नेपाली फिल्मको लाइनअप रित्तो, बलिउडकै भर, १० प्रतिशत हल सँधैको लागि बन्द हुने – Nepal Press

नेपाली फिल्मको लाइनअप रित्तो, बलिउडकै भर, १० प्रतिशत हल सँधैको लागि बन्द हुने

काठमाडौं । सरकारले फिल्म प्रदर्शनलाई फुकुवा गरेपनि अझै केही समय नेपाली फिल्मको लाइनअप रित्तो हुने परिस्थिती देखिएको छ । माघ १ गतेदेखि रिलिज हुने शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ र फागुन २७ गते ‘लप्पन छप्पन २’ बाहेक नयाँ फिल्मको प्रदर्शन मिति घोषणा भएको छैन ।

झन्डै तीसवटा फिल्म निर्माण सम्पन्न भएर पनि रिलिजको तयारीमा छन् तर कसैले पनि रिलिज डेट घोषणा गरेका छैनन् । तत्काल हल खुलेपनि दर्शक आउने सम्भावना कम भएकाले निर्माता रिलिजको मनस्थितीमा नदेखिएका हुन् । अधिकांश निर्माता अझै पनि बलिउड र हलिउडका ठूला फिल्मलाई प्रतिक्षा गरेर बसिरहेका छन् । लकडाउनअघि २८ वटा फिल्मको रिलिज स्थगित भएको थियो ।

सरकारलाई हल खुलाउन माग गर्ने कतिपय निर्माताहरु अहिले भने ‘गायब’ छन् । हल खुलाएपनि प्रदर्शकसँग कुन फिल्म चलाउने भन्ने कन्टेन्ट नै छैन । विहिबार ब्यांकटेस इन्टरटेनमेन्टले दक्षिण भारतीय फिल्म ‘मास्टर’ प्रदर्शनको तयारी थालेको छ । गोपिकृष्ण मूभिजले भने ओटीटी प्लेटफर्ममा ज्याकी च्यानको भ्यानगड र सलमान खानको ‘कागज’ रिलिज गर्दैछ ।

यो पनि पढ्नूस : भाइरसले बदलेको भाष्य (फिल्म समीक्षा)

सरकारले हल खुलाएपनि झन्डै जिरो अकुपेन्सीमै फिल्म प्रदर्शन भैरहेका छन् । फिल्म हल पनि ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति छ । जसले गर्दा निर्माताहरु कम अकुपेन्सीमा ठूलो लगानीका फिल्म तत्काल रिलिज गर्नबाट पछि हटेका हुन् ।

वितरक कम्पनीहरुले लाइनअप तयार गर्न सकिरहेका छैनन् । अझै केही वितरक र निर्माता ‘पर्ख र हेर’को मुडमा छन् । बलिउडको ठूलै फिल्म रिलिज भएमात्र नेपाली फिल्म लयमा फर्कन सक्ने उनीहरुको भनाइ छ । बलिउडमा अक्षयकुमारको ‘बेलबटम’ अप्रिल २ र सलमान खान स्टारर ‘राधे : योर मस्ट वान्टेड भाइ’ मे बैशाखमा रिलिज हुनेछन् ।

रिलिजको लागि तयार भएका फिल्मको संख्या २८ छ । जसमा प्रेमगीत ३, म यस्तो गीत गाउँछु २, नीरफूल, चपली हाइट ३, लक्का जवान, माइकल अधिकारी, षट्कोण, पूर्वपश्चिम, दोख, गोर्खे, हिरो रिटन्र्स, आकाशे खेती, हिजो आजका कुरा, चिसो एस्ट्रे, जारी, पानीफोटो, दयारानी, सम्हालिन्छ कहिले मन, सुस्केरा, मन्त्र, एक, लप्पन छप्पन २ र झिँगेदाउ छन् ।

पुननिर्माण थालिएको राजधानीको पुरानोमध्येको एक चावहिलस्थित गोपिकृष्ण हल । तीनवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त थलोमा गोपिकृष्ण मल्टिप्लेक्सको निर्माण गरिने भएको छ । व्यापारिक भवनको माथि मल्टिप्लेक्स फिल्म हल बनाइने भएको छ ।

१० प्रतिशत हल सँधैको लागि बन्द हुने
हलहरुको छाता संस्था चलचित्र संघले करिब १० प्रतिशतभन्दा बढी फिल्म हल सँधैको लागि बन्द हुने जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै संघका कोषाध्यक्ष देवेन्द्र खड्गीले तत्काल सरकारले राहत उपलब्ध नगराए ३० वटा जति हल बन्द हुने जनाए । बन्द हुनसक्ने हलहरुमा अधिकांश मोफसलका छन् र केही उपत्यकाभित्रकै हुनेछन् ।

मल्टिप्लेक्स हल चाहिँ कमर्सियल व्यापारिक भवनकै एउटा हिस्सा भएकाले सिंगल हललाई जस्तो समस्या चाहिँ हुनेछैन । महामारीपछि भारत र चीनमा समेत हजारौं हलहरु सँधैका लागि बन्द हुँदैछन् । तरपनि, मुख्य मल्टिप्लेक्स क्यूएफएक्सले बीरगंज लगायतका मोफसलका सहरमा मल्टिप्लेक्स विस्तार गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर