बार्सिलोनामा पीएसजीको शानदार जित, एम्बाप्पेको ह्याट्रिक – Nepal Press

बार्सिलोनामा पीएसजीको शानदार जित, एम्बाप्पेको ह्याट्रिक

एजेन्सी । केलियन एम्बाप्पेले ह्याट्रिक गोल गरेपछि च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले स्पेनिस टोली बार्सिलोनालाई उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित गरेको छ ।

पछिल्लो संस्करणको उपविजेता टोली पीएसजीले सुरुआत राम्रो गरेको थिएन । २७ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गरेपछि पीएसजी सुरुमै पछि परेको थियो ।

मेस्सीलाई संसारकै महान फुटबलरमध्येको एक मानिन्छ । तर उनी यसपल्छ पूरै छायाँमा परे । फ्रान्सका विश्वकप विजेता एम्बाप्पेले पीएसजीबाट घरेलु टोलीमाथि निकै नै महत्वपूर्ण र प्रभावशाली धावा बोले ।

मेस्सीले अग्रता दिलाएको पाँच मिनेटपछि नै गोल गरेर पहिलो हाफ बराबरीमा ल्याएका एम्बाप्पेले ६५ औं र ८५ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

एभर्टनबाट लोनमा ल्याइएका स्ट्राइकर मोइसे कीनले हेडमार्फत ७० औं मिनेटमा पीएसजीका लागि अर्को गोल गरेका थिए ।

दोस्रो लेग पेरिसमा मार्च २० मा हुनेछ । त्यतिबेलासम्म मुख्य स्ट्राइकर नेइमारको तीध्राको चोट निको हुने अपेक्षा गरिएको छ ।

गएराति नै भएको अर्को खेलमा पूर्व च्याम्पियन इंग्लिस टोली लिभरपुलले जर्मन बुण्डेसलिगा टिम आरबी लाइपजिगलाई २–० ले पराजित गरेको छ ।

कोरोना महामारीपछिको स्वास्थ्य मापदण्डका कारण हंगेरीमा खेलाइएको खेलमा दोस्रो हाफमा मोहम्मद सहाल र साडियो मानेले ५ मिनेटको अन्तरमा गोल गरेपछि लिभरपुल सहज स्थितिमा पुगेको हो । दोस्रो लेग एनफिल्डमा मार्च २० मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर