समिना हुसेनको प्रष्टीकरण- शंका चिर्न विज्ञप्ति निकालेँ – Nepal Press

समिना हुसेनको प्रष्टीकरण- शंका चिर्न विज्ञप्ति निकालेँ

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले आफूलाई कार्यक्रममा सहभागी गराउन षड्यन्त्र गरेको भन्दै विघटित प्रतिनिधिसभाकी सदस्य समिना हुसेनले मंगलबार विज्ञप्ति निकालिन् ।

आफू नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षमै रहेको भन्दै उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘के.पी. ओलीगुटले विभिन्न भ्रम सिर्जना गरी मजस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन् । म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय, मधेसी समुदाय, महिला र विशेष गरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरूमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै के.पी. ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।’

ओलीविरुद्ध प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी उनी ८ पुसमा माइतीघर मण्डलामा गरेको प्रर्दशनमा समेत सहभागी भएकी थिइन।

यसअघि नै प्रचण्ड-माधव पक्षमा रहकी उनले ‘किन विज्ञप्ति जारी गर्नुपर्‍यो ?’ भन्ने नेपाल प्रेसको जिज्ञासमा शंका मेटाउन यसो गरिएको बताइन। ‘बीचमा थुप्रै जुलुसमा गइन, त्यही नेताहरूलाई शंका लागेकाले विज्ञप्ति निकाल्नु परेको हो,’ उनले भनिन्, ‘केही कारणले गर्दा म बीचमा कुनै पक्षको पनि कार्यक्रममा गएकी थिइनँ ।’

उनले सहभागी नहुनुको कारण भने खुलाइनन् । ‘त्यस्तै हुन्छ नि हाम्रो पार्टीका आन्तरिक कारण क्या,’ हुसेनले भनिन्, ‘तपाईंले बुझ्नुहुन्छ होला आन्तरिक कारण भनेपछि । त्यस्तै-त्यस्तै कारणले गर्दा म कतै जान्न भनेर बसिरहेकी थिएँ, तै पनि शंका गर्ने ठाउँ आइहाल्छ । त्यसैले विज्ञप्ति निकालेको ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर