रोनाल्डोको २ हेड गोलमा युभेन्टसको जित – Nepal Press

रोनाल्डोको २ हेड गोलमा युभेन्टसको जित

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले दुई हेड गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए तालिकाको अन्तिममा रहेको क्रोटोनलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी ८ अंकमा झारेको छ ।

३८ औं मिनेटमा एलेक्स सान्द्राेको क्रसलाई उपोग गरेका रोनाल्डोले पहिलो हाफको इन्जूरी समयमा आरोन राम्सेको पासलाई सदुपयोग गरेका हुन् ।

युरोपको शीर्ष ५ लिगमध्ये रोनाल्डोले गोल गरेको क्रोटोन ७८ औं क्लब हो । रोनाल्डोले युभेन्टसमा अनुबन्ध भएको साढे २ वर्षमा ७० गोल पूरा गरेका छन् । युभेन्टसका लागि तेस्रो गोल वेस्टन म्याकेन्नीले क्लोज रेन्जबाट गरेका थिए ।

यो २ गोलसँगै जारी सिजन सिरी ए मा १८ गोलसहित रोनाल्डो सर्बाधिक गोलकर्ताको सूचिमा एक नम्बरमा पुगेका छन् । उनले इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पारेका हुन् ।

लगातार ९ सिजनको सिरी ए विजेता युभेन्टस यस सिजन भने केहि कमजोर देखिएको छ । युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको शीर्ष स्थानको इन्टरमिलानको ५३ र दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ ।

लिगमा १५ खेल बाँकी रहँदा शीर्ष ७ स्थानमा रहेका टोलीहरुबीचको प्रतिस्पर्धा यसपल्ट हेर्नलायक देखिने अपेक्षा छ । अन्तिममा रहेको क्रोटोन भने २३ खेलबाट १२ अंकसहित तालिकाको पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *