साविक विजेता पुलिसको पहिलो जित – Nepal Press

साविक विजेता पुलिसको पहिलो जित

काठमाडौं । कुशल भूर्तेलको अविजित अर्धशतक प्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदामा १११ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको साविक विजेता पुलिसका लागि कुशलले ४४ बलमा ९ चौका र १ छक्कासहित अविजित ५१ रन बनाए । त्यस्तै, सुनिल धमलाले ५७ बलमा ६ चौका र दुई छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले ।

ओपनरद्वय सुनिल र कुशल भूर्तेलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । पुलिसको सहज जितमा अमित श्रेष्ठ १ रनमा अविजित रहे ।

सानो योगफलको बचाउ गर्न असक्षम रहेको सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले एक विकेट लिए ।

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३।१ ओभरमा सबै विकेट गुमाएर ११० बनाएको थियो ।

त्रिवि क्रिकेट मैदानमा फिल्डिङ रोजेको साविक विजेता पुलिसका लागि कसिलो बलिङ गरेका सागरले १० ओभरमा १८ रन खर्चेर ३ मेडनसहित चार विकेट लिएका थिए ।

किफायती बलिङ गरेका पुलिसका दिपेन्द्रसिंह ऐरीले ६।१ ओभरमा १० रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । पुलिसको आक्रमक बलिङसामु संघर्षरत सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले ५३ बलमा ८ चौकासहित ४० रन जोडेका थिए । कप्तान सन्तोष भट्ट शून्यमा रन आउट हुँदा दुर्भाग्यशाली सावित भए ।

विकेटकिपर ब्याट्सम्यान सन्जु दमाईले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सुदूरपश्चिमका ६ ब्याट्सम्यान शून्यमा सीमित रहे ।

पहिलो खेलमा बाग्मतीसँग लज्जास्पद पराजय बेहोरेको साविक विजेता नेपाल पुलिस क्लबले प्रतियोगितामा पहिलो जित निकालेको छ । त्यस्तै बाग्मतीसँगै पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पनि जितविहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर