संविधानको त्रुटि सच्याएर सबै नागरिकलाई समान अधिकार दिनुपर्छ- मुख्यमन्त्री राउत – Nepal Press

संविधानको त्रुटि सच्याएर सबै नागरिकलाई समान अधिकार दिनुपर्छ- मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै नेपाली नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्ने बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज मधेस भवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुक सबैका लागि हो, सबैले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्छ । आफ्नो शासन आफैं गर्न पाउनुपर्छ । कसैमाथि थिचोमिचो हुनुहुँदैन ।’

मुख्यमन्त्री राउतले वर्तमान संविधानमा रहेका केही त्रुटिलाई सच्याएर सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गराउनुपर्ने पनि बताए ।

संविधानमा मतभेद रहेकै बेला देशमा अहिले सिर्जना भएको परिस्थितिले लोकतन्त्र, गणतन्त्र, संघीयतालगायतका उपलब्धि प्राप्त गर्न बलिदान दिने योद्धा र तिनका परिवारहरु चिन्तित बनाएको मुख्यमन्त्रीको भनाइ छ ।

संसद विघटनप्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने, ‘अहिले सबैको ध्यान सर्वोच्च अदालततिर छ । सम्मानित अदालतले नेपाली जनतालाई अहिलेको असहज परिस्थिति र भुमरीबाट निकास दिने विश्वास छ ।’

विशेष समारोह अघि प्रजातन्त्र दिवसको अवसरमा जनकपुरको जनकचोकबाट प्रभातफेरी निकालिएको थियो । तर त्यसमा प्रजा अर्थात् जनता भने सहभागी देखिएन । प्रदेश सरकारले नै गरेको प्रभातफेरीमा मन्त्रीहरु पनि थिएनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र प्रभातफेरीमा सहभागी भएका थिए ।

जनकचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रभातफेरी पुगेपछि सभामा परिणत भएको थियो । सभामा प्रदेश प्रमुख तिलक परियार र मन्त्रीहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर