शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड – Nepal Press

शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याएकी छिन् ।

शीतल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरूपको प्रतिफल हासिल हुनेमा विश्वास व्यक्त गरिन् ।

नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिको छ ।

बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रूपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बालदुर्व्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामूहिक पहल जरुरी रहेको बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकुल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

कोभिड-१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति सरकार संवेदनशील भएको बताउँदै मन्त्री श्रेष्ठले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए ।

विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई अनिवार्य बनाउनु पर्नेतर्फ सहभागीहरूले सुझाए ।

शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसहित संसद सदस्यहरू, जिसस महासंघका अध्यक्ष सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, अभिभावक संघ, राष्ट्रिय शिक्षक महासंघ र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल (एनसीसी) का संयोजक रघुराम भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलन धरेलसमेतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *