त्रासद बन्दै मलेशियाको रोजगारी, अज्ञात कारणले वर्षेनि मर्छन् सयौं नेपाली – Nepal Press
वैदेशिक रोजगार गन्तव्य (१)

त्रासद बन्दै मलेशियाको रोजगारी, अज्ञात कारणले वर्षेनि मर्छन् सयौं नेपाली

काठमाडौं । केही दिनअघि नेपाल वायुसेवा निगमको वाइड बडी ए-३३० जहाजले मलेशियाबाट १८ वटा शव र एउटा अस्तु ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्यो । कमाउन गएका युवाहरू बाकसमा फर्किएका तस्वीर र भिडियो सञ्चारमाध्यममा देखेर धेरै नेपाली आहत बने । तर, विमानस्थलका लागि यो दृश्य कुनै नयाँ थिएन ।

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतामा रहेका निम्नवर्गीय युवाहरूका लागि लोकप्रिय गन्तव्य हो, मलेशिया । त्यहाँ अहिले करीब ३ लाखको संख्यामा नेपाली पसिना बगाइरहेका छन् । र, त्यही मलेशिया हो जसले विभिन्न बहानामा वर्षेनि सयौंको संख्यामा नेपाली युवालाई निल्दै आएको छ । त्रिभुवन विमानस्थलमा विदेशबाट दैनिक औसत तीन वटा शव ल्याइँदा एउटा मलेशियाकै हुन्छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार मलेशियामा अहिले सरदर एक जना नेपालीको दैनिक ज्यान जाने गरेको छ । अन्य मुलुकको तुलनामा मलेशियामा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेको उनी बताउँछन् ।

बोर्डका अनुसार धेरै नेपाली मलेशिया जानुअघि त्यहाँको वस्तुस्थितिबारे राम्ररी जानकार नहुनु मुख्य समस्या हो । यसैलाई मध्यनजर गरेर सरकारले अब विदेश जानुअघि अनिवार्य दुईदिने अभिमुखीकरण लिने व्यवस्था गरेको छ । यसका लागि बोर्डले नयाँ पाठ्यक्रम लागू गरेको र त्यसमा मलेशियाको छुट्टै पाठ्यक्रम बनाएकाले अब केही सुधार आउने बोर्डको अपेक्षा रहेको श्रेष्ठले बताए ।

१३ वर्षः मलेशियामा कतिले ज्यान गुमाए  ?

वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा आर्थिक वर्ष २०६५/६६ देखि २०७७/७८ सम्ममा २१ देशमा ८ हजार ९०६ जना नेपालीले ज्यान गुमाइसकेका छन् । तिनीहरूमध्ये ३४ प्रतिशतको मृत्यु मलेशियामा भएको हो ।

बोर्डले राखेको रेकर्ड अनुसार २०६५/६६ मा ७ देशमा ७७ जनाले ज्यान गुमाउँदा १६ प्रतिशत अर्थातु १३ जनाले मलेशियामा मात्र ज्यान गुमाए । चालु आर्थिक वर्ष २०७७/७८ को माघ १५ गतेसम्मको तथ्यांकअनुसार २१ देशमा ७६२ जनाको मृत्यु हुँदा मलेशियामा मात्र २१ प्रतिशत अर्थात् १६५ जनाको मृत्यु भएको छ ।

यस अवधिमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा १५ देशमा १ हजार ६ जनाको मृत्यु हुँदा मलेशियामा मात्र ४२ प्रतिशत अर्थात् ४२४ जनाको मृत्यु भएको छ ।

यस वर्ष कोरोनाका कारण करीब एक महिना वैदेशिक रोजगार बोर्डले शव ल्याउन सकेको थिएन । त्यसैले हवाई यातायात सहज भएपछि १८ वटा शव एकैपटक ल्याइएका हुन् । अहिले पनि खाडीसहित विभिन्न ८ वटा मुलुकबाट ६५ वटा शव ल्याउन बाँकी रहेकोमा मलेशियामा मात्रै २५ वटा शव छन् ।

मलेशिया र अन्य मुलुकमा मृत्यु हुनेको संख्या:-

(स्रोतः वैदेशिक रोजगार बोर्ड)

किन हुन्छ धेरै मृत्यु ?

वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार १३ वर्षको अवधिमा मलेशियामा ज्यान गुमाउनेमध्ये मृत्युको कारण नै नखुलेकाहरूको संख्या सबैभन्दा धेरै छ । ६८९ जनाको मृत्युको कारण खुलेको छैन ।

हृदयघातबाट ६६५ जनाको मृत्यु भएको छ भने ४४१ जनाको कालगतिले मृत्यु भएको देखिन्छ । मृत्युको चौथो कारण भने आत्महत्या देखिएको छ । यस अवधिमा ४२२ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्ष २०७७/७८ सम्म ७ वर्षको अवधिमा (८ वर्ष भए पनि आर्थिक वर्ष २०७१/७२ को तथ्यांक उपलब्ध नभएकाले एक वर्षको तथ्यांक उपलब्ध छैन) १३ लाख ९८ हजार ५७९ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा १४० देशमा पुगेका छन् । उनीहरूमध्ये २४ प्रतिशत मलेशिया गएको तथ्यांकले देखाउँछ ।


हाल मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डे जानेको संख्या नै धेरै हुने भएकाले मलेशियामा मृत्यु हुनेको संख्या पनि धेरै देखिएको बताउँछन् । यसअघि साउदी अरबमा राजदूत भइसकेका पाण्डेले त्यहाँ नेपालीको संख्या अनुसार अन्य देशको तुलनामा बढीको मृत्यु हुने गरेको दाबी गरे ।

मलेशियाका लागि पूर्व नेपाली राजदूत डा. ऋषि अधिकारी कामको चापले हुने गरेको मानसिक तनाव, मदिरा सेवनलगायतका कारण बढीको मृत्यु हुने गरेको बताउँछन् । मृत्युदर घटाउनका लागि कुनै एक पक्ष बलियो नभई नेपाल सरकार, रोजगारदाता र स्वयम् श्रमिक पनि जिम्मेवार हुन जरूरी रहेको उनको भनाइ छ ।

श्रम तथा रोजगार विज्ञ डा. गणेश गुरुङ भने खाडी मुलुकमा गर्मीलगायतका कारणले बढीको मृत्यु हुने गरे पनि मलेशियामा मृत्यु हुनुको मुख्य कारण खासै खुल्न नसकेको बताउँछन् । विशेष गरी कामको चाप धेरै हुने, मदिरा पनि बढीले सेवन गर्ने र मानसिक तनावका कारण धेरैको मृत्यु हुने गरेको उनको भनाइ छ ।

विज्ञ गुरुङ राष्ट्रिय योजना आयोगको सदस्य रहँदा खाडी मुलुकलगायत मलेशियामा धेरै नेपालीको मृत्युको कारणबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो । त्यो समितिले अध्ययन गरेर फर्किएको तर रिपोर्ट नै नबुझाएको उनको भनाइ छ ।

‘मृत्युको कारणबारे खासै अध्ययन नभएको र भएको अध्ययनले पनि पूर्णता नपाएकाले समस्या समाधानमा चुनौती थपिएको छ’, उनले भने ।

नेपाल र मलेशियाको श्रम समझदारी

नेपालबाट मलेशिया कामदार जान लागेको २० वर्षपछि २०७५ चैत १२ गते दुई देशबीच श्रम समझदारी भएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारी अनुसार मलेशिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका खर्च सम्बन्धित रोजगारदाताले बेहोर्ने भनिएको छ । यसअघि तीन वर्षको करार भए पनि यसपछि भने करार अवधि दुई वर्षको कायम गरिएको छ । कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने छ । कामदारले मलेशिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट नघट्ने गरी तलब-भत्ता एवम् सुविधा दिनुपर्ने समझदारीमा उल्लेख छ । अतिरिक्त समय काम गर्ने कामदारले थप तलब, सेवा-सुविधा पाउने छन् ।

परिवारको निकट व्यक्तिको निधन भएमा बढीमा १५ दिनको बिदा पाउने समझदारीमा उल्लेख छ । कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेशिया सरकारले लागू गरेको कानून नेपाली कामदारको हकमा पनि लागू हुने, रोजगारदातासँगको सम्झौता अवधि समाप्त भएपछि कामदारले आफूले चाहेको रोजगारदाता छनोट गर्न पाउने अधिकार रहने समझदारी भएको छ ।

नेपालले हाल संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानका लागि ११० देश खुल्ला गरेको छ भने ८ देश (कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन र मलेशिया) सँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । यद्यपि व्यक्तिगत श्रम स्वीकृतिमा भने १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

मृत्युपछि परिवारलाई ७ लाख

वैदेशिक रोजगारीको सिलसिलामा कामदारको मृत्यु भएमा निजका परिवारलाई नेपाल सरकारले ७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ । शुरुमा १ लाख ५० हजार दिइने गरेकोमा पछि बढाएर ७ लाख पुर्‍याइएको हो ।

मृतकका परिवारले शव बुझेको एक वर्षभित्र आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने वैदेशिक रोजगार नियमावली २०६४ मा व्यवस्था छ । मृतक कामदारको शव स्वदेश ल्याउन पहल गर्ने र मृतकको घरसम्म शववाहनको सुविधा समेत बोर्डले उपलब्ध गराउँदै आएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारलाई इजाजतपत्रवालाले करार अवधिभर कायम रहने गरी कम्तीमा ५ लाख रुपैयाँको बीमा गराउनुपर्ने वैदेशिक रोजगार ऐन २०६४ मा व्यवस्था छ । त्यसैअनुसार मृत्युपछि थप ५ लाख बीमा रकम उपलब्ध गराइन्छ । शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका बाबुआमाका सन्तानलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पुर्‍याउन बोर्डले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कमाइ भने न्यून

मलेशियामा अहिले साढे तीन लाख नेपाली कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेशिया जस्ता देशमा वैदेशिक रोजगारीमा जानेमध्ये करीब ९५ प्रतिशतले श्रमिकका रूपमा काम गर्दै आएका छन् । त्यसमा पनि सुरक्षा गार्ड, औद्योगिक क्षेत्रमा बढी कार्यरत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । औद्योगिक क्षेत्रमा मजदूरी गर्नेहरूले जोखिमपूर्ण कामहरू गर्नुपर्ने हुन्छ ।

मलेशियाले एक वर्ष अघिदेखि ५६ वटा शहर तथा नगरपालिकामा न्यूनतम तलब १२०० रिंगिट अर्थात् करीब ३५ हजार नेपाली रुपैयाँ तोकेको छ । यसअघिको न्यूनतम पारिश्रमिक ११०० रिंगिट अर्थात् करीब ३२ हजार रुपैयाँ थियो । यसैगरी प्रतिघण्टा काम गरेको ज्याला पनि ५.७७ रिंगिट अर्थात् १६५ रुपैयाँ तोकिएको छ । यसअघि प्रतिघण्टा न्यूनतम ज्याला ५.२९ रिंगिट अर्थात् १५० रुपैयाँ मात्र थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *