काष्ठमण्डपको भार उठाइरहेका वयोवृद्ध – Nepal Press
सम्पदा पुनर्निर्माण

काष्ठमण्डपको भार उठाइरहेका वयोवृद्ध

‘काष्ठमण्डप पुनर्निर्माण गरे त मेरो पनि नाम जोडिएला नि !’

काठमाडौं । ७३ वर्षीय लक्ष्मीभक्त राजचलमा युवा बेलाको भन्दा कम ऊर्जा छैन । उनी अहिले आफ्नो ऊर्जालाई शताब्दीयौं पुरानो काष्ठमण्डप निर्माणमा समर्पित गरिरहेका छन् । उनलाई काष्ठमण्डसँगै आफ्नो नाम जोड्ने रहर छ । भन्छन्– मरेर के लानु छ र ? काष्ठमण्डप पुनर्निर्माण गरे त मेरो पनि नाम जोडिएला नि !

२०७२ सालको भूकम्पमा ढलेपछि काष्ठमण्डप पुनर्निर्माण भइरहेको छ । देशकै ऐतिहासिक धरोहर काष्ठमण्डप निर्माण जति सजिलो देखिन्छ यसलाई पुरानै संरचनामा ढाल्न त्यति नै चुनौतीपूर्ण छ । त्यो चुनौतीलाई स्वीकार गरी निर्माण कार्य अघि बढाउने अभिभारा लिएका छन्, लक्ष्मीभक्तले ।

तीन वर्षअघि सरकारले काष्ठमण्डप निर्माणकार्यका लागि आयोजक कमिटी निर्माण गर्यो । आयोजक कमिटीको गठन त भयो तर, काष्ठमण्डपको पहिलाको ढाँचा र कलालाई जस्ताको तस्तै उतार्ने सिकर्मीको खाँचो थियो ।

दक्ष र अनुभवी सिकर्मी खोज्नका लागि काष्ठमण्डप आयोजक कमिटीले निकै मिहिनेत गर्यो । तर, दक्ष कहलिएका सिकर्मीले पनि काष्ठमण्डप बनाउन हिम्मत गरेनन् । त्यही समयमा लक्ष्मीभक्तले लिए काष्ठमण्डप निर्माणको अभिभारा ।

काष्ठमण्डप पुनर्निर्माणको जिम्मा लिन पाउँदाको क्षण सम्झँदै उनी भन्छन्– सरहरूले सिकर्मी खोजिरहनुभएको रहेछ । मलाई पनि एकदिन बोलाएर सोध्नुभयो– काष्ठमण्डप बनाउन सक्छौ ? एकछिन गमें । मनमनै सोचें, ६० वर्षभन्दा बढी काम गरेको अनुभवले पक्कै यो काम म गर्न सक्छु । अनि प्वाक्क बोल्दिएँ– सक्छु ! सरहरूको मुहारमा खुशी छायो । त्यसको केही दिनपछि काम शुरू पनि गरें ।

नौ वर्षको उमेरदेखि काष्ठकलाको काम

२००३ सालमा जन्मिएका लक्ष्मीभक्त नौ वर्षको उमेरदेखि नै सिकर्मी पेशामा लागेका हुन् । उनको यो पुर्ख्याैली पेशा हो । उनका जिजुबाजेदेखि अहिलेको नाति पुस्ता पनि यही पेशामा आवद्ध छन् । ‘म सानैदेखि यही पेशामा लागें । मेरा सबै परिवार यही पेशामा थिए’ उनले भने ।

‘सुका पैसामा हाजिरा गरेको ज्यान हो यो, सुका पैसामा’ उनले हाँस्दै भने, ‘नौ वर्षको थिएँ पहिलो पटक काममा जाँदा ।’ अहिले उनको दैनिक ज्याला दुई हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मीभक्तले सिकर्मी पेशा अपनाए पनि उनी २०४५ सालअघि गाउँघरकै काममा सीमित थिए । २०४५ सालमा नेपालमा ठूलो भूकम्प आयो । त्यो भूकम्पले नेपाली माझमा महाविपत्ति ल्यायो । तर लक्ष्मीभक्तको कलाकर्मका लागि उक्त भूकम्प अवसर बन्यो ।

भूकम्पले काठमाडौं र वरिपरिका क्षेत्रमा रहेका मठ– मन्दिर, पाटीपौवा भत्किए । अनि उनले पाए त्यहीं रोजगारी । त्यसै समयदेखि उनी नेपालको पुरातात्विक विभागमा समेत परिचित बने । जस्तोसुकै कठिन कामलाई सहजपूर्वक गर्ने परिपाटीले लक्ष्मीभक्त चाँडै नै सबैका नजरमा पर्थे, उनी ।

भूकम्पले थिलथिलो भएको काठमाडौं, भक्तपुर, पनौती, बनेपालगायत क्षेत्रका मठमन्दिरलाई उनले पहिलाकै स्वरुपमा उठाए ।

नेपालमा मात्र होइन भारतको बनारसमा गएर पनि मन्दिर मर्मत गरेको अनुभव यसरी सुनाउँछन् लक्ष्मीभक्त–

२०५६ सालतिर एकदिन खेतमा धान रोप्ने तयारी गरिरहेको थिएँ । पुरातात्व विभागका एक अधिकृत कर्मचारी मलाई घरमै भेट्न आउनुभयो । अधिकृत नै भेट्न आएपछि म छक्क परें ! ‘के भयो सर, किन मेरो घर पाल्नुभयो’ मैले एकै स्वरमा भनें । अधिकृतले भने, ‘लक्ष्मीभक्त तिमीलाई डिजी साहेवले खोज्नुभएको छ । छिट्टै अफिस हिंड ।’ म त अक्क न वक्क भएँ । किन डिजी साहेवले मलाई खोज्न घरै मान्छे पठाउनुभएछ भनेर गम पनि खाएँ । म तत्कालै सरकै मोटरसाइकलमा पुरातात्व विभाग आएँ । डिजी साहेव आफ्नै कार्यकक्षमा हुनुहुँदोरहेछ । सरले पहिला चिया खुवाउनुभयो त्यसपछि कुरा शुरू गर्नुभयो– ‘लक्ष्मीभक्त तिमी बनारस जानु प¥यो !’

बनारसमा नेपालको पशुपतिनाथ जस्तै तर, अलि सानो आकारको मन्दिर छ । नेपालका राजा राजेन्द्रविक्रम शाहले सो मन्दिर बनाएका थिए ।

त्यो मन्दिरको मर्मत २०३५ सालदेखि नै हुँदै आएको थियो । २०५६ सालसम्म पूर्ण मर्मत हुनसकेको थिएन ।

मन्दिर मर्मतका लागि नेपालबाट धेरै दक्ष सिकर्मी पनि गएका थिए । त्यसै समयमा पनि पाटन, कीर्तिपुर, बुङमतीलगायत ठाउँबाट मेरा साथी तथा अन्य सिकर्मी बनारस पुगेका थिए । तर, काम गर्न नसकेर फर्किएको जानकारी पनि पाएको थिएँ ।

मैले डिजी साहेबलाई भनें, ‘म त जान्नँ सर ।’

‘तिमी नगई हुँदैन’, उहाँले भन्नुभयो ।

मैले अड्डी कसें, ‘म त जाँदै जान्नँ । मेरा साथीहरू कसैले पनि त्यो मन्दिर बनाउन सकेका छैनन् । म पनि किन त्यत्रो टाढा गएर दुःख पाउनु !’

डिजीले भन्नुभयो, ‘हैन तिमी जानै पर्छ । यसपालि बनाइएन भने त्यो मन्दिर पूर्ण रूपमा भत्किन्छ । यो देशको इज्जतको कुरा हो । तिम्रो टिकट, खानेबस्ने सबै व्यवस्था हामी मिलाइदिन्छौं । तिमीले काम गर्न सकेनौं भने पनि गएर हेरेर मात्र भए पनि फर्क ।’

‘सर उसो भए पछि जाउँला अहिले धान खेती लाउनु छ ।’ ‘कति फल्छ धान ?’ डिजी साहेवले सोध्नुभयो ।

मैले भनें ‘त्यस्तै २० मुरी ।’

‘यो देशको इज्जतको कुरा हो २०/३० मुरी धानको पछि नलाग तिमी गइहाल’ भन्नुभयो ।

म त्यसपछि छिट्टै बनारस गएँ । मन सारै पोलेको थियो । गाडीमा गएका थियाै‌ । मलाई राति निद्रा नै परेन । एउटै कुरा सोचिरहें– काम नगरी फर्कनु पर्यो भने डिजी साहेवलाई कसरी मुख देखाउनु !

शायद दिउँसोको ४ बजेको होला म र अरू तीन जना साथी बनारस पुग्यौं । त्यहाँ पुगेर खाना खायौं । खानामा नुन रहेनछ मैले त्यो पनि थाहा पाइनँ । सारै तनाव भएको थियो । खाना खानासाथ ‘लौ मन्दिर देखाउनुस्’ भनें ।

मन्दिरलाई चारपटक घुमें, कहाँ टेका लगाए यो मन्दिर मर्मत गर्न सकिन्छ भनेर सूक्ष्म रूपले नियालें । टेका लगाउन राम्ररी नसके पूरै मन्दिर भत्किनेछ । त्यो काम सजिलो पटक्कै थिएन । त्यही भएर अन्य सिकर्मीहरू टेका लाउने ठाउँ पत्ता लाउन नसकी फर्किएका थिए ।

मैले मनमा अरू केही सम्झिनँ । मात्र टेका लगाउने ठाउँ हेरें र एउटा माटोको डल्लो समाएर परबाट फुत्त फालें । भाग्य भन्नुपर्छ मैले जहाँ सोचेको थिएँ त्यहीं गएर माटोले छोयो । र ल यही ठाउँमा टेका लगाए यो मन्दिर नभत्काई मर्मत गर्न सकिन्छ भन्ने लाग्यो ।

मैले तुरुन्त त्यहाँका सहयोगीलाई भनें, ‘ल यी सामान ल्याइदेऊ म भोलिबाट काम थाल्छु ।’

सानो गल्लीबाट मन्दिर छिर्नुपर्ने । सामान ल्याउन निकै गाह्रो थियो । तर पनि भोलिपल्ट गधालाई बोकाएर सामान आइपुग्यो । र, मैले काम थालें । १२ दिनको दिन मन्दिरको अगाडिको ढोका फेरें । त्यहाँका मानिस सबै खुशी भए । ढोका फेरेको दिन नुहाएर डिजी साहेवलाई आवा (कल) गर्न बाहिर निस्किएँ ।

डिजी साहेवलाई काम शुरू भयो, पहिलो ढोका फेरें भनेर सुनाएँ । डिजी साहेव त सारै खुशी हुनुभयो । भन्नुभयो, ‘देशको इज्जत राख्यौ । काम सकेर फर्कनू ।’ एक महीनामा चार ओटा ढोका फेरेर नेपाल फर्किएँ । उनले बनारस यात्राको फेहरिस्त सुनाए । त्यसपछि त मलाई पुरातात्विक विभागले जहिल्यै पनि खोज्न थाल्यो ।

नेपालमा जति पनि ऐतिहासिक मठ–मन्दिर छन् ती मल्लकालीन समयका हुन् । अहिले नेपालमा त्यस्तै कलाकृतिले सजिएका मठ–मन्दिर बनाएका छैनौं । जति बनेका पहिलाकै कलाकृतिलाई त्यही रूपमा ढाल्ने मात्र काम हुन्छ । आफ्नो सीप निखार्ने मात्र काम भएको छ तर, सीपलाई देखाउन सकिएको छैन ।

अहिले काष्ठमण्डप बनाउने काममा उनको नेतृत्वमा २० जना अरू सिकर्मी तथा डकर्मीले काम गरिरहेका छन् । साथै इन्जिनियरले सहयोग गर्छन् ।

परम्परागत मौलिक नेपाली काष्ठकलाको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै उनी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ