फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ – Nepal Press

फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ

पोखरा । बाँध तथा नहर निर्माण गर्न भन्दै फेवातालको पानी एक मिटर घटाइएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका अनुसार तालबाट सोमबारसम्म ५ करोड ८० लाख पानी बगाइएको छ ।

कार्यालयले सुरुमा दुई मिटरसम्म पानी घटाउने लक्ष्य राखे पनि एक मिटरमै बाँधको ढोका बन्द गरेको हो । फेवातालबाट ठूलो मात्रामा पानीको सतह घटेकाले अहिले तालको आधा भागसम्म दलदल र माटोको लेदो जम्मा भएको छ । ठूलो मात्रामा पानीको सतह घटेपछि अहिले फेवातालको धेरै भाग बगर जस्तै देखिन पुगेको छ ।

‘शुक्रबार साँझबाट बाँध खोलेर पानी घटाउन थालेका हौं । अहिले आवश्यक पानी घटिसकेकाले बाँधको ढोका फेरि बन्द गरेका छौं’ जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका प्रमुख किरण आचार्यले नेपाल प्रेससँग भने, ‘सुरुमा दुई मिटर भने पनि अहिले एक मिटर मात्रै पानी घटाएका हौं ।’

आचार्यले तालको पानी घटिसकेपछि बाँध तथा नहर मर्मत कार्य सुरु भइसकेको जानकारी दिए । ‘मर्मत सम्भारको काम सुरु भइसकेको छ । अब पानी फेरि घटाउनु पर्दैन । एक महिनामै मर्मतकाे काम सक्छौं’, उनले भने ।

फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट अग्लाे बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा फुटेर गएको थियो ।

पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

‘ताल सुरुकै अवस्थामा फर्किने अनिश्चित छ’

तालबाट करिब ६ करोड लिटर पानी बगेर गइसकेपछि आधा भाग खण्डहरमा परिणत भएको छ । ठूलो मात्रामा पानी बहेर गएकाले पुरानै स्वरुपमा ताल कहिले फर्किन्छ भन्ने अनिश्चित छ ।

५.८ किलोमिटर क्षेत्रफलमा फैलिएको ताल भने पुरानै अवस्थामा फर्किन केही समय लाग्ने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

‘बाँधको ढोका बन्द गरिसकेका छौं । पानी जम्मा हुन सुरु गरिसकेको छ’ उनले भने, ‘तर ठूलो मात्रामा पानी बगेर गइसकेकाले पुरानै आकारमा फर्किन भने केही समय लाग्छ ।’

तालको मुख्य मुहान हर्पन, खहरे खोला हो । त्यसबाहेक अन्य ससाना खोला तथा नहरबाट समेत तालमा पानी जम्मा हुने गर्दछ ।

‘एक महिनामा मात्रै बाँध र नहर मर्मत गरिसक्छौं । त्यसबेलासम्म पानी कति जम्मा हुन्छ । त्यसपछि मात्रै तालको पुरानै स्वरुपमा कहिले फर्किन्छ भन्ने थाहा हुन्छ’, उनले भने ।

पानी घटेकै बेला बाटो खनियो, दुई जना प्रहरी नियन्त्रणमा

बाँध तथा नहर मर्मत गर्न पानीको मात्रा घटाइएकै क्रममा पोखरा १८ घाँटीछिनामा बाटो खनिएको छ । स्थानीय हुमबहादुर थापा र सन्तोष थापाले आइतबार राति विना इजाजत बाटो खनेको पाइएपछि नियन्त्रणमा लिइएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

‘राति करिब ८ बजेतिर उनीहरुले डोजर प्रयोग गरेर बाटो नै खनिसकेछन् । हामीले बिहान मात्रै थाहा पायौं’, वडाध्यक्ष थापाले भने, ‘पछि उनीहरुलाई बैदाम प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ ।’

उनीहरुलाई थप कारबाही गर्न महानगरलाई पनि जानकारी दिइसकेको वडाध्यक्षले जानकारी दिएका छन् ।

उनीहरुले बाटो खन्दा सार्वजनिक बाटोको पिच नै भत्काएको वडाध्यक्ष थापाले जानकारी दिए । ‘बाटो बनाउँदा अर्को बाटोको पिच नै भत्काएका छन् । पिच भत्किँदा करिब ३ लाख ११ हजार रुपैयाँ नोक्सान हुन गएको देखिएको छ’, उनले भने, ‘सो रकम उनीहरुबाटै जफत गर्ने गरी कारबाही गर्ने तयारी गर्दैछौं ।’

यो पनि पढ्नुहोस्

जब फेवाताल सुक्यो !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर