प्रचण्डको ‘लान्छानापत्र’माथिका छलफलमा ओली सहभागी नहुने – Nepal Press

प्रचण्डको ‘लान्छानापत्र’माथिका छलफलमा ओली सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको ‘लान्छानापत्र’माथि छलफल गरिने कुनै पनि बैठकमा आफू सहभागी नहुने प्रष्ट पारेका छन् ।

स्थायी कमिटी बैठकअघि एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री निवास पुगेका प्रचण्डलाई ओलीले यस्तो जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि पार्टी कार्यालयमा बसेको बैठकमा ओली सहभागी थिएनन् तर अध्यक्षको हैसियतमा ओलीले बैठकलाई पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।

मंसिर २८ को बैठकमा भने कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्नेमात्र एजेण्डा भएकाले अध्यक्ष ओली सहभागी थिए ।

अध्यादेश प्रकरणपछि थप विवाद चर्किएका बेला प्रचण्ड पक्षले स्थायी कमिटी बैठकबाटै अध्यादेश खारेज गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

प्रचण्डसँगको करीव एक घण्टाको छलफलमा ओलीले आफूमाथि निकृष्ट ढंगले लगाइएको आरोपपत्र फिर्ता नलिएसम्म छलफल नहुने बताएका थिए ।

पहिलो अध्यक्ष ओली बैठकमा आउन नमानेपछि बैठकका लागि बालुवाटार पुगेका नेताहरु घाम तापेर बसेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच अलग्गै कोठामा छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर