हामी अहिले रक्तपातहीन युद्धमा छौं : प्रचण्ड – Nepal Press

हामी अहिले रक्तपातहीन युद्धमा छौं : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि आफूहरू युद्धमा रहेको टिप्पणी गरेका छन् । तर, त्यो युद्ध रक्तपातहीन रहेको उनको भनाइ छ ।

‘हामी अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्न खोज्नेविरुद्ध एक प्रकारको युद्धमा छौं,’ मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोन गर्दै प्रचण्डले भने, ‘हामी रक्तपातहीन युद्धमा छौं । अहिले युद्ध हामीले जित्नुछ ।’

प्रचण्डले माओवादी युद्धलाई पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न लडेको युद्धपछिको सबैभन्दा ठूलो परिघटना भएको व्याख्या गरे। ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न युद्ध लडेपछिको ठूलो घटना जनयुद्ध नै हो,’ उनको भनाइ छ, ‘यसले देशलाई युगान्तकारी परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको हो । तर, मानिसहरुलाई यो कुरा स्वीकार गर्न गाह्रो छ । किनभने हामी पुरै जितेर आएको होइन । हामी सम्झौता गरेर आयौं ।’

युद्धको रणनीति र राजनीतिक रणनीति मिलाएर आफूहरू अगाडि बढेको भन्दै प्रचण्डले भने, ‘हामी युद्ध मात्रै गरेका भए यहाँ हुने थिएनौं । हामीले गरेको राजनीति नै थियो त्यसैले हामी यहाँ हुने थियो ।’

अर्को प्रसंगमा प्रचण्डले अदालतप्रति आफूहरूको विश्वास रहेको बताए । आफूहरू पार्टी विभाजनको पक्षमा भए पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई विघटन गरेको आरोप उनले लगाए।

‘पार्टी निकै दुःखका साथ बनाइएको हो,’ प्रचण्डले भने, ‘पार्टी विभाजन गर्ने काम भइरहेको छ र हामी भइनै सकेका छौं । हामी अहिले बाँकी जो छौं, पार्टी एकताको पक्षमा छौं। हामीले एकताको झण्डा उठाएका छौं । तर, केपी ओली संविधान र पार्टी विघटनतिर जाने जानुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर