पत्रकारदेखि नेतासम्म ‘मपाइँ’को शिकार – Nepal Press

पत्रकारदेखि नेतासम्म ‘मपाइँ’को शिकार

हामी अब हामी रहेनौं, मपाइँमा रूपान्तरित भएका छौं । सामूहिकता र हाम्रो भन्ने शब्द व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि मात्र प्रयोग हुन पुगेको छ ।

सिद्धान्ततः समाज विकासको नेतृत्व एक व्यक्तिबाट शुरू हुन्छ । तर यसलाई सार्थक बनाउन समाजका हरेक व्यक्तिको भूमिका अहं हुने गर्दछ । हिजोका दिनहरूमा हामी र सामूहिकताले काम गरेको थियो । परिवार, समुदाय र समाजले जस–अपजस दुवैको जिम्मेवारी लिन्थ्यो । अहिले जस सबै व्यक्तिमा केन्द्रित हुने गरेको छ । अपजस समूहलाई लगाएर व्यक्ति उम्कने गरेका छन् । समाज परिवर्तन र विकासको बाधक यही मपाइँवाद हो ।

विद्यमान देशको राजनीतिक अस्थिरता मपाइँको ज्वलन्त प्रमाण हो । अहिले देशका राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकारदेखि कर्मचारीलगायत हरेक नागरिक यही मपाइँको शिकार भएका छन् । हरेक व्यक्ति आफ्नो दायित्व र जिम्मेवारी बाहेकका अन्य सबै विषयका विज्ञ भएर सामाजिक संजालमा छताछुल्ल भएका छन् । सबैमा एउटै कुरामा समानता देखिन्छ त्यो हो, मपाइँ । म के हुँ र मेरो दायित्व के हो त्यो पूरा गर्न कोही तयार छैन तर अरू सबैको लागि सल्लाह दिन तँछाडमछाड गरिरहेका छन् ।

जबसम्म हामी संस्थागत भन्ने भावनालाई आत्मसात् गर्न सक्दैनौं, जस तथा अपजसलाई संस्थागत रूपमा स्वीकार्न, संस्कृतिको विकास गर्न सक्दैनौं त्यसबेलासम्म संस्थागत अपनत्व रहँदैन । यहाँ मपाइँ केन्द्रविन्दु भइरहनेछ । व्यक्ति र सदस्यहरू त्यही मपाइँलाई प्रश्रय दिंदै उसैको फेरो समाएर रमाउने गर्छन् ।

उनै मपाइँवादीहरूलाई आफ्नो रोलमोडल बनाउन पत्रकार, नागरिक समाजदेखि विरोधी पक्ष वा समर्थकहरू लागिपरेका छन् । उनीहरूको प्रशंसामा होस् वा विरोधका नाममा उनीहरूकै प्रचारप्रसारमा तल्लीन मात्र होइन उनीहरूको पदचाप पछ्याइरहेका छन् । हरेक संचार गृह र बुद्धिजीवीहरू मपाइँवादीहरूको मपाइँत्व बढाउन लागिपरेका छन् । यसैलाई थप मलजल गराउन विरोध वा समर्थनका नाममा सामाजिक संजालमार्फत उनीहरू नै आँखा चिम्लेर लागिरहेका छन् । यस्ता कार्यले मपाइँवादीहरूलाई थप मपाइँत्व प्रस्तुत गर्न बल पुर्याउँदै आएको छ ।

व्यक्ति जब सामूहिकतालाई तिलाञ्जली दिएर ‘म’मा केन्द्रित हुन्छ तब उसको अधोगति प्रारम्भ भएको विश्व इतिहास प्रशस्त छन् । आजका दिनमा हामीले देशका नेता भनिएका व्यक्तिहरूदेखि बुद्धिजीवी, पत्रकार, वकिल, पूर्व कर्मचारी र नागरिक समाजका हरेकमा सामूहिकता सकिंदै गरेको देखेका छौं । यसले नेपाललाई अधोगतितिर धकेलिरहेको छ । हरेकले अरूलाई सुझाव दिइरहँदा उनीहरूमा मपाइँत्व स्पष्ट झल्कन्छ । ऊ सबै विषयमा सर्वज्ञानी देखिन्छ । अरू सबैलाई अबुझ, मूर्ख भन्न भ्याउँछ । यो सोचले अब हामीलाई कहाँ पु¥याउने हो, यो अहिलेको प्रमुख मुद्दा हो ।

प्रधानमन्त्री सर्वज्ञानी, अहिलेको सबै परिवर्तन उहाँ एक्लैको देन हो । प्रचण्ड एक्लैको कारण हामी यो अवस्थामा आइपुगेका छौं । माधव नेपाल उहाँ एक्लो यस्तो मानिस हो जसमा सबै कुरा केन्द्रित छ । उहाँको कारण यो सबै परिवर्तन भएको हो । यसैगरी शेरबहादुर देउवा, रामचन्द्र पौडेलका व्यक्तिगत कारणले मात्र हाम्रोमा प्रजातन्त्र र गणतन्त्र उपभोग गर्न पाएका छौं । यस्तै बाबुराम, मुमाराम, रामकुमारी, गगन, अरुण, किशोर नेपाल, रवीन्द्र मिश्र, विश्व प्रकाश, सुरेशराज आचार्य, पूर्व प्रधानन्यायाधीश, कार्की, श्रेष्ठ, मानवअधिकारकर्मी आदि आदिहरूमा अब पूर्ण रूपले मपाइँत्वले घर गरिसकेको छ ।

हिजोका सबै राम्रा भन्न मिल्ने कार्यहरू मेरो कारणले मात्र भएको हो । म थिइनँ भने परिवर्तन हुँदैनथ्यो । यहाँ पार्टी, संस्था, निकाय र कार्यकर्ता, कर्मचारी र शुभचिन्तकको कुनै महत्व र भूमिका छैन । फगत म हुँ ।

हामी आफूलाई सचेत र जिम्मेवार भन्न रुचाउनेहरू व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै मस्तिष्क र चेतनालाई बन्धकी राखेर वाद, गुट वा व्यक्तिको नाममा मपाइँलाई अझ बढावा दिन लालायित छौं । त्यसैमा रमाइरहेका छौं । अनि फेरि पनि अरूको परिवर्तनको आशामा अरूलाई लाञ्छना लगाइरहेका छौं र आफूभित्रको मपाइँत्व बढाइरहेका छौं । आफैं स्वघोषित आफैं स्वच्छ, सर्वज्ञानी आदि आदि ।

यति हुँदा पनि हामी आफूलाई सचेत र जिम्मेवार भन्न रुचाउनेहरू व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै मस्तिष्क र चेतनालाई बन्धकी राखेर वाद, गुट वा व्यक्तिको नाममा मपाइँलाई अझ बढावा दिन लालायित छौं । त्यसैमा रमाइरहेका छौं । अनि फेरि पनि अरूको परिवर्तनको आशामा अरूलाई लाञ्छना लगाइरहेका छौं र आफूभित्रको मपाइँत्व बढाइरहेका छौं । आफैं स्वघोषित आफैं स्वच्छ, सर्वज्ञानी आदि आदि ।

जबसम्म हामी संस्थागत भन्ने भावनालाई आत्मसात् गर्न सक्दैनौं, जस तथा अपजसलाई संस्थागत रूपमा स्वीकार्न, संस्कृतिको विकास गर्न सक्दैनौं त्यसबेलासम्म संस्थागत अपनत्व रहँदैन । यहाँ मपाइँ केन्द्रविन्दु भइरहनेछ । व्यक्ति र सदस्यहरू त्यही मपाइँलाई प्रश्रय दिंदै उसैको फेरो समाएर रमाउने गर्छन् ।

नेपाल जस्ता विकासोन्मुख देशहरूमा सधैं अस्थिरता सिर्जना गरी सम्पूर्ण शक्ति र स्रोत व्यक्तिमा केन्द्रित गराई सधैं खेलिरहन चाहने विकासे संस्थाका नाममा सम्पन्न देशहरूले बिरालोले मुसा खेलाए झैं देशलाई नै खेलाइरहेका हुन्छन् । थोरै ललीपपमा आफू गुमराहमा परेको थाहा नपाई सीमित मपाइँहरूको फेर वरिपरि घुमिरहेका हुन्छन् ।

एक पटक सबैले आफैंलाई हेरौं । स्वार्थभाव, अन्धभक्त, घृणा र एकपक्षीय सोचबाट बाहिर निस्कौं । भावनालाई होइन आफ्नो अन्तरमन र आत्मालाई नियालौं ।

मबाट हामी र हाम्रो भन्ने भावनाको विकास गरौं । यहीबाट परिवर्तनको थालनी हुनेछ । सकारात्मकता झल्कनेछ, आशाका दियोहरू बल्न थाल्नेछन् ।

प्रतिक्रिया

One thought on “पत्रकारदेखि नेतासम्म ‘मपाइँ’को शिकार

Leave a Reply

Your email address will not be published.