वामदेव दुवैतिर नजाने, बादल आज पनि छलफलमै – Nepal Press
नेकपा अलग बैठक

वामदेव दुवैतिर नजाने, बादल आज पनि छलफलमै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‌‍(नेकपा) औपचारिक विभाजनका लागि दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने अन्तिम बेलासम्म पनि कतै खुलेका छैनन् ।

गौतमले आज ओली र प्रचण्ड–माधव नेपाल पक्ष दुवैले आयोजना गरेका बैठकमा सहभागी नहुने नेपाल प्रेसलाई बताए । पार्टी विभाजनका लागि हुन लागेका बैठकमा गएर फुटको साक्षी नबस्ने उनले प्रष्ट पारे । तर विभाजन भइसकेपछि एकातिर लाग्नैपर्ने बाध्यतामा उनी छन् ।

पूर्व माओवादी समूहमा पनि बादल पक्ष विभाजित छ । देव गुरुङ, पम्फा भुसाललगायतका नेता बादल निकट भए पनि उनीहरु प्रचण्डसँग छन् । तर बादल स्वयं भने दुवै पक्षका भेला र बैठकमा सहभागी भएका छैनन् ।

आज कुन समूहको बैठकमा सहभागी हुने वा दुवै समूहमा नलाग्ने भन्ने अझै निश्चित नभएको गृहमन्त्रालयका सल्लाहकार समेत रहेका बादल निकट केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले बताए । उनका अनुसाार बादल आज पनि बिहानैदेखि आफू निकट नेताहरुसँग छलफलमा छन् ।

सुवेदीले भने–हामी आज पनि छलफलमै छौं । हिजो केही साथीहरुसँग छलफल भयो । देशभरिका साथीहरुसँग छलफलपछि सामूहिक निर्णयमा जान्छौं । अहिले नै हामी कुन बैठकमा जाने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।

बादल पक्षका ३५ जना केन्द्रीय सदस्य रहेको र यसबीचमा केही थपघट भएको सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर