रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिको निर्देशन – Nepal Press

रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आगामी ६ महिना भित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालासँग छलफल गरेपछि समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेश गर्न समेत मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।

उनले भनिन्– ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेश गर्न निर्देशन दिने निर्णय गरियो ।’

समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन पनि निर्देशन दिएको छ । ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिना भित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो’ सभापति भट्टले भनिन् ।

समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताइन ।

उनले भनिन् ‘आज उठान भएका र थाल्न शुरु भएका काम अगाडि बढिराखेको छ । त्यो छिटोभन्दा छिटो सम्पन्न होस् । यी सबै विषय समाधान हुनेछ भन्ने समितिले अपेक्षा र निष्कर्ष निकालेको छ । अन्तमा आ–आफ्नो मन्त्रालयले गर्नुपर्ने बाँकी रहेका काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबैलाई समिति निर्देशन दिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *