मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास – Nepal Press

मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

नेपालको हिमाली जिल्ला मुस्ताङमा छायांकन गरिएको बीबीसी वानको बहुचर्चित टिभी सिरिज ‘ब्ल्याक नर्सिसस’को लोकेसनलाई लिएर विश्वव्यापी चर्चा भैरहेको छ । अन्तराष्ट्रिय संचारमाध्यमले खिचिएको स्थानलाई लिएर चर्चा गरिरहेका छन् ।

गतवर्षको शरद ऋतुमा फिल्म खिच्न नर्सिसस टोली मुस्ताङमा महिनौं बसेको थियो । मुस्ताङको नौरीकोट र कागबेनीमा गत दशैं छेकोमा फिल्म खिचिएको थियो । फिल्मको नेपाल व्यवस्थापन प्राविधिक संघका अध्यक्ष समेत रहेका पुष्कर लामा प्रेमले हेरेका थिए । पचास जनाको टोली नेपाल आएको थियो ।

सन् १९३० को सेटिङमा खिचिएको सिरिजमा यसकी मुख्य पात्र सिस्टर क्लोडगसहितका उनका क्रिस्चियन भिक्षुणीले गरेको मुस्ताङको कथा छ । मुख्य भूमिकामा जेम्मा आर्टेटोनले अभिनय गरेकी छन् । मनै हर्ने खालको मुस्ताङी ल्यान्डस्केप र सौन्दर्यको प्रशंसामा यतिबेला विदेशी मिडिया व्यस्त छन् ।

मुख्य पात्र जेम्मा आर्टेनले सिरिजको कथावस्तुसँग लोकेसनले मद्दत गरेको बताइन् । खासगरि, भिक्षुणीहरुको यात्रा र उनीहरुभित्र दबिएको यौन मनोविज्ञान यसमा चित्रित छ । ‘नेपालमा खिच्न पाउँदा हामीले भाग्यमानी महसुस गरिरहेका छौं । हामीलाई जोमसोम पुग्नै अढाइ दिन लागेको थियो । जतिबेला म त्यो लोकेसनमा पुगेको थिएँ, त्यहाँ मैले पात्रभित्र डुबेको महसुस गरेँ’ उनले भनिन् ।

‘हावा चाहिँ निकै पातलो थियो। हाइ अल्टिच्युडले बिरामी पनि भयौं तर हामीले आफूलाई जिवन्त महसुस गरेका थियौं । जीवनमा मैले पहिलोपटक यस्तो लोकेसन देख्न पाएँ । जहाँ फोन पनि थिएँन । यो एउटा म्याजिक जस्तै लाग्थ्यो । भगवानलाई प्रश्न गर्न मिल्ने टाइपको गजबको लोकेसन’ आर्टेनले भनिन् ।

प्राविधिक संघका अध्यक्ष लामाले नेपालको पर्यटनमा यो सिरिजले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्डको एक तथ्यांकअनुसार अस्कर मनोनित फिल्म क्याराभानको छायांकनको कारण उपल्लो डोल्पा पुग्ने मध्ये ७० प्रतिशत पर्यटक फ्रान्सेली थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *