कोरोना बीमा रकम भुक्तानीमा किन आलटाल ? – Nepal Press

कोरोना बीमा रकम भुक्तानीमा किन आलटाल ?

तीन दिनभित्र भुक्तानी दिन मन्त्रालयले गरेको आदेशको अवज्ञा

काठमाडौं । ‘बीमा गर्न निकै सजिलो तर भुक्तानी पाउन साह्रै गाह्रो’ यो गुनासो जताततै सुनिन्छ । पछिल्लो समय कोरोना बीमा गरेकाले भुक्तानी पाउन झेलिरहेको सास्तीले उक्त भनाइलाई थप प्रमाणित गरिदिएको छ ।

कोभिड-१९ महामारी शुरू भएसँगै बीमा गराउन तँछाडमछाड गर्ने बीमा कम्पनी भुक्तानी दिने बेलामा चाहिँ कानमा तेल हालेर बसेका छन्। गत वैशाखबाट कोरोना बीमा शुरू गरिएको थियो । माघसम्म आइपुग्दा दाबी गर्नेको संख्याभन्दा आधाले मात्र बीमा भुक्तानी पाएका छन् ।

बीमा रकम भुक्तानी ढिलो गर्न थालेपछि अर्थ मन्त्रालयले यसअघि दुईपटक गरेर समयमै भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । गत कात्तिक १८ गते सात दिनभित्र दाबी भुक्तानी गर्न निर्देशन दिएकोमा निर्देशन पूर्णरूपमा पालना नभएको, दैनिक प्रगति विवरण मन्त्रालयमा नपठाएको, बीमा समितिले हटलाइन सेवा सञ्चालन नगरेको भन्दै मन्त्रालयले ३ दिनभित्र भुक्तानी दिन पत्र काटेको थियो ।

तर, सबै प्रक्रिया पूरा गरेर दाबी गर्दा पनि कहिले कागजात नपुगेको, कोरोना जाँचको रिपोर्ट सरकारी ल्याबको नभएको भन्दै एक निकाय अर्को निकायको टाउकोमा दोष थोपरेर पन्छिने गरेको पीडितहरूको गुनासो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा प्रमाणीकरणका लागि फाइलको थाक लागेको छ । बीमा समितिका अनुसार प्रमाणीकरणका लागि ईडीसीडीमा १० हजार ९ सय ७४ वटा फाइल छन् । १४ हजार १६५ ओटा फाइल पठाइएकोमा ८ हजार ४० ओटा फाइल ‘पेण्डिङ’ रहेका छन् । जसमा ६ हजार १२५ ओटा फाइल मात्र प्रमाणीकरण भएका छन् ।

कोरोना बीमासम्बन्धी कागजपत्र प्रमाणित गर्ने ईडीसीडीको फाँटमा रित्तो कुर्सीहरू ।

टेकुस्थित रहेको ईडीसीडीमा फाइलमात्र छन् त्यसलाई प्रमाणित गर्ने व्याक्तिका कुर्सी सधै खाली देखिन्छन् । शिखर इन्स्योरेन्समा गत भदौमा कोरोना बीमा दावीका लागि फाइल नम्बर ५५० दर्ता भएको थियो । भदौमा दर्ता भएपनि अहिलेसम्म बीमितले भुक्तानी पाएका छैनन् । पाँच महिनादेखि कम्पनी धाएका उनले आफ्नो फाइल कहाँ छ भन्ने पत्ता लगाउन त परै जाओस् कोहीबाट चित्तबुझ्दो जवाफ पाउन सकेका छैनन् ।

कम्पनीका अनुसार उनको फाइल बीमा समिति, स्वास्थ्य मन्त्रालय हुँदै ईडीसीडीमा पुगेको थियो । तर, उनको फाइल नत बीमा समिति गएको छ न ईडीसीडीमा नै छ । कहाँ छ त उनको फाइल ? कम्पनीलाई पनि त्यसको जानकारी नभएको एक अधिकारीले बताए । उनले गत असारमा एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरेका थिए ।

बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीका अनुसार यस्ता फाइल २५ सय वटा हराएका छन् । कोरोना बीमाको भुक्तानी नहुनुको मुख्य कारणमध्ये कागाजात प्रमाणीकरण नहुनु एक रहेको उनको दाबी छ ।

बीमा समितिका अनुसार अहिलेसम्म १७ लाख मानिसले कोरोना बीमा गरेका छन् । पुस २९ गतेसम्म ५१ हजार ७१७ जनाले कोरोना बीमा दाबी गरेका छन् । जसमा २५ हजार ३१३ जनाले २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रूपैयाँ भुक्तानी लिइसकेका छन् ।

पुल (बिमक संघ) को काम गरिरहेको शिखर इन्स्योरेन्समा कोरोना बीमाको जानकारी माग्दा एकले अर्कालाई देखाएर पन्छिए । कोरोना बीमा हेर्ने शाखामा फोन गर्दा कोरोना बीमाको कुनै जानकारी आएन ।

शिखर इन्स्योरेन्समा नै कतिजनाको दाबी परेको छ र कतिले भुक्तानी लिए भन्ने यकिन तथ्यांक छैन । नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने ‘कागाजात पत्र प्रमाणित नै भएर आउँदैन । कसरी हामीले बीमा रकम दिनु,’ उनले भने ।

कोरोना बीमाको जानकारीकै लागि अजोद इन्स्योरेन्समा फोन गर्दा त्यहाँ पनि जानकारी पाउन सकिएन ।

कोरोना बीमा सरल देखिएपनि यसको प्रक्रिया झण्झटिलो भएकाले उप-निर्देशक अधिकारी स्वीकार्छन् । उनका अनुसार बीमितले कागजात पुर्‍याए पनि निजी अस्पतालले दिने कोरोना जाँच रिपोर्टमा समस्या आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *