ताजा जनादेश नै अबको निकास: दीपक बोहोरा – Nepal Press

ताजा जनादेश नै अबको निकास: दीपक बोहोरा

‘विप्लबदेखि ज्ञानेन्द्र अटाउने ठाउँ बनाऔं’

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले अदालतको निर्णय आफूहरुले स्वीकार गरेर जाने बताएका छन् ।

संसद विघटन गर्नु असंवैधानिक भए पनि अदालतले गरेको निर्णय पार्टीले अंगीकार गरेर अगाडि बढ्ने उनले बताए ।

लुम्बिनी प्रेस क्लबले बिहीबार रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता बोहराले संसद पुनर्स्थापना भए पनि फेरि राजनीतिक फोहोरी खेल हुने भन्दै मुलुक जसरी पनि अस्थिरतातर्फ धकेलिएको बताए ।

संसद पुनर्स्थापना नभए आफूहरु चुनावमा जाने र निर्वाचन आयोग पनि चुनाव गर्न तयार रहेको जनाउँदै नेता बोहराले प्रधानमन्त्री चुनाव गर्न सकारात्मक रहेको जनाए ।

अहिलेको अवस्थामा संसद पुनर्स्थापना समस्याको समाधान नभएको जनाउँदै उनले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । उनले गोलमेच सम्मेलन गरी विप्लवदेखि सबैलाई एकै ठाउँमा ल्याएर अहिले देखिएको संकटको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।

वरिष्ठ नेता बोहराले जनमत संग्रह गर्ने हो भने हिन्दू राज्य र राजाको पक्षमा प्रष्ट बहुमत आउने पनि दाबी गरे । मुलुकमा अब लोकतान्त्रिक राजाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

हिजो गणतन्त्रविरुद्धमा नारा नलागेको र अहिले त्यसविरुद्ध जनमत बढिरहेको बताउँदै बोहराले सबैको माग लोकतान्त्रिक राजा र सनातन हिन्दू धर्म नै भएको जिकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर