यस्तो छ आज प्रधानमन्त्री सर्ने सिंहदरबारको भवन र कार्यकक्ष (तस्बिरहरु) – Nepal Press

यस्तो छ आज प्रधानमन्त्री सर्ने सिंहदरबारको भवन र कार्यकक्ष (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेकै दिन आज सिंहदरबारमा पुनर्निमित प्रधानमन्त्री कार्यालय भवनबाट तीन वर्षका उपलब्धी सार्वजनिक गर्दैछन् । संयोग नै मान्नुपर्छ ओली सरकारको चौथो वर्ष प्रवेशकै दिन सिंहदरवारको प्रधानमन्त्री कार्यालय भवन पुननिर्माण पनि सम्पन्न भएको छ । ओलीले सो भवनको पनि उद्घाटन गर्दैछन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।पश्चिमतर्फको भाग केही बाँकी छ  । पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावटसमेत सकेर उद्घाटनका लागि तयार पारिएको छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब यहिँबाट सन्चालन हुनेछ । सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ ।

उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत ८७ करोड रुपैयाँ रहेको पुननिर्माण प्राधिकरणले जनाएको छ । सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ ।

सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको काम समेत शुरु भइसकेको छ । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो ।

उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो ।

सीसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर