले उद्योगधन्दा सञ्चालन गर्दा अख्तियार, सम्पत्ति शुद्धीकरण, अड्डा, अदालत सबै शक्ति झेल्नुपर्ने परिस्थिति आयो । मैले यसको सामना गर्दै गएँ । तर म अलिकति पनि विचलित छैन । किनकि मैले देश टुक्र्याएर बेचेको थिइनँ । बरु मैले देश जोड्ने प्रयत्न गरेको थिएँ ।

मार्सीको नामबाट त्यो दिनबाट पाएको दूरगामी उपहारलाई मैले आफ्नो सम्पत्तिको रूपमा लिएको छु । अबको केही हप्ताभित्रै मेरो उद्योगबाट मार्सी चामलको प्रयोग गरेर बनेको अन्तर्राष्ट्रिय स्तरको मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिङ्क बजारमा ल्याउनेछु ।

प्रशंसा गर्दै ओलीले भनेः हिम्मतिलो मान्छे

प्रसाईले यति ‘दु:ख’ सुनाउँदा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पनि उपस्थिति थिए । आफ्नो भाषणमा ओलीले प्रसाईप्रति सहानुभूति मात्रै दर्शाएनन्, उनको प्रशंसा समेत गरे ।

‘भन्नेहरु भन्दै गर्छन्, आलोचना गर्नेले गर्दै गर्छन्’ प्रधानमन्त्रीले भने, ‘उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, तर उहाँले मार्सीलाई नै ब्रान्ड बनाइदिनुभयो ।’ ओली यतिमै रोकिएनन् । उनले थपे, ‘हिम्मत भएको मान्छे हो दुर्गा प्रसाई । आलोचना र टिप्पणीबाट हच्किएर दच्किएर पछाडि हट्ने मान्छे होइन । कुन्ती माेक्तानको गीतमा भनेजस्तै खुट्टा तान्नेले तान्दै गर्छन्, देश बनाउने काममा हामीले खुट्टा कमाउनुहुँदैन । लक्ष्यमा अगाडि बढ्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर