‘पहिलो बल फालेपछि सबै नैराष्‍य हटेर गयो’ – Nepal Press

‘पहिलो बल फालेपछि सबै नैराष्‍य हटेर गयो’

काठमाडौं । जीवनको पहिलो प्रतियोगिता- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट खेलिरहेका तिलक भण्डारीले पहिलो बल फालेपछि सबै नैराष्यता हराएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा आइतबार विभागीय टोली तथा साविक विजेता नेपाल पुलिस क्लबविरुद्ध ‘म्यान अफ दी म्याच’ प्रदर्शन गरेका भण्डारीले ७.३ ओभरमा मात्रै १७ रन खर्चेर १ मेडनसहित चार विकेट लिएका थिए ।

‘डेब्यू’ प्रतियोगिताको पहिलो खेलमै पुलिसका अनुभवी ब्याट्सम्यानहरू– आरिफ शेख, अनिल शाह, पवन सर्राफ र ललित राजवंशीलाई आफ्नो शिकार बनाएका भण्डारी खेल शुरू हुनु अगाडि ‘नर्भस’ भएको बताउँछन् ।

“शुरूमा नर्भस थिएँ ग्यानु (ज्ञानेन्द्र मल्ल) र पारस (खड्का) दाईले हौसला दिनुभयो,” उनी भन्छन्, “रिदममा बलिङ चल्यो । पिच पनि टन भइरहेको थियो ।”

तर, साविक विजेता र त्यसमाथि विभागीय टोलीसमेत भएकाले पुलिसविरुद्ध मैदानमा उत्रिँदा आफूले दबाब महसुस गरेको उनले सुनाए । “पुलिस विरुद्ध सुरुमा प्रेसर थियो,” उनले भने, “पहिलो बल फालेपछि सबै दबाब हराएको महसुस गरेँ ।”

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काको रेखदेखमा रहेर खेल्न पाउँदा आफूलाई धेरै सहज भएको उनले सुनाए ।

“दाइहरू (पारस र ज्ञानेन्द्र) ले गेममा ‘इन्जोए’ लिनुपर्छ भन्नुभएको थियो । मैले पनि इन्जोए गर्ने प्रयास गरेँ,” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर