मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो – Nepal Press

मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो

एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले करिअरकै पहिलो रातो कार्ड पाएका छन् । स्पेनिस सुपर कपको फाइनलमा गए राति बार्सिलोना एथ्लेटिको विल्बाओसँग ३–२ गोलले पराजित भएको खेलमा अतिरिक्त समयको अन्तिम सेकेण्डमा मेस्सीले रातो कार्ड पाएका हुन् ।

बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ५३ औं खेलमा मेस्सीलाई एथ्लेटिकोका स्ट्राइकर असिर भिल्लालिब्रेसँगको नोकझोँकमा दोषी देखाउँदै भिडियो असिस्टेन्ट रेफ्री (भार)ले रातो कार्ड दिने निर्णय गरेको हो ।

बार्सिलोनाले २ पटक अग्रता बनाएर पनि खेल आफ्नो पक्षमा पार्न सकेन । एन्टोइन ग्रिजमनले ४० औं र ७७ औं मिनेटमा गोल गरेका थिए । तर सेभियाको ओलम्पिक रंगशालामा एथ्लेटिकोका ओस्कार डी मार्कसले ४२ औं र भिल्लालिब्रेले ९० औं मिनेटमा गोल गरेपछि नियमित समयमा खेल बराबरी भयो र अतिरिक्त समयमा धकेलियो ।

३० मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमै विलियमले गोल गरेपछि अग्रता बनाएको एथ्लेटिकोले त्यसयता गोल खाएन ।

एथ्लेटिकोले सन् १९८५ पछि पहिलोपल्ट ठूलो उपाधि जित्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेको थियो । यद्यपी खेलको अन्त्यतिर केहि नाटकीय घटनाहरु भए ।

१ सय २० औं मिनेटमा मेस्सीले एथ्लेटिकोको पोष्टतर्फ बल अगाडि बढाउँदै थिए । भिल्लालिब्रे उनलाई रोक्ने प्रयासमा थिए । मेस्सीले बल पास दिए र नजानिदो ढंगले अगाडि बढेको मौकामा भिल्लालिब्रेको टाउकोमा प्रहार गरे । रेफ्रीले त्यो घटना देखेका थिएनन् । पछि भारमा हेरेपछि मेस्सीलाई रातो कार्ड देखाउने निर्णय गरे ।

३३ वर्षीय मेस्सीले आफ्नो खेल करिअरमा यसअघि दुईपल्ट मात्र रातो कार्ड ब्यहोरेका छन् । सन् २००५ मा हंगेरीबिरुद्ध अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि डेब्यू खेलमा र सन् २०१९ मा चिलीबिरुद्ध कोपा अमेरिका तेस्रो स्थानको प्लेअफ खेलमा मेस्सीले रातो कार्ड पाएका छन् ।
यो घटनापछि मेस्सीले कम्तिमा पनि ४ घरेलु खेलको प्रतिबन्ध झेल्नुपर्ने हुनसक्छ ।

बार्सिलोना १४ औं सुपरकप उपाधिबाट सेकेण्डले टाढा थियो । यो रोनाल्ड कोम्यानका लागि पहिलो उपाधि हुन सक्थ्यो । मेस्सीका लागि आठौं सुपरकप हुनसक्थ्यो, सम्भवतः मेस्सी बार्सिलोनामा अन्तिम वर्ष विताइरहेका छन्, उनको सम्झौता यसै वर्षको समरमा सकिँदैछ । तर ९० औं मिनेटमा बराबरी गोल खानु परेपछि सबै कुरा बदलियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर