जब फेवाताल सुक्यो ! – Nepal Press

जब फेवाताल सुक्यो !

पोखरा -पोखरा फेवाताल हेर्न आएका पर्यटकहरु शनिबार पानीबिनाको तालअघि उभिएर छक्क परे । तालमा पानीको मात्रा एकदमै कम थियो र पानी सुकेका कारण टाढासम्म हिलो माटोको लेदोमात्रै बाँकी थियो ।

पानी सुकेको हो कि सुकाइएको हो उनीहरुले भेउ नै पाएनन् । यद्यपि पानी सुकेर तालको बीच भागसम्म पुगेको जमिनबाटै भएपनि पर्यटकहरु बाराही मन्दिर गइरहेका थिए । सुकेको फेवातालमा माछा मार्नेको ठूलो समूह पनि थियो । कोही हिलाम्मे तालमै सेल्फी खिचिरहेका थिए ।

तर ताल भने आफैं सुकेको होइन, सुकाइएको हो । तालको बाँध र नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले शनिबार ठूलो मात्रामा पानी घटाएको हो । फेवातालको मुन्तिर रहेको बाँध खोलेर पानी घटाइएको र २ मिटरसम्म पानी घटाइने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।

फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए ।

‘आज (शनिबार) पहिलो चरणमा बाँध खोलेर केही पानी घटायौं, साँझ बाँध बन्द गर्छौं,’ उनले भने, ‘भोलि बिहान फेरि पानीको मात्रा हेरिसकेपछि पानी घटाउने या के गर्ने थाहा हुन्छ ।’ उनले पानीको मात्रा बढीमा २ मिटरसम्ममात्रै घटाउने लक्ष्य रहेको जानकारी दिए ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । जसमध्ये १ करोड रुपैयाँ बाँध मर्मतका लागि र १ करोड रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन् ।

आचार्यले पानीको मात्रा घटिसकेपछि बाँध बन्द गरिने र फेरि पानीको मात्रा सुरुकै अवस्थामा फर्किने जानकारी दिए । ‘बाँध बाँधेपछि फेरि पानी भरिन थाल्छ । समस्या पर्दैन,’ उनले भने । उनले बाँध तथा नहर मर्मत सम्भार गर्न भने १ महिना लाग्ने जानकारी दिए ।

फेवाताल सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले फेवातालको पानीको मात्रा बाँध तथा नहर मर्मतका लागिमात्रै घटाइएकाले सीमांकनमा कुनै असर नपर्ने बताए । उनले भने, ‘पानी घटेपछि पनि फेरि केही दिनमै पुरानै स्वरुपमा फर्किन्छ । यसले नक्सांकनमा कुनै असर गर्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर