ट्राफिक प्रहरीको नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम शुरु – Nepal Press

ट्राफिक प्रहरीको नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम शुरु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ । महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधारका लागि लक्षित गर्दै कार्यक्रम शुरु गरेको हो ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एव गतिबिधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले मुल्याङ्कन पद्दतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरेको महाशाखाले जनाएको छ ।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिबृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७ बनाई लागु गरिएको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

एक सय अंकको कार्यबिधिलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासन लगायतका बिषय समेटिएका छन् । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मुल्याङ्कन ऊ कार्यरत कार्यालयको प्रमुखबाट हुनेछ भने समग्र मुल्याङ्कन एव सुपरिबेक्षण महाशाखाले गर्ने छनौट कार्यबिधिमा व्यवस्था छ ।

प्रत्येक महिना सर्बोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई बृत्ति विकासमा गनिने गरी नगद पुरस्कार एव सम्मान समेत गरिने महाशाखाका प्रवक्ता समेत रहेको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । यसले आम सेवाग्राही एंव सडक प्रयोगकर्तालाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरवृद्धि गर्न कोशेढुङ्गो साबित हुने प्रवक्ता अधिकारीले बताए ।

ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले “नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधि २०७७” लागु गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर