भाइरसले बदलेको भाष्य – Nepal Press
फिल्म वर्ष समीक्षा-२०२०

भाइरसले बदलेको भाष्य

१) कूल गार्हस्थ्य उत्पादनमा २ खर्ब क्षति । १६ लाखले गुमाए रोजगारी । थपिए १२ लाख गरिब । वार्षिक ७५ करोड कारोबार गर्ने फिल्म हल नौ महिनादेखि ठप्प । २५ प्रतिशत फिल्मकर्मी पेशाबाट पलायन । ग्राफ उकालो लाग्न सक्छ । (योजना आयोगद्धारा गठित सरकारी अध्ययन कार्यदलको प्रतिवेदन २०७६/७७)

२)हलिउड स्टुडियो वार्नर ब्रोजद्धारा सन् २०२१ मा सबै १७ ठूला फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा । युनिभर्सल र डिज्नेद्धारा फिल्म पोस्टपोन्ड । फिल्म वितरणमा ‘हाइव्रिड’ वितरण प्रणालीको सुरुआत । एउटा ‘अभूतपूर्व फड्को’ । (एपी –एसोसिएटेड प्रेस)

३)चीनका कूल १२ हजार फिल्म हलमध्ये ५ हजार सँधैका लागि बन्द । चिनियाँ फिल्मले वर्ष २०२० मा ३० बिलियन युयानको क्षति व्योहोर्नुपर्ने । रिलिज पेन्डिङ भएका फिल्मबाट बलिउडको १.२ बिलियन डलर जोखिममा । खुलेका कतिपय हलहरु दर्शक अभावमा बन्द हुँदै (बीबीसी वर्ल्ड)

धन्यवाद ‘कोभिड–१९’ महामारीलाई जसले विश्व फिल्मकै पटकथा पुनर्लेखन गरिदियो ! त्यो ‘प्यान्डेमिक’ जसले बक्सअफिस शुन्यमा झरेको मात्र छैन, विश्व फिल्मको ‘न्यारेटिभ’मा अभूतपूर्व बदलावको श्रीगणेश भयो । पुँजीवादले सिर्जना गरेको मनोरञ्जनको ‘इको–सिस्टम’ टाइटानिक जहाजजस्तै डुब्न थालेको छ । हुनसक्छ यही कारण ‘प्यान्डेमिक’लाई अक्सफोर्ड डिस्नेरीले गत साता ‘वर्ष शब्द २०२०’ घोषणा गरिदियो ।

संसारले बाँचिरहेको समय एउटै छ अहिले । ५५ वर्षको नेपाली फिल्म, सय वर्षको बलिउड र १ सय १५ वर्षे हलिउडले एउटै पीडा बाँचिरहेका छन् । नेपाल र बलिउड पहिलोपटक संकटको सामना गर्दैछन् । हलिउड दोस्रोपटक महामारी झेल्दैछ । पहिले स्पेनिस फ्लु र अहिले कोभिड–१९ । सन् १९१८, अक्टोबर १० मा न्यूयोर्क टाइम्सको हेडलाइन थियो –‘इन्फ्लुएन्जा समाप्ती नभएसम्म नयाँ फिल्म रिलिज हुनेछैन ।’ ठ्याक्कै, सयवर्षपछि दुरुस्तै हेडलाइन राख्दा फरक पर्दैन । निष्कर्ष के हो भने : भाइरसले विश्व फिल्मकै आत्मा र आवरणको मूल्यमा परिवर्तन ल्याइदियो ।

वर्ष २०२१ लाई लिएर नेपाली फिल्म वृत्तमा तीनखाले अवधारणा चर्चामा छन् । पहिलो –अबको फिल्म परम्परागत लयमा फर्किनेछ । दोस्रो –फिल्म यसअघि नै संकटमा थियो र भाइरसले धक्का मात्र दिएको हो । तेस्रो : फिल्मको पारिस्थितिकिय प्रणाली (इको–सिस्टम) पुरै बदलिनेछ । यी तीन प्रक्षेपणमध्ये बलियो मत चाहिँ दोस्रोलाई मान्न सकिन्छ । किनभने, महामारीले घरेलु फिल्मको अर्थ–राजनीतिक ल्यान्डस्केपमा उथलपुथल ल्याएको छैन । न त प्याराडाइम सिफ्ट हुनेछ न त परम्पराको निरन्तरता । किनभने नेपाली फिल्मको उत्पादन र वितरण प्रणाली वर्णशंकर हो ।

भाइरस संकटको गणित :
बन्दाबन्दी (२०७६ चैत ११)पछि चलचित्र विकास बोर्डले संकलन गरेको तथ्यांकअनुसार १२ हजारले फिल्म क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाएका थिए । दुईसय ५ पर्दा थिए र हलका कर्मचारी संख्या ३ हजार ७५ करिब थियो । निर्माता संघका अनुसार साढे २ लाख रोजिरोटीका लागि फिल्म क्षेत्रमै आश्रित थिए । क्यूएफएक्सका २७ पर्दामा मात्र कर्मचारी संख्या पाँचसय बढी थियो । चलचित्र प्राविधिक संघ (नेफ्टा)का अनुसार ३ हजार पाँचसय प्राविधिकको जीवन यही क्षेत्रबाट गुजारा भइरहेको थियो । यीमध्ये २० प्रतिशत प्राविधिक सँधैका लागि पेशाबाट पलायन भैसके । एउटा प्राविधिक उत्पादन गर्न पाँचवर्ष लाग्छ । पलायन हुनेको आँकडा बढ्नेक्रममा छ ।

लकडाउनअघि आठ फिल्म छायांकनमा थिए । २१ फिल्म रिलिजलाई रेडी । चार करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला फिल्मको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ ।

निर्माण–प्रदर्शन–वितरणको चक्र खलबलिँदा नेपाली फिल्म तीनवर्ष पछाडि धकेलिएको छ । दैनिक करोड घाटा खाइरहेको स्थिती छ अहिले । सर्वाधिक दबाब चाहिँ प्रदर्शन प्रणालीमाथि छ । झन्डै ९ अर्ब बराबरको बैकिङ ऋण र चर्को ब्याज यतिबेला प्रदर्शकको टाउकोमाथि छ । एकल पर्दाको अग्रणी गोपिकृष्ण हललाई महिनामा घटीमा ३५ लाख रुपैयाँ घाटा हुन्छ । हलका ७० कर्मचारीलाई मात्र मासिक १५ लाख खर्च हुन्छ । यो सिद्धान्तअनुसार अबको २/३ वर्ष नाफा हुँदैन ।

भाइरोलोजीले मात्र यो नाफा–घाटालाई परिभाषित गर्नेछैन बरु, सामाजिक–आर्थिक–सांस्कृतिक–राजनीतिक–मनोवैज्ञानिक श्रृंखलाभित्र नेपाली फिल्मको निकट अतित लुकेको छ ।

एउटा फिल्मले दिने अस्थायी रोजगारी कति होला ? प्रि–प्रोडक्सन चरणमा २०, छायांकनमा ५०, पोस्ट–प्रोडक्सनमा २०, रिलिज पूर्वसन्ध्यामा २०, वितरणमा आठ र अन्य काममा १५ जना । चार फिल्म बनेन भनेपनि एकवर्षमा कम्तीमा सयजना प्रत्यक्ष बेरोजगार हुन्छन् । यो त भयो एउटा फिल्मले दिने प्रत्यक्ष रोजगारी । अनौपचारिक रोजगारी त कति गुम्छ– गुम्छ । नेफ्टाका अनुसार गतवर्ष सामान्य अवस्थामै पनि २० प्रतिशत प्राविधिकले काम गुमाएका थिए । यी नीर्जिव अंकका पछाडि लुकेका सजिव मान्छेको व्यथाको श्रृंखला पीडादायी छ ।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार लकडाउनको ६ महिनासम्म बलिउडले १३ सय करोड भारु गुमायो । हलिउड–रिपोर्टर म्यागजिनका अनुसार अमेरिकी फिल्म उद्योगले सोही अवधिसम्म ५ विलियन अमेरिकी डलर क्षति व्योह¥यो । हलिउडमा १४ हजार प्राविधिकले रोजगारी गुमाए । वार्नर ब्रोज स्टुडियोको कदम किनपनि तथ्यसंगत लाग्छ भने, राष्ट्रपतिय चुनावपछि राजनीतिक रुपमा विभाजित अमेरिकामा भाइरसको संक्रमण बढेको बढ्यै छ र त्यसलाई निमिट्यान्न पार्न अझै वर्ष लाग्छ सक्छ ।

यी त भए भाइरस र लकडाउनको तत्कालिन असर र प्रभावको गणितिय लेखाजोखा । हामी यहाँ वैश्विक महामारीको चरित्र र पटाक्षेपको चर्चा पनि सँगै गर्नु जरुरी छ जसले नेपाली फिल्मको भविष्य निर्धारण गर्नेछ । के कोभिडको कालो बादलमा चाँदीको घेरा खोज्न सकिएला ? पक्कै पनि हाम्रा लागि बिलियन डलरको प्रश्न हो यो । भाइरसको खेला कहिले सकिन्छ भन्नेबारेमा भयंकर अनिश्चितता छ । ‘एन्ड–गेम’ के हो ? विश्वसनिय उपचार विधि (खोप)नआइ पुरानै अवस्थामा फर्कन सकिन्न । हुनसक्छ यही कारण फेसबुक र गुगलले सन् २०२२ सम्मका सबै ठूला कार्यक्रम रद्द गरिदिए । यसको अर्थ –वर्ष २०२१ पनि चिकित्सा र आर्थिक दुबै दृष्टिले कोभिडबारे अन्यौलग्रस्त हुनेछ ।

निर्देशक स्पाइक लीले कोरोनालाई ‘बोक्सी’ भन्दै खोप नबनेसम्म फिल्म हलसम्म नजाने घोषणा गरिदिए । उनको यो भनाइमा आममान्छेको मुड लुकेको छ । अभिनेता राजेश हमाल पनि तत्काल फिल्म हल खोल्न नहुने पक्षमा छन् । संक्रमणको स्थिती हेरेर मात्र हल खोल्नुपर्ने तर्कसँग हमाल र स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सहमत छन् । योजना आयोगको उपरोक्त तथ्यांक केलाउँदा पनि गरिबीको रेखामुनी धकेलिएको १५ लाख जनसंख्याको प्राथमिकता फिल्म नहुनसक्छ ।

बादलमा चाँदीको घेरा :
ठूला संकटले ठूलै अवसर लिएर आउँछन् जस्तो कोभिड–१९ महामारी । बन्दाबन्दीमा नेपाली दर्शकले इन्टरनेटबाटै संसारका धेरै थरी फिल्म अवलोकन गर्ने अवसर पाए । कहिल्यै फिल्म नहेर्ने दर्शकले समेत टाइमलाइनमा फिल्म थ्योरीलाई परिभाषित गरे । लकडाउनले मनोरञ्जनको माग बढायो र औचित्य पुष्टि गरिदियो । हलमा फ्लप फिल्म, इन्टरनेटमा सुपरहिट भए । कोभिडले भुइँमान्छेमा सिनेम्याटिक लिट्रेसी र आलोचनात्मक चेतना विकास गरिदियो ।

हामीले देख्यौं : लकडाउनमा हल बन्द हुँदा कसरी अमेजन प्राइम, डिज्ने प्लस, एप्पल, हुलु र नेटफ्ल्क्सिजस्ता स्ट्रिमिङ साइटमार्फत दर्शकले फिल्म हेरेर मजा लिए । नेपालमै डिस होम, आइफिल्क्स, नेपफिल्क्स र युटयुवमार्फत नयाँ–नयाँ फिल्म चले । बक्सअफिस शुन्यमा झर्दा कसरी स्ट्रिमिङ र एप्स सेवा मौलाए भन्ने प्रत्यक्ष प्रमाण लकडाउनको कालखण्ड हो । यी आयामको सीधा अर्थ हुन्छ : स्ट्रिमिङ सेवाले फिल्म हेर्ने आनीबानी बदल्दैछन् र डिजिटल प्रभुत्व स्थापित हुने क्रममा छ । कोरोना भाइरस पछाडि हलसम्म दर्शकीय उपस्थितीमा हुने प्रभाव विश्व फिल्मकै लागि एउटा महत्वपूर्ण केस स्टडी बन्न सक्छ ।

बन्दाबन्दीमा फिल्मकर्मी घरभित्रै थुनिए । उनीहरुको दिनचर्या घरभित्रै बित्यो । संकटमा परिवारको मूल्य उनीहरुले महसुस गरे । कतिले खाना पकाउन सिके । कतिले योग साधना सिके । कतिले बगैंचा गोडमेल गरे । कतिले पत्नी र केटाकेटीसँग भावना साटे । एउटा मान्छेभित्र आएको नीजि परिवर्तन हो यो । यी भोगाइ कथावाचन, पटकथा लेखन, चरित्र चित्रण, द्धन्द्ध स्थापना र मुड विकासमा काम लाग्नेछन् । भन्नुको अर्थ, अब नेपाली फिल्ममा जनराको विकास राम्रैसँग हुनेवाला छ ।

महामारीपछि सामाजिक विश्रृंखलता सिर्जना हुनसक्छ । किन्से इन्स्टिच्युटको शोध भन्छ : रिलेसनसिपमा नभएकाहरुले आफूलाई ‘लोनली’ महसुस गरिरहेका छन् यस समय । जसले गर्दा रिलेसनसिप क्राइसिस पैदा हुनेछ । डिभोर्स र नयाँ सम्बन्धको ग्राफ बढ्नेछ । यो अध्ययनको प्रभाव फिल्मको चरित्र चित्रणमा प्रष्ट देखिनेछ । जसरी दोस्रो विश्वयुद्धको त्रासदीपछि अमेरिकीलाई भुलाउन हलिउडले ‘इस्केप्टिक’ (पलायनवादी) फिल्मको सहारा लिनुपरेको थियो । लगत्तै, इटाली र फ्रान्समा ‘न्यू वेभ’ सिर्जना भएको थियो ।

लयमा फर्कन चुनौति :
भाइरसको कहर नभएको भए निर्देशक एवं चिकित्सा मानवशाष्त्री डा. सचिन घिमिरे आफ्ना दुई फिल्ममा व्यस्त हुन्थे । रिलिजको तयारीमा रहेको उनी लिखित फिल्म ‘नीरफूल’ लकडाउन घोषणासँगै अनिश्चित बन्यो । फिल्म र भाइरसको चरित्रलाई नजिकबाट नियालिरहेका उनी कोभिड–१९ अगाडिकै अवस्थामा नेपाली फिल्म फर्कन चुनौति रहेको बताउँछन् । ‘कोभिड अगाडि नै फिल्ममा निकै बेथिती थियो । त्यही अवस्थामा पुग्न पनि कठिन छ’ उनको मूल्यांकन छ, ‘वर्ष २०२० ले हामीलाई निरुत्साहित गरेको छ । लगानी रोकिएको छ तर, चलचित्र विकास बोर्डले अघि बढाएका नीतिगत सुधारले आशा पलाएको छ ।’

बोर्डले यतिबेला राम्रा कथामा सरकारले लगानी गर्ने र विदेशमा आयोजना हुने फेस्टिभलमा फिल्म लैजान पैसा दिने तयारी गरेको छ । घिमिरेलाई लाग्छ, संसारको राजनीतिक अर्थशाष्त्रमा व्यापक परिवर्तन नहुने भएकाले फिल्ममा पनि ठूलै बदलाव आउँदैन । ‘जनरामा परिवर्तन आउँदैन । प्रि–प्रोडक्सन पनि तत्काल सुरु हुँदैन । मान्छेहरु लगानी गर्न डराएका छन्’ घिमिरे भन्छन्, ‘प्रभावकारी भ्याक्सिन नआएसम्म अवस्थालाई नर्मल हुने मान्न सकिँदैन ।’

स्टारडमको पुर्नव्याख्या :
‘सेलेव्रिटी कल्चर इज बर्निङ’ अर्थात सेलेव्रिटी संस्कृतिमा आइरहेको ह्रास शीर्षकको अमान्डा हेस लिखित आलेख अहिले चर्चामा छ । न्यूयोर्क टाइम्समा प्रकाशित आलेखमा उनले मार्भलका सुपरहिरो भान्सामा पसेर पाककलाको ज्ञान बाँड्दै गर्दा कसरी चिकित्सक र नर्सले फ्रन्टलाइनमा उभिएर संसारको रक्षा गर्दैछन् भन्ने चर्चा गरेकी छन् । उनी लेख्छिन् : सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप मेटियो । भन्नुको अर्थ, के अब गोपिकृष्ण हलको बाल्कोनीबाट अनमोल केसीलाई काँधमा बोकेर खिचिएका तस्विर देख्न पाइएला ?

बरु टीकटक एपले धेरै किशोर–किशोरीलाई सेलिव्रेटीको रुपमा वर्गोत्थान गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तन्नेरी पुस्ताको लोकप्रिय प्लेटफर्ममा डेब्यु गरेका छन् । लाग्छ, कोभिड संकटपछि स्टारडमलाई व्याख्या गर्ने सोचमा परिवर्तन आउन सक्छ । जस्तै, कोभिड–१९ ले मार्भल सुपरहिरो र थानोसजस्ता सुपरभिलेनको उपस्थितीमै प्रश्नचिन्ह लगाइदिएको पक्का हो ।

कोभिड संकटकै बीच भारतमा बम्बैया फिल्ममाथि वंशवाद र ड्रग्समाथि विमर्श चल्यो । सुशान्तसिंह राजपुतको मृत्युमा कसरी बलिउड डाइनेस्टी जिम्मेवार छ र कसरी मुम्बइले युवा सपनाको हत्या गर्दैछ भन्ने डिस्कोर्स चल्यो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त बलिउडलाई आफ्नो राज्यमा सार्ने अभियान चलाएका छन् फिल्म सिटी निर्माणमार्फत । यसको बाछिटा नेपालमा ‘महानायक’ इस्युमा प्रष्ट देखियो ।

फिल्म(हरु) हेर्नेछैनन्, फिल्म हेर्नेछन् :
औषतमा एउटा मान्छेले एक वर्षमा हलमा पुगेर चार फिल्म हेर्छ । कोभिड संकट सुरु भएपछि उत्पन्न आर्थिक मन्दीको प्रभाव उसको क्रयशक्तिमा परेको छ । जसले दर्शकलाई रिलिज फिल्ममध्ये केही मात्र हेर्नको लागि विकल्प उपलब्ध हुनेछ । यसो हुनु भनेको सीमित र बिग बजेटका फिल्म मात्र दर्शकको प्राथमिकतामा पर्नु हो । आम्दानीमा कमी आउनु हो । निर्माणमा उछाल लगानी गर्ने स्थिती पनि छैन । लाखौं पारिश्रमिक लिने ‘स्टार’को रेट न्यून विन्दुमा खुम्चनसक्छ । डिजिटल प्लेटफर्मको रुपमा रहेका डीस होम, केबल टिभि र युट्युव च्यानल निर्मातालाई संकटको साथी बन्नसक्छन् ।

क्षतिको आयतनका हिसाबले मेनस्ट्रिममा भन्दा स्वतन्त्र र कम बजेटका इन्डाइ–फिल्मलाई कोभिड असर कम परेको छ । सनडान्स, कान्स, टोरन्टो, भेनिस, ट्राइबेका, मुम्बइ, बुसान, बर्लिन लगायत विश्वका ठूला फिल्म फेस्टिभल भर्चुअल बनिसके । नेपालमा समेत किम्फ फेस्टिभलले भर्चुअल्ली फिल्म देखाउँदैछ । अस्करले कोभिडकै कारण अप्रिल २०२१ लाई नयाँ तिथि तय गरिसक्यो । अब हलमा मात्र हैन, फिल्मजन्य भीडभाड प्रेसमिट, अवार्ड र फेस्टिभल पनि डिजिटलमा नगै सुखै छैन ।

वेभ सिरिज, स्ट्रिमिङ र इन्डिपेन्डेन्ट फिल्मको लहर आउनेछ र यसले हलमा फिल्म हेर्ने परम्परागत तौरतरिकालाई थ्रेट पैदा गर्न सक्छ । आमसंचार विज्ञ म्याक लुहानले भनेजस्तो ‘माध्यम नै सन्देश हो’ भन्ने टाइपले मात्र पनि नहोला । कन्टेन्ट प्रमुख हुनेछन् अब । कोभिड युगपछि सिनेम्याटोग्राफरले चुम्बन, बेडसिन, डेटिङ र दुईसय जनाको कोरस जत्थाको डान्स कोरियोग्राफीमा कटौती गर्न सक्छन् । नयाँ कोणमा दृश्य कम्पोज हुनेछन्, भीएफएक्स र ग्राफिक्सजस्ता प्रविधि प्रयोगमा वृद्धि हुनेछ ।

स्पर्श भएर हुने र सामाजिक दूरी बनाउनुपर्ने दृश्यका डिजाइन नेपाली फिल्मको एलिमेन्ट बन्नेछन् । पुतलीसडक र बागबजारका भित्तामा हैन, सामाजिक संजालका भित्तामा पोस्टर र मार्केटिङका टुल्ज पोतिनेछन् । प्रविधिले फिल्म निर्माणमा प्रभुत्व जमाउँदा परम्परागत शैलीमा पोख्त प्राविधिक र जनशक्तिको बहिर्गमन हुनसक्छ ।

यसमा अर्को अवधारणा पनि छ : लकडाउनले गर्दा हलको कोक–पपकर्न र माहौल मिस गर्ने जमात पनि होलान् । हल खुल्ने वित्तिकै फस्ट–डे फस्ट–सो फिल्म हेर्ने मुड बनाएका पनि होलान् । अँध्यारो हलमा अपरिचितसँग कुममा कुम ठोक्दै फिल्म हेर्ने इच्छा भएका पनि होलान् । तर, स्थितीलाई कोभिडले ब्र्रेक गरिदिएको चाहिँ अवश्य हो । मनोरञ्जक हुनु भनेको सामाजिक हुनु हो । मनोरञ्जन गर्ने थलोमै सामाजिक दूरी पालना गर्दाको नयाँपन अझै धेरै वर्षसम्म कायमै रहने देखिन्छ ।

२०२१ का चुनौति :
कोभिडले ल्याएको क्षतिको म्याग्निच्युड केही वर्षसम्म पक्का रहनेछ जबसम्म खोप बन्दैन । जीवनलाई लय र दर्शकलाई हलमा फर्काउनुपर्ने चुनौति छ । यसका लागि राम्रा फिल्म बनाएर दर्शकलाई कमब्याक तुल्याउन सक्नुपर्छ । दिग्दार भएको दर्शकीय मुडलाई ठीक पार्ने थेरापीको भूमिका फिल्मले खेल्न सक्नुपर्छ । राजनीतिमा एउटा भनाइ छ : होप इज नट अ स्ट्राटेजी । फगत आशा मात्र राख्ने कुरा सुविचारित रणनीति हुनसक्दैन । यसका लागि या त भ्याक्सिन तयार हुनैपर्छ या त भाइरससँगै जीवन जिउने अनुशासन हामीमा विकास हुनुपर्छ ।

भारतीय लेखिका अरुन्धती रोयले लेखेजस्तै अहिलेको समय नयाँ विश्व भर्सेस पुरानो विश्व हो । इतिहासमा महाव्याधिहरुले आफ्नो विगतलाई भत्काएर नयाँ भविष्यको कल्पना गर्न बाध्य तुल्याएका छन् । यो संकट पनि तिनीहरुभन्दा पृथक छैन । अब फिक्सन सुपरहिरो हैन, सेतो एप्रोन पहिरिएका डाक्टर र नर्स सुपरहिरो नेपाली फिल्ममा चित्रण हुनेछन् । व्याख्या बदलिनेछन् र फिल्मले अझै मानवीय सेवा गर्नेछन् ।

स्टानफर्ड विश्वविद्यालयमा गतमहिना आयोजित एउटा भर्चुअल छलफल सत्रको निष्कर्ष थियो जुन नेपालको लागि सान्दर्भिक छ । नेपाली समाज र फिल्मका लागि त झनै सान्दर्भिक । पहिलो : भविष्यको अन्यौल सबैतिर छ । दोस्रो : केही वर्ष यस्तै रहनसक्छ र तेस्रो : आउने साल होइन, ५/१० वर्ष पछाडिलाई सोच्न थालिहाले हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *