गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न मानवअधिकार आयोगको सरकारलाई निर्देशन – Nepal Press

गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न मानवअधिकार आयोगको सरकारलाई निर्देशन

काठमाडौं । गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षा गर्न आयोगले तीनबुँदे निर्देशन दिएको हो ।

जसमा आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको पाइएको भन्दै आयोगले उनको उपचारको लागि आवश्यक विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगले गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मी सहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न निर्देशन दिएको छ ।

कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको भन्दै आयोगले उनी जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालतसमक्ष तत्काल उपस्थित गराउन पनि निर्देशन दिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डाक्टर टीकाराम पोखरेलले एक विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

उनका अनुसार बैठकले अनशनरत अधिकारीलाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूति समेतको लागि आफ्नो अनशनलाई स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भैरहेको न्याय सम्पादन प्रक्रियालाई तत्काल निष्कर्षमा पुर्याउने कार्यमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *