लैङ्गिक हिंसाविरुद्ध संसदीय समितिको चासो: बलात्कारीलाई आजीवन कैदकाे माग – Nepal Press

लैङ्गिक हिंसाविरुद्ध संसदीय समितिको चासो: बलात्कारीलाई आजीवन कैदकाे माग

काठमाडौं । लैङ्गिक हिंसा विरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

संघीय संसद,राष्ट्रियसभा  अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसा विरुद्धका अभियन्ताहरुसँग आईतबार गरेको अन्र्तक्रियामा बोल्दै सरोकारवालाहरुले लैङिगक हिंसाका घटना दिनप्रतिदिन बढीरहेको र दोषी उपर कारबाही हुन नसकेको भन्दै कडा कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले विद्यमान कानुन कार्यान्वय फितलो भएकाले कार्यान्वय पक्षलाई शसक्त बनाउन पनि माग गरे । राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले मानव ओसारपसारको घटना, बोक्सीको नाममा अमानविय व्यवहार, दाइजोको निहुँमा हुने अमानविय व्यवहारले अझै निरन्तरता पाइरहेको बताइन् ।

उनले महिलामाथि विभिन्न बहानामा हुने यस्ता अपराध नियन्त्रणका लागि दोषीलाई कडा सजायको व्यवस्था गरिनुपर्ने आवश्यकता औल्याइन् ।

महिलामाथि बलात्कार गर्नेलाई आजिवन कैदको व्यवस्था हुनुपर्ने,अपराधिक घटनामा समुदायमै मेलमिलाप गराउने र उजुरी लिन नमान्ने प्रहरी प्रशासनमाथि पनि कारबाही चलाउनुपर्नेमा उनले जोड दिइन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सिता पौडेलले महिला माथि हुने घरेलु हिंसा हेर्ने गरी पारिवारिक अदालत गठन गर्नुपर्ने आवश्यकता औल्याइन् ।

महिलाहरुको छुट्टै अदालत भए उनीहरुलाई आफ्ना समस्या राख्न सहज हुने भएकाले छुट्टै महिला इजलाशको पनि व्यवस्था गरिनुपर्ने बताइन् ।

समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले शक्तक्त कानुन निर्माण जरुरी रहेको बताए । उनले कानुन भएपनि कार्यान्वय फितलो हुँदा त्यस तर्फ ध्यान दिनुपर्र्ने बताए । महिलाको लागि छुट्टै अदालत हुनुपर्नेमा उनले पनि जोड दिए ।

मुलुकका विभिन्न स्थानमा बालिका तथा युवती बलात्कार र हत्याका घटना बढ्दै जानु र अपराधी पत्ता लाग्न नसक्नुले महिला सुरक्षा कमजोर भयो भन्दै दिनहुँ काठमाडाैंमा प्रर्दशन भईरहेका बेला संसदीय समितिले यसबारे चासो राखेर सरोकारवालाहरुसंग छलफल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *