नेपालको व्यापार घाटा घटाउने पाम आयल निर्यातमा भारतको अवरोध किन ? – Nepal Press

नेपालको व्यापार घाटा घटाउने पाम आयल निर्यातमा भारतको अवरोध किन ?

काठमाडौं । नेपालको व्यापार घाटा घटाउने प्रमुख उत्पादन पाम आयलको निर्यातमा भारतले पुनः प्रतिबन्ध लगाएको छ । भारतको प्रतिबन्धसँगै नेपालमा स्थापना भएको पाम उद्योग धराशायी बनेका छन् ।

यसअघि पनि धेरै परिमाणमा नेपालबाट निर्यात भइरहेको बेला भारतले विभिन्न कारण देखाउँदै पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको थियो । योसमेत पाम आयल निकासीको प्रतिबन्ध २ पटक हो ।

पाम आयलको धेरै माग भएको छिमेकी देश भारत आफैँले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगहरूको लगानी नै जोखिममा परेको छ । नेपालको व्यापार घाटा घटाउन सहयोग गरेको पाम आयल प्रतिबन्ध लगाउनु दुःखद रहेको उद्योगीहरु बताउँछन् । नेपालमा प्रशोधन भएर भारतीय बजारमा राम्रो प्रभाव जमाएको कारण भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको उनीहरूको भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसीरसम्म सूचीबाटै हटेको छ ।

क्यानाडा, इण्डोनेसियालगायतका तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालमा प्रशोधन भई भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने भन्दै भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

विराटनगर उद्योग सघंठनका उपाध्यक्ष तथा पाम आयल उत्पादक प्रदिप मुरारकाले भारतले नेपालमा पाम आयल उत्पादन गर्ने उद्योग नै नभएको भनेर हल्ला चलाएर नेपालबाट निर्यात हुने पाम आयल बन्द गरेको बताए । नेपालबाट अलि धेरै मात्रामा पाम आयल निर्यात हुन शुरू भएदेखि नै भारतले रोक्न चलखेल गरेको उनको भनाइ छ ।

उनले भने- ‘भारतको भन्सारले बेला-बेलामा आएर पाम प्रशोधत गर्ने उद्योगहरू हेरेर जाने गरेका छन् । तर, भन्सारले हेरिरहेको प्रशोधन गर्ने उद्योगहरू नै भारतले छैन भन्दा अचम्ममा परेका छौँ ।’

मुरारकाका अनुसार नेपाल सरकारले भारत सरकारसँग छलफल गरेर नेपालको उद्योगहरु देखाएर पुनः पाम निर्यातका लागि पहल शुरू गर्नुपर्छ ।

वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रूपैयाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेका १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड रूपैयाँ मूल्य बराबरको १ लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।

तेस्रो मुलुकबाट नेपाल ल्याएर प्रशोधित भई भारत जाने पाम आयलले ८० देखि ८५ प्रतिशत भारतीय बजारमा आफ्नो बजार ओगटेको छ । पाम आयल निर्यातबाट विदेशी मुद्रा नेपाल भित्रिँदा यहाँका उद्योगलाई टेवा पुगिरहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ९ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब २ अर्बको १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क. ले पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्धको विषयमा उद्योग मन्त्रालयमा छलफल शुरू भएको बताइन् ।

उनले नेपालप्रेससँग भनिन्, ‘मन्त्रालयले किन पटक-पटक नेपालबाट निर्यात हुने पाम आयलमा प्रतिबन्ध गरिरहेको छ भन्ने विषयमा छलफल गरेर भारतसँग कुरा गर्ने छ प्रतिबन्ध फुकुवा गर्न ठोस कदम चाल्छौं ।’

याे पनि पढ्नुहाेस्

पाम आयलमा भारतको प्रतिबन्धपछि विराटनगरका व्यवसायीको ठूलो लगानी जोखिममा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर