अन्य देशमा रजिस्टर भएका ‘लोडेड जिमेल’ अवैध रूपमा बेच्दै दराज – Nepal Press

अन्य देशमा रजिस्टर भएका ‘लोडेड जिमेल’ अवैध रूपमा बेच्दै दराज

सरकार भन्छ–दराजले अवैध काम गर्दैछ, छानबिनपछि कारबाही गर्छौं

काठमाडौं । पछिल्लो समय ई–कमर्श कम्पनीहरूले विस्तारै नेपालीको ‘सपिङ ह्याभिट’ परिवर्तन गर्दैछन् । देशका सबै क्षेत्रका मानिसको उत्तिकै पहुँच नभए पनि जो इन्टरनेटको पहुँचमा छन्, उनीहरूले हाट–बजार र पसल जाने क्रम निकै घटेको छ ।

अनलाइन सपिङ गर्दा समय बचत, सामान भने जस्तो नभए फिर्ता र कोरोना महामारीका बेला बाहिर निस्कनै नपर्ने । यति धेरै सुविधा दिइरहेका कम्पनीले गैर कानूनी सामानको बिक्री वितरण, प्रचारप्रसार र यसको प्रयोगका लागि गैरकानूनी तौरतरिका सिकाउन मिल्छ र ?

नेपालीलाई अनलाइन सपिङको ‘क, ख, ग र घ’ सिकाउने कम्पनी हो, दराज । तर, पछिल्लो समय दराजले नेपालमा उपलब्ध नभएका सामग्रीहरूको बिक्री मात्रै गरिरहेको छैन, अन्य कुनै देशमा रजिस्टर भएका र वैदेशिक मुद्रा डिपोजिट भएका ई–मेल अकाउन्टहरूसमेत बिक्री गरिरहेको पाइएको छ ।

अन्य देशका नागरिकको व्यक्तिगत विवरणबाट रजिस्टर गरिएका गुगल अकाउन्टहरूको बिक्री’ सुन्दै आश्चर्य लाग्दो । त्यतिमात्रै नभएर दराजको वेबसाइटमा भएका त्यस्ता विज्ञापनमा भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग, अन्य देशमा रजिस्टर भएको अकाउन्ट प्रदान गरिने र निश्चित वैदेशिक मुद्रा उपलब्ध हुने जस्ता विज्ञापन र सूचनासमेत राखिएको पाइन्छ ।

नेटफ्लिक्स र अमेजन प्राइम भिडियो जस्ता ओटिटीको अवैध गिफ्टकार्डको अवैध व्यापार गरिरहेको दराजले आफ्नो प्लेटफर्मबाट विदेशबाट रजिस्टर भएका अकाउन्टहरू घर–घरमा पुर्‍याइरहेको छ । जुन गैरकानूनी तरिकाले मात्रै चलाउन सकिन्छ ।

नेपालमा गुगलको कुनै कार्यालय छैन, न त यसले कुनै पनि माध्यमबाट पैसा लिएर सेवा दिने व्यवस्था गरेको छ । तर, पछिल्लो समय गैरकानूनी माध्यमबाट विदेश पैसा पठाएर उतै रजिस्टर गरिएका लोडेड गुगल वा जिमेल अकाउन्टहरूको नेपालमा बिक्री गर्नुले दराज आफ्नो जिम्मेवारीबाट भागिरहेको प्रष्ट पार्छ ।

के हो लोडेड जिमेल ?

लोडेड जिमेल भन्नाले पहिल्यै निश्चित पैसा डिपोजिट भएका गुगल अकाउन्टहरू बुझिन्छ । गुगलले आफ्नो प्लेटफर्ममा धेरै निःशुल्क एपहरू राखेको छ । तर, त्यहाँ पैसा तिरेर किन्न मिल्ने एपहरू पनि धेरै छन् ।

नेपालबाट सोझै गुगललाई पैसा पठाउने कानूनी आधार हालसम्म नभएकाले ती सेवा नेपालीले पाएका छैनन् । तर, दराजले आफ्नो प्लेटफर्मबाट बिक्री गरिरहेका लोडेड जिमेल अकाउन्टको माध्यम नेपालीले अपनाउन थालेका छन् ।

यसरी कुनै पनि अन्य देशमा रजिस्टर भएका अकाउन्ट नेपालीसँग पैसा लिएर बिक्री गर्नु कानूनको उल्लंघन गर्नु हो । त्यतिमात्रै नभएर नेपालबाट सोझै कारोबार नहुने भएकाले ‘थर्डपार्टी’ देशको प्रयोग हुने भएकाले यसले हुन्डी र अन्य गैरकानूनी माध्यमबाट विदेश पैसा जाने सम्भावना पनि उत्तिकै छ ।

सरकार भन्छ–गैरकानूनी

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अन्य देशबाट रजिस्टर भएर आएका कुनै कानूनी दायरामा नदेखिएका सामानको बिक्री वितरण गर्न नपाइने बताए ।

‘हामीले दराजलाई विभिन्न विषयमा धेरै पटक कारबाही गरिसकेका छौं’ उनले भने, ‘हामी यसबारे छानबिन गरेर आवश्यक कारबाही गर्छौं ।’

यसै कार्यमा संलग्न एक जानकारले विदेशमा बस्ने साथीभाइ तथा आफन्तलाई प्रयोग गरेर यो कार्य गरिरहेको जानकारी दिए ।

‘यदि चाहिन्छ भने हामीसँग किन्नु, विदेशमा साथी भए पनि गाह्रो छ’ उनले भने, ‘नेपालबाट हुन्डी वा डिजिटल पेमेन्ट गेटवेबाट पनि मिल्छ ।’ यसबाट अवैध बाटो भएर कति पैसा विदेशिंदैछ ? भन्ने कुरा स्पष्ट देखिन्छ ।

यस्तो कार्यका लागि दराजले प्लेटफर्म उपलब्ध गराउँदा राजस्व छली र अवैध कार्यमा प्रत्यक्ष बढावा पुग्ने स्पष्ट छ ।

आफ्नो प्लेटफर्ममा के भइरहेको छ भन्ने कुराको जानकारी हुनुपर्ने जानकारहरू बताउँछन् । ‘कुनै देशमा उपलब्ध नभएको कुराको बिक्री वितरण गर्नु कानूनको उल्लंघन गर्नु हो । दराजलाई आफ्नो प्लेटफर्ममा के भइरहेको छ भन्ने जानकारी हुनुपर्छ’ अधिवक्ता रामहरि नेपाल भन्छन्, ‘नेपालमा मापदण्ड पूरा गरेर कम्पनी दर्ता गरेको छ भने मात्रै त्यो सेवा खरिद वा बिक्री गर्न पाइन्छ । तर, अन्य देशमा रजिस्टर भएका अकाउन्टहरू, त्यसमाथि नेपालमा गुगलले उपलब्ध नै नगराएको सेवा बिक्री गर्नु अपराध हो ।’

आफ्नो प्लेटफर्मबाट गलत कार्य भइरहेकोबारे दराज पनि जानकार छ । यसबारे प्रतिक्रिया लिन खोज्दा दराजकी मार्केटिङ चिफ सलिना नकर्मी सम्पर्कमा आउन चाहिनन् । तर, दराजको आधिकारिक फेसबुक पेजमा म्यासेज गर्दा कम्पनीको वेबसाइटमा ‘उपलब्ध सामग्रीहरू कम्पनीले भेरिफाइ गरेपछि मात्रै डिस्प्ले हुने’ जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर