गुल्मीमा नेकपा विभाजन- प्रदीप ज्ञवाली र गोकर्ण विष्टको शक्ति परीक्षण – Nepal Press

गुल्मीमा नेकपा विभाजन- प्रदीप ज्ञवाली र गोकर्ण विष्टको शक्ति परीक्षण

रुपन्देही । गुल्मीबाट केन्द्रीय नेतृत्वमा पुगेका प्रभावशाली नेताद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपाको दुई खेमामा  छन् । दुवै नेता यसअघिको वर्चश्व आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । दुवै पक्षले भेला तथा विभिन्न कार्यक्रम गरेर खुल्न नसकेका कार्यकर्तालाई आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् ।

केपी ओली पक्षीय नेकपाका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रचण्ड-माधव पक्षीय नेता एवम् पूर्वमन्त्री विष्ट दुवैले जिल्लामा आफ्नो पक्ष बलियो भएको दावी गरिरहेका छन् ।

प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रत्यक्षतर्फका दुवै सिट र प्रदेशसभाका ४ वटै सिट नेकपाले जितेको थियो । गुल्मी क्षेत्र नम्बर एकबाट प्रदीप ज्ञवालीले जितेका हुन् विष्टले दुई नम्बर क्षेत्रबाट चुनाव जितेका हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले २ हजार मतान्तरले कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टले १५ हजारको मतान्तरमा विपक्षी कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए ।

प्रतिनिधिसभा सदस्य बराबरी

गुल्मीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट हुन् । ज्ञवाली ओली पक्ष र विष्ट प्रचण्ड–नेपाल पक्षमा छन् ।

त्यसैगरी प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी ओली पक्षमा खुलेकी छन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री प्रचण्ड-नेपाल पक्षमा खुलेर लागेकी छन् ।

प्रदेशसभामा प्रचण्ड–माधव पक्षको एक सांसद बढी

गुल्मीबाट लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा ४ र समानुपातिकमा १ गरी ५ जनाले प्रतिनिधित्व गरेका छन् । निर्वाचनको समयमा माधव नेपाल पक्षमा रहेका गुल्मी क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कमलराज श्रेष्ठ अहिले ओली पक्षमा लागेका छन् भने अर्का सांसद सुदर्शन बराल प्रचण्ड–नेपाल पक्षमा छन् । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री छन् ।

जिल्लाको क्षेत्र नं २ बाट प्रदेशसभामा निर्वाचित खड्ग केसी ओली पक्ष र दिनेश पन्थी प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

केसी पूर्वएमाले हुन् भने पन्थी पूर्वमाओवादी हुन् । प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व सांसद गीता थापा प्रचण्ड–नेपाल पक्षमा लागेकी छन् । उनी पूर्वमाओवादी खेमाकी हुन् ।

स्थानीय तहका जनप्रतिनिधि तानातानमा

१२ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा तत्कालीन नेकपाबाट प्रमुख उपप्रमुख विजयी भएका थिए । त्यसमध्ये धेरै स्थानीय तहका प्रमुख–उपप्रमुख प्रचण्ड–नेपाल पक्षमा लागे पनि वडास्तरमा त्यसखालको अवस्था छैन ।

केही पालिकाका जनप्रतिनिधि दुवै पक्षका भेलामा पुगेका छन् । दुवै प्रभावशाली नेताहरु आउँदा उनीहरुलाई अफ्ठेरो परेको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी पहिलेदेखि नै खुलेर ओली पक्षमा लागेका छन् ।

मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीलाई प्रचण्ड-माधव पक्षले आफ्नो कित्तामा राखे पनि उनी वामदेव गौतमले गठन गरेको पार्टी एकता अभियानको केन्द्रीय सदस्य हुन् ।

मदानेकी उपाध्यक्ष रीता खड्का, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट र उपाध्यक्ष विमला केसी, मालिका गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापा र उपाध्यक्ष देवा अर्याल, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारी शुरुमा प्रचण्ड-माधव पक्षमा लागेपनि अहिले तटस्थजस्तै बनेका छन् । उनीहरु दुवै पक्षको कार्यक्रममा गइरहेका छन् ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्वमा छन् भने उपप्रमुख कमला शर्मा ओली पक्षमा छिन् ।

रूरू गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतम वामदेव गौतमको एकता अभियानमा केन्द्रीय सदस्यमा छन् । त्यसैगरी उपप्रमुख लक्ष्मी पन्त प्रचण्ड-माधव पक्षमा लागेकी छिन् ।

गुल्मीका चन्द्रकोट, सत्यवती र कालीगण्डकी, गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा कांग्रेस विजयी भएको थियो भने धेरै उपप्रमुखहरु नेकपाबाटै जितेका थिए । तीमध्ये चन्द्रकोटको उपाध्यक्ष राधिका अर्याल ओली पक्षमा खुलेकी छिन् भने सत्यवतीकी उपाध्यक्ष सुवर्णा शेरचन शाही र कालीगण्डकी उपाध्यक्ष तारा थापा तटस्थ छन् । उनीहरुलाई ओली पक्षले आफूतिर रहेको भनेको छ । कालीगण्डकी उपाध्यक्ष तारा थापाले जनमोर्चा निकट भएपनि चुनावमा सूर्य चिह्न लिएर जितेकी थिइन् ।

पार्टी कमिटीमा प्रचण्ड-माधव पक्ष बलियो

साबिकको नेकपाको लुम्बिनी प्रदेश कमिटीमा गुल्मीबाट ११ जना प्रदेश कमिटी सदस्य रहेको बहुमत सदस्य प्रचण्ड-नेपाल पक्षमा खुलेका छन् । प्रदेश कमिटीका एक सदस्य बोमबहादुर खड्कको मत्यु भएको छ । प्रदेश कमिटीका ११ मध्ये आठ जना प्रचण्ड-नेपाल पक्षमा छन् भने दुई जना ओली पक्षमा छन् ।

नेकपा गुल्मीमा पार्टी एकीकरणपछि बनेको १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा प्रचण्ड-नेपाल समूहतर्फ ९४ र ओलीतर्फ ४१ जना खुलेका छन् । बाँकी सदस्य तटस्थजस्तै छन् ।

४९ सदस्यीय जिल्ला सचिवालय कमिटीमा २८ जना प्रचण्ड-माधव पक्षमा छन् भने १८ जना ओली पक्षमा खुलेका छन् ।

सचिवालयमा रहेका तीन जना तटस्थजस्तै छन् ।

 आफू बलियो भएको दुवै पक्षको दावी

ओली पक्षका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले प्रचारमा केही स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिलाई लिएर प्रचण्ड-माधव पक्ष भनिए पनि जिल्लामा नेकपाको जनमत ओली पक्षमा रहेको बताउँछन् । पन्तले नेपाल प्रेससँग भने, ‘केही पालिका प्रमुख उताको समूहमा गए पनि सबै वडाअध्यक्ष हामीसँग हुनुहुन्छ । बाहिर केही मिडियामा आएजस्तो प्रचण्ड-नेपाल पक्ष बलियो नभइ वास्तविकता उल्टो छ ।’

प्रचण्ड-माधव पक्षका जिल्ला अध्यक्ष सोमनाथ सापकोटाले आफ्नो पक्ष बलियो भएको तथ्यांकले प्रष्ट पारेको बताए । सापकोटाले ओली पक्षले ४ सय ९९ कमिटी गठन गरेपनि पूर्ववत् कमिटीमा आफूहरु बहुमत रहेको दावी गरे ।

विभाजनको विपक्षमा जनमत बलियो

गुल्मीमा पूर्वमाओवादी समूह करिब करिब एउटै समूहमा छ भने पूर्वएमालेका दुई प्रभावशाली नेताहरु दुवै खेमामा रहेकाले कार्यकर्तालाई अफ्ठेरो परेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको विश्लेषण छ ।

धेरै कार्यकर्ता र केही नेताहरु समेत दुवै पक्षको भेला तथा कार्यक्रममा पुगेकाले दुवै पक्षले आफूलाई बलियो मानेका हुनसक्ने उनको बुझाइ छ । उनको विश्लेषणमा गुल्मीमा पार्टी विभाजनको विपक्षमा ठूलो मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर