पाम आयलमा भारतको प्रतिबन्धपछि विराटनगरका व्यवसायीको ठूलो लगानी जोखिममा – Nepal Press

पाम आयलमा भारतको प्रतिबन्धपछि विराटनगरका व्यवसायीको ठूलो लगानी जोखिममा

विराटनगर । भारतले पटक–पटक पाम आयल आयातमा लगाएको प्रतिबन्धका कारण विराटनगरका व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ ।

भारतले विदेश व्यापार नीतिमा परिवर्तन गर्दै पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको लगानी जोखिममा परेको हो ।

पाम आयलको माग भारतमा उच्च छ । तर आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सूचीबाटै हटेको छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार अघिल्लो आर्थिक बर्षको यही अवधिको पाँच महिनामा ६ अर्ब ४२ करोड ९२ लाख मूल्य बराबरको पाम आयल निर्यात भएको छ ।

साउनदेखि मंसिरसम्म ६ हजार २ सय ३३ मेट्रिकटनको निर्यात हुँदा सोही अवधिमा ५ हजार ६ सय ९० मेट्रिकटन कच्चा पाम तेल आयात भएको भण्डारीले बताए ।

भारतको यस्तो कदमसँगै पाम आयलमा लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् । पटक–पटक भारतले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगीको लगानी जोखिममा परेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहरा बताउँछन् ।

पाम आयल उद्योग सञ्चालन गरिरहेका उद्योगी बोहराका अनुसार भारतको प्रतिबन्धले नेपालको व्यापार घाटालाई ठूलो प्रभाव पार्ने छ ।

उनका अनुसार, निर्यात राम्रो भएका करण नेपालका उद्योगहरु राम्रोसँग चलेका थिए । उद्योगीहरुले लेटरअफ क्रेडिट (एलसी) खोलेका ठूलो मात्रामा कच्चा पदार्थ आयात गरेका थिए ।

तर भारतले प्रशोधित पाम आयल निकासीको सुचीबाट हटाएपछि व्यवसायीहरु मरमा परेका छन् । विराटनगरका पाँच उद्योगले ठूलो मात्रामा कच्चा पदार्थ आयत गरी प्रशोधित पाम आयल निकासी गदै आएका थिए ।

विराटनगरमा केएल दुगड समूहले स्वस्तिक आयल इन्डस्ट्रिज, मुन्दडा ग्रुपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम काबराको क्वालिटी रिफाइनरी र शारडा–राठी समूहको पशुपति खाद्यतेल उद्योगले पाम तेलको निकासी गरिरहेका थिए । मुन्दडा गु्रपको बाबा भेजिटेबलका सञ्चालक प्रकाश मुन्दाडाले भारतले निर्यातको सूचिबाट पाम आयललाई हटाएपछि त्यसका आधारित उद्योगहरुले ठूलो नोक्सानी व्याहोर्नु परेको जानकारी दिए ।

अर्बौंको लगानीमा उद्योगहरु सञ्चालनमा रहेकाले सुचीबाटै पाम आयाल हटएपछि निकासीको तयारीमा राखिएको ठुलो मात्रमा पाम आयत गोदाममा लामो समयदेखि थन्किन पुगेको उनले जानकारी दिए । मोरङ व्यापार संघका अध्यक्ष समेत रहेका मुन्दाडाले भने, ‘बैंकको ब्याज, उद्योग सञ्चालन नहुँदा मजदुर र कर्मचारीको खर्चलगायतले उद्योगीहरू निकै समस्यामा छन् ।’

पाम आयल आयातमा भन्सार छुट दिएको छ । आयत गर्दा १० प्रतिशत बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । आयात गरेको एक वर्षभित्र निर्यात गरे व्यावसायीले थप सुविधा प्राप्त गर्नेछन् ।

निकासी नगरेको अवस्थामा ग्यारेन्टीको १५ प्रतिशत जरिवाना पर्छ । चालू आवको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

इन्डोनेसिया र मलेसीयाबाट कच्चा पाम तेल आयात गरी नेपालका उद्योगले प्रसोधन गरी भारत निर्यात गर्दै आएका छन् ।

भारतले नेपालबाट पाम तेल निर्यात गर्दा भारतमा राजस्व तिर्नुपर्दैन । तर भारतका व्यापारीले अन्य देशबाट आयात गर्दा ४० प्रतिशतसम्म भन्सार महशुल तिनुपर्छ ।

भारतमा पाम ओइल आयात हुने मुख्य देश इन्डोनेशिया र मलेसिया हुन् । नेपाली उद्योगीले मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । तर, भारतले मलेसियाबाट हुने प्रशोधित कच्चा पाम आयातलाई लक्षित गरी निकासीको सूचिबाटै हटाएपछि नेपाली उद्योग प्रभावित भएका थिए ।

नेपालले पनि इन्डोनेशिया र मलेसियाबाट नै कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्दै आएको थियो । गत पुस २२ गतेबाट ४४ दिन तयारी पाम आयलको निकासी रोकिएको थियो । फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुनः निकासी सुरु भएको थियो ।

फागुनदेखि वैशाखसम्मको तीन महिनाको अवधिमा एक अर्ब २२ करोड मूल्य बराबरको क्रुड पाम आयल आयात भएको थियो भने एक अर्ब ४३ करोड ७७ लाख बराबरको तयारी पाम आयलको निकासी भएको थियो । तीन महिनामा १४ करोड १९ लाख बराबरको राजश्व संकलन भएको थियो ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएपछि पछिल्लो पटक २०७७ वैशाख ३० गते मंगलबारदेखि नेपालबाट प्रशोधित पाम आयल निकासी रोकिएको थियो ।

यसअघि पनि भारतले २०७६ माघ २५ गतेबाट करिब डेढ महिना यस्तै प्रतिबन्ध लगाएको थियो । माघको अन्तिम सातादेखि भारतले आफ्ना केही आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएपछि नेपालबाट फागुनको दोस्रो साताबाट निर्यात खुलेको थियो ।

याे पनि पढ्नुहाेस्

नेपालको व्यापार घाटा घटाउने पाम आयल निर्यातमा भारतको अवरोध किन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर