दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार – Nepal Press

दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार

गैरआवासीय नेपाली सङ्घ  (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घको सक्रियतामा  विदेशमा समस्यामा परेका नेपाली कामदारलाई उद्धार गरिएको हो ।  गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशका विभिन्न देशमा नौ हजार ६५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पिसिआर टेष्ट, तालीम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको छ ।

सङ्घले साउदी, मलेसिया, कतार, (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

हालसम्म गैरआवासीय नेपाली सङ्घले ८६२ जनालाई काठमाडौँबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोगसमेत गरेको छ । सङ्घले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अझै सतर्कता अपनाऔँ नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनले स्पष्ट पारे ।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उनले जोखिम घट्यो भन्ने बेला नभएको बताए । बेलायतलगायतका युरोपेली मुलुकमा फैलिएको सङ्क्रमणका कारण नेपाली पनि अछुतो नरहेको भन्दै उनले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । ।
कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् ।

यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर