सांसदले ‘विघटित अवधि’को पनि तलब पाउने, एकैपटक तीन महिनाको आउँदै – Nepal Press

सांसदले ‘विघटित अवधि’को पनि तलब पाउने, एकैपटक तीन महिनाको आउँदै

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि रोकिएको सांसदहरूको तलब सुचारु हुने भएको छ । विघटन र पुन:स्थापनाबीचको ‘शून्य समय’ को तलब पनि उनीहरुले पाउनेछन् ।

पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जना माननीयहरुको तलब सुविधा रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको छ । अब सांसदहरुले प्रतिनिधिसभा विघटत भएको समय पुस र माघको तलब फागुनको तलबमा खप्टिएर एकैपटक प्राप्त गर्ने भएका छन् ।

प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले फागुनको तलबमा सांसदहरुको पुस र माघको तलब पनि खप्टिएर जाने बताए ।

‘सामान्यतया प्रत्येक महिनाको अन्तिम साता उहाँहरुले तलब पाउनुहुन्छ । संसद विघटनको अवस्थमा रहेको पुस माघ महिनाको तलब पनि अब फागुनकाे तलबसँगै जान्छ’, पाण्डेले नेपाल प्रेससँग भने । ’

प्रत्येक सांसदले तलब-भत्ता गरी मासिक करिव ६५ हजार रूपैयाँ बुझ्ने गरेका छन् । यो हिसाबले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ ।

पुस र माघ महिनाको ३ करोड ५७ लाख ५० हजार रूपैयाँ र फागुन महिनाको १ करोड ७८ लाख ७५ हजार रूपैयाँ गरी ५ करोड ३६ लाख २५ हजार रूपैयाँ संघीय सञ्चिति कोषबाट सांसदको तलबबापत एकैपटक खर्चिनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर