शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार – Nepal Press

शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार

कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ का शिवचरण रानाको हत्या भएको ३ दिन सम्म पनि प्रहरीले घटनामा संलग्नहरू पक्राउ गर्न सकेको छैन ।

शनिवार बिहान गेटा मेडिकल नजिकै उनको शव फेला परेको थियो । प्रहरीले धारिलो हतियारको आक्रमणबाट उनको हत्या भएको बताए पनि घटनामा संलग्नहरू भने अझै पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको बताएको छ । ‘हामी अनुसन्धानमै छौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने, ‘थुप्रै व्यक्ति माथि सोधपुछ गरिरहेका छौँ ।’

घटना भएकै दिन प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरी अनुसन्धान सुरु गरेको थियो । आफन्तले दोषी पक्राउ नपरेको भन्दै शव बुझ्न मानेका छैनन् । हत्यामा संलग्नहरूको पहिचान गरेर कारबाहीको दायरामा नल्याउँदा सम्म शव नबुझ्ने आफन्तको अडान छ ।

‘उहाँहरूले शव उठाउन पनि मान्नु भएको छैन । आन्दोलन गर्ने भन्नुहुन्छ । हामीले प्रहरीलाई अनुसन्धान गर्न दिनु पर्छ भनेका छौँ’ गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्ण सिंह बोहराले भने ।

वडाध्यक्ष बोहराले पनि कसैसँग रिसिइवी नरहेका रानाको हत्या हुनुले अचम्मित भएको बताए । ‘उहाँ सरल व्यक्ति हुनुहुन्थ्यो कसैसँग झगडा थिएन,’ वडाध्यक्ष बोहराले भने, ‘यसरी सामान्य व्यक्तिको हत्या भएपछि शान्ति सुरक्षामा पनि चुनौती थपिएको छ । ’

राना गेटामा व्यापार गर्दै आइरहेका थिए । घर भन्दा केही पर पसलमै सुत्ने उनी शनिवार पनि पसलबाट घर आइरहेको बेला हत्या गरिएको आशंका गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर