फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम – Nepal Press

फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी । शुक्रबार राति वर्डर ब्रिमेनसँग २-१ ले पराजित भएसँगै आइन्ट्राच्ट फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जर्मन महारथी बायर्न म्युनिखलाई स्तब्ध पारेको अर्को हप्ता नै फ्रान्कफर्टले १२औं खेलमा हार बेहोर्नु परेको हो ।

आन्द्रे सिल्भाले जारी सिजनको व्यक्तिगत १९औं गोल गर्दै अंक तालिकाको चौथो स्थानको फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । बायर्नका लेवान्डोस्की(२६)ले मात्रै जारी सिजन बुन्डेसलिगामा उनीभन्दा धेरै गोल गरेका छन् ।

तालिकाको १२औं स्थानमा रहेर लगातार तीन खेलमा जितविहीन रहँदै मैदानमा उत्रिएको ब्रिमेनका लागि ४७औं मिनेटमा चेक स्टार थिओडर गेब्रे सेलासीले बराबरी गोल फर्काएका थिए ।

उदियमान अमेरिकी स्टार जोश सर्जेन्टले ६२औं मिनेटमा विजयी गोल गर्दै ब्रिमेनका लागि तीन अंक सुरक्षित गरेका थिए । पराजयका बाबजुद फ्रान्कफर्ट अंक तालिकाको चौथो स्थानमा यथावत छ । लिग लिडर बायर्नभन्दा सात अंक पछाडि रहेको फ्रान्कफर्ट च्याम्पियन्स लिग स्पटमै कायम छ ।

जितसँगै २२ खेलबाट २६ अंक जोडेको ब्रिमेन १२औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर