सिद्धपाइला क्याम्पसको अफर- साइकल चढ्नेलाई २५ प्रतिशत छुट – Nepal Press

सिद्धपाइला क्याम्पसको अफर- साइकल चढ्नेलाई २५ प्रतिशत छुट

सुर्खेत । साइकल अभियानलाई प्रोत्साहित तथा सडक दुर्घटना न्यूनीकरण गर्न बीरेन्द्रनगर–६ बुद्धपथको सिद्धपाइला क्याम्पसले महत्वपूर्ण घोषणा गरेको छ । साइकल प्रयोग गर्ने बिद्यार्थीलाई मासिक शुल्कको २५ प्रतिशतसम्म छुट दिने अफर क्याम्पसको छ ।

४ सयभन्दा बढी बिद्यार्थी अध्ययनरत कलेजमा मुस्किलले ५ प्रतिशतले मात्र साइकल प्रयोग गर्ने गरेका छन् । ‘विद्यार्थीहरुको मानसिक र शारीरिक तन्दुरुस्तीका लागि साइकल चलाउने अभियान सुरु गरेका हौं । हरेक विद्यार्थीले साइकल चलाएर आएको खण्डमा उनीहरुलाई मासिक शुल्कको २५ प्रतिशत छुट दिने घोषणा गरेका छौं ।’ क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले नेपालप्रेससँग भने, ‘यसले पर्यावरणीय सन्तुलन कायम राख्न सहज र इन्धनको बचत पनि हुन्छ । ।’

उनले साइकल अभियान सुरु गरेको बताउँदै हरेक विद्यार्थी साइकलमा आएको खण्डमा दुर्घटना न्यूनीकरण हुने अपेक्षा क्याम्पसले गरेको बताए । कर्णालीमा सवारी साधनको चाप बढिरहेको र साँघुरा सडक भएका कारण दुर्घटना नहोस भन्ने करा मध्यनजर गर्दै साइकल अभियानको सुरुवात गरिएको क्याम्पस प्रशासनले बताएको छ ।

यूएनडीपीकाे प्रति-किलाेमिटर ३ रुपैयाँ मर्मत खर्च

साइकल अभियानलाई सफल पार्न संयुक्त राष्ट्रसंघ विकास सहयोग (यूएनडीपी)को सहयोगमा विद्यार्थीलाई प्रति किलोमिटर तीन रुपैयाँका दरले मर्मत खर्च उपलब्ध गराउने भएको छ ।

कर्णाली राइडर्सका सचिव तिलक पौडेलका अनुसार माेबाइल एप्समार्फत साइकलकाे यात्राबारे जानकारी लिने र मासिक रुपमा प्रति किलाेमिटर ३ रुपैयाँ  मर्मत खर्च उपलब्ध गराइनेछ ।

‘कर्णाली उत्सवको दिन, २६ फागुनमा मोबाइल एप्स सार्वजनिक गर्दैछौं,’ उनले भने, ‘एप्सबाट विद्यार्थीले कति किलोमिटर साइकल यात्रा गरे भन्ने थाहा हुन्छ र त्यही अनुसार यूएनडीपीले भुक्तानी दिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *