सेनाले सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर उठाउने – Nepal Press

सेनाले सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर उठाउने

काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत यस वर्ष ६ हिमालबाट ३५ टन फोहोर उठाउने भएको छ । सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर उठाउन लागेको आज सेनाको जंगी अड्डामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

यसपटक सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालमा सरसफाइ गर्न लगाएको नेपाली सेनाका प्रवक्ता समेत रहेका सहायक रथी सन्तोष बल्लभ पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए । ६ वटै हिमालको बेस क्याम्प भन्दा माथिबाट मात्र १८ टन फोहोर ल्याउन लागिएको उनले बताए ।

नेपाली सेनाले नेतृत्व गर्ने अभियानमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य गरिएको सहायक रथी एवम राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक हिमांशु खड्काले जानकारी गराए ।

अभियानबाट जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न मद्दत पुग्नुका साथै पर्वतारोहीलाई थप आकर्षण गरी भावी पुस्तालाई पनि हिमाल संरक्षणका लागि अभिप्रेरित गर्नका लागि यो अभियान थालिएको सेनानी एवम ‘सफा हिमाल अभियान २०२१’ का समन्वय अधिकृत आदित्य कार्कीले बताए ।

हिमाल सफाइ अभियानको पहिलो चरण अन्तरगत अहिले पूर्व तयारीको र समन्वयको काम भइरहेको निर्देशनालयले जनाएको छ । दोस्रो चरणमा चैत १ देखि २६ गतेसम्म २१ दिन सफाइ अभियानमा सहभागि हुने ४० जना सैनीकका लागि तालीम सञ्चालन हुनेछ । चैत २१ देखि जेठ २२ सम्म ३१ दिन सरसफाइ अभियान चलाइनेछ ।

पूर्व तयारीदेखि सफाइ अभियान सम्पन्न हुन्जेल यो अभियान ८४ दिन चल्नेछ । तालीमप्राप्त ४० सैनीक सफाइ अभियानमा परिचालन हुने भए पनि उनिहरुलाई सहयोग गर्नका लागि ६९ जना सेर्पा पनि परिचालन हुने जनाइएको छ ।

नेपाली सेनाका अनुसार अभियान सञ्चालनका लागि १२ करोड ५० लाख खर्च हुने अनुमानसहित बजेट छुट्याइएको छ । जसमा १० करोड बजेट वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको हो भने २ करोड ५० लाख नेपाली सेनाले खर्च गर्न लागेको हो । यतिले मात्र खर्च व्यवस्थापन हुन नसक्ने भएकाले अन्य संघसंस्था तथा निकायले पनि सहकार्य गर्न सक्ने नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत आग्रह गरेको छ ।

सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर, ४० टन मानवीय फोहोर र ३ सय बढी आरोहीको मृत शरीर रहेको नेपाली सेनाको अनुमान छ । नेपाली सेनाले यस अघि सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *