क्रान्तिको महमा विप्लवको विष, प्रचण्डपथको बाइप्रोडक्ट – Nepal Press

क्रान्तिको महमा विप्लवको विष, प्रचण्डपथको बाइप्रोडक्ट

विप्लवको अहिलेका हिंसात्मक गतिविधिमा प्रचण्डपथको ह्याङओभर

मंसीर २४ गते मंगलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि नेकपा विप्लव समूहप्रति अनेक क्षेत्रबाट अहिले आक्रोश सार्वजनिक भएको छ ।

दूरदराजमा कृषिमा समेत उदाहरणीय काम गरिरहेका श्रेष्ठको हत्या भत्र्सनायोग्य भएकाले यो आक्रोश जायज छ । तर, भोजपुरमा प्रहरी जवानको हत्या, एनसेलको कार्यालयमा मानिसको ज्यान जाने गरी बम विस्फोट र काठमाडौंका विभिन्न ठाउँमा आफ्नै कार्यकर्ता मर्ने गरी बम विस्फोटका घटना गराएको बेलामा जस्तै यो आक्रोश पनि क्षणिक रह्यो भने विप्लव समूहको क्रूरताले निरन्तरता पाउने तथा अरू बढ्नेमा भ्रम रहनुहुँदैन ।

विप्लव समूहका लिखत, त्यसका नेताहरूको भनाइ, दूरदराजमा उसले गरिरहेका गतिविधि र कम्पनी तहको फौजी संरचनासमेत निर्माण गरिसकेको विभिन्न स्रोतहरूबाट आएका सूचनाका आधारमा यो समूह २०५२ सालमा मूल माओवादीले शुरू गरेको क्रिया दोहोर्‍ याउन दृढ छ भन्ने स्पष्ट छ । यसको अर्थ के हो भने, उसले आफ्नो शक्ति पुग्दा प्रहरीलाई आक्रमण गर्नेछ, सेनाको ब्यारेक हान्नेछ, हत्या-प्रतिहिंसाको शृंखला शुरू गराउनेछ, मिक्लाजुङमा जसरी सुराकीको आरोपमा व्यक्ति–हत्या अनि शहरहरूमा बम विस्फोट त गर्नेछ नै ।

हिंसाको जहर

जुनै पनि विचार र आन्दोलन त्यसको मूलरूप परिवर्तन हुँदासमेत लामो समय रहलपहलका रूपमा बाँकी रहने अनेक घटनामा देखिन्छ । अहिले विप्लव समूहले चलाएको ‘एकीकृत क्रान्ति’ पनि २०५२ मा शुरू भएको माओवादी हिंसाकै रहलपहल हो ।

नाम जे दिए पनि उसले गर्ने भनेको पहिले जस्तै जबरजस्ती चन्दा संकलन हो, दिन नमान्नेलाई बदलामा कुटपिट र हत्या जस्ता बर्बरता थोपर्ने हो, विपक्षी राजनीतिक विचार, समूह र व्यक्तिलाई निषेध गर्ने हो, भौतिक संरचनाहरू ध्वस्त पार्ने हो, प्रहरी र सेनामाथि आक्रमण गरेर राज्यलाई अस्थिर र कमजोर बनाउने हो । अनि, विदेशी शक्तिलाई देशको राजनीतिमा प्रवेश गर्न छिद्र निर्माण गरिदिने हो ।

अघिल्लो १० वर्षे हिंसा चर्काउनेहरू जस्तै जननायक बन्न सकिने सपना विप्लवले देख्नुलाई पनि अस्वाभाविक भन्न मिलेन । विप्लवले देखेको त्यही सपना पूरा गर्ने प्रयासका क्रम गराइएका घटनाहरूको समष्टि नै त्यो समूहले हाल चलाइरहेका क्रियाकलाप हुन् भन्ने स्पष्ट छ ।

नेपाली माओवादी स्कूलिङले कहिल्यै समाज मात्रात्मक हुँदै गुणात्मक परिवर्तन हुने तथा यसको गति कसैको चाहनामा नभएर त्यसका अवयवहरूको परिपक्वताले निर्धारण गर्ने सिकाएन । धक्का, क्रमभंग, छलाङ जस्ता जादूसमान शब्दहरूमा रमाउन सिकाएर शान्तिपूर्ण, जनताको साथ र समर्थनमा हुने परिवर्तनका प्रयासहरूप्रति नकारात्मक बनायो । चुनावमा उठ्नु, प्रतिस्पर्धा गरेर जित्नु, सरकार बनाउनु र जनप्रिय काम गरेर फेरि चुनाव जित्नसक्ने हुनुलाई उसले संशोधनवाद तथा प्रतिक्रियावादको पिछलग्गु भनेर आरोपित गर्‍ यो ।

सेना नभएको जनताको केही हुन्न भन्ने चिनियाँ परिप्रेक्ष्यमा माओले निकालेको निष्कर्षलाई सिद्धान्त मानेर घोकेकाहरू क्यान्टोनमेन्ट खाली हुँदा विक्षिप्त हुनु स्वाभाविक थियो । अनि, निराशामा कठ्याङ्ग्रिएकाहरूले नयाँ नायक खोज्नु पनि स्वाभाविक हो । र, उनीहरूको भावना प्रयोग गर्दा अघिल्लो १० वर्षे हिंसा चर्काउनेहरू जस्तै जननायक बन्न सकिने सपना विप्लवले देख्नुलाई पनि अस्वाभाविक भन्न मिलेन । विप्लवले देखेको त्यही सपना पूरा गर्ने प्रयासका क्रम गराइएका घटनाहरूको समष्टि नै त्यो समूहले हाल चलाइरहेका क्रियाकलाप हुन् भन्ने स्पष्ट छ ।

त्यसैले, भ्रममा पर्नु हुन्न कि, विचारहरूबीच प्रतिस्पर्धा हुँदा मात्र उत्तम विचारले उम्रिने र हुर्किने मौका पाउँछ भन्ने लोकतान्त्रिक सोचलाई बहुलवाद भनेर दुत्कार्ने माओवादी सोचले आफ्नोभन्दा अरू विचार र ती विचार बोक्ने दलहरूलाई न हिजो सह्यो, न विप्लव माओवादीले सहनेछ ।

२८ फागुन २०७५ मा यो समूहलाई प्रतिबन्ध लगाउँदा सरकारलाई असहिष्णु भन्दै सराप्ने तथा विप्लव समूहको साखुल्य बन्न खोज्ने नेता र तिनका दलका गतिविधिलाई पनि यो समूहले आफूले सकेको ठाउँ र समयमा प्रतिबन्ध लगाउनेछ भन्ने केही पछि नै देखिनेछ । यसले सक्दा पहिले जस्तै उसँगै थपडी बजाउँदै नहिंड्नेहरूलाई गाउँबाट खेद्नेछ । नभाग्ने तथा असहमति जाहेर गर्नेहरू मुक्तिनाथ अधिकारी जसरी नै मारिनेछन् । सकेसम्म विप्लव समूहले २०५२—२०६२ को चक्र उसैगरी दोहो¥याउनेछ ।

भ्रमका पोका

हरेक हिसाबले पछि परेको वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरूको पनि बाँकी जतिकै अधिकार छ भन्ने अति मानवतावादी विचार भएका जर्मनीका कार्ल माक्र्सलाई गुरु मान्ने कम्युनिष्टहरूमध्ये केहीको हतियारप्रति अत्यधिक मोह आश्चर्यलाग्दो छ । पहुँच र सम्पत्ति हुनेहरूको हतियारमा पनि स्वतः बढी पहुँच हुने हुँदा हिंसा होइन शान्तिपूर्ण प्रतिस्पर्धा निर्बलहरूको रोजाइ हुनुपर्ने हो ।

सशस्त्रीकरणका विरुद्ध निर्बल राष्ट्रहरूले निशस्त्रीकरण अभियान चलाउनुको कारण पनि यही हो । त्यसैले, शान्तिपूर्ण प्रतिस्पर्धा सैद्धान्तिक रूपले नै निर्बलहरूको पक्षमा र बलिया अनि खाईपाई आएकाहरूको विपक्षमा छ । यस हिसाबले हतियार र हत्याहिंसालाई निर्बलहरूको प्रतिनिधि दाबी गर्ने कम्युनिष्टहरूले रोजाइ बनाउनु सही हुनसक्दैन ।

वर्तमान व्यवस्थालाई विना आधार प्रतिक्रियावादीको आरोप लगाउने, ‘दलाल पूँजीवाद’, ‘साम्राज्यवाद’, ‘प्रतिक्रियावाद’ जस्ता जार्गन लेख्ने तथा कार्यकर्ताहरूलाई ती घोकाउने विप्लव माओवादी आफैं भ्रममा रहेको विस्तारै स्पष्ट हुनेछ ।

अहिले किन एकीकृत क्रान्तिको आवश्यकता पर्‍ यो भन्ने विप्लव माओवादीले कतै चित्तबुझ्दो जवाफ दिन सकेको छैन । जुनसुकै विचार लिएर जनतामा जान पाइन्छ, चुनाव लडेर बहुमत ल्याई सरकार बनाउन तथा सरकारमार्फत आफ्नो कार्यक्रम लागू गराउन रोकतोक छैन, शान्तिपूर्ण बाटोमा आएपछि हत्या–हिंसामा संलग्न तथा आफैंसँग लडेका प्रचण्डलाई प्रधानमन्त्री मानेर सेनाले सलाम गरेको हामीले नै देखेकाले उसको अराजनीतिक चरित्र प्रमाणित छ ।

संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरण अनुसार अदालतले स्वतन्त्र ढंगले काम गरिरहेको छ, जुनै विचारको सरकारलाई काम गर्न उसले भाँजो हालेको देखिन्न । संविधानसभाले बनाएको संविधान कार्यान्वयन भइरहेको बेला निर्दाेषहरूको हत्या गर्ने गरी एकीकृत क्रान्ति किन गर्नुपर्‍ यो भनेर जवाफ दिन विप्लव माओवादीसँग केही पाल्छी शब्दजालबाहेक केही देखिंदैन ।

वर्तमान व्यवस्थालाई विना आधार प्रतिक्रियावादीको आरोप लगाउने, ‘दलाल पूँजीवाद’, ‘साम्राज्यवाद’, ‘प्रतिक्रियावाद’ जस्ता जार्गन लेख्ने तथा कार्यकर्ताहरूलाई ती घोकाउने विप्लव माओवादी आफैं भ्रममा रहेको विस्तारै स्पष्ट हुनेछ । किनभने, केहीको हत्या र सार्वजनिक सम्पत्तिको बर्बादी बाहेक यो समूहले आफ्ना कार्यकर्तालाई घोकाए जस्तो न एकीकृत क्रान्ति हुनेछ, न त उसको सत्ता नै स्थापना हुनेछ । प्रचण्ड, मोहन वैद्य र बाबुराम आफ्नो रोजाइले भन्दा परिस्थितिको चेपाइले शान्तिपूर्ण राजनीतिलाई स्वीकार्ने अवस्थामा आइपुगेका हुन् भन्ने नबुझ्नु विप्लव समूहको अर्काे ठूलो भ्रम हो ।

सुझावहरू

परिस्थितिको दह्रो चेपाइ नपरी विप्लव माओवादी हत्या–हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैन भन्ने टुङ्गो भएकाले नसुन्नेलाई सुझाव दिनुको अर्थ छैन । त्यसैले, उसलाई राम्रोसँग बुझ्न अनि त्यही अनुसार व्यवहार गर्न बाँकीले सीपसहितको जाँगर नचलाउने हो भने केही यताको स्थिरता र आशा पुनः अस्थिरता र निराशामा परिणत हुने निश्चित छ ।

विप्लव माओवादीको समाधान प्रशासनिक मात्रै हुँदै होइन । उसले गराएका अपाराधिक घटनालाई मात्र हेरेर उसलाई अन्य अपराधी समूहलाई जस्तो व्यवहार गरियो भने गलत हुनेछ र त्यसले विपरित परिणामसमेत निकाल्न सक्नेछ । किनभने, उसले हत्या–हिंसा जस्ता अत्यन्त बर्बर आपराधिक क्रियाकलापमा राजनीतिक नशा खुवाएर मानिसहरूलाई संलग्न गराएको छ ।

रक्सी, गाँजा वा लागूपदार्थभन्दा कडा हुने राजनीतिक नशा मानिसबाट उतार्न निकै मिहिनेत र समय लाग्ने हुँदा उसको राजनीतिविरुद्ध प्रतिअभियान संचालन गर्नु आवश्यक छ । र, त्यसका लागि शान्तिपूर्ण र लोकतन्त्र पक्षधर राजनीतिक शक्तिहरू उसलाई प्रयोग गरी प्रतिस्पर्धीलाई तल पार्ने अनि शक्ति आर्जन गर्ने क्षणिक स्वार्थमा अहिले जसरी नलागेर साँच्चै हिंसाविरुद्ध लाग्नुपर्नेछ ।

आफूले नायक मानेकाहरूको पतनबाट निराश बनेकाहरू, क्रान्तिको धङधङीले मातेकाहरू र संसार अनि देशको साँचो अवस्था नबुझी मीठो सपनाले एकोहोरिएकाहरूलाई बुझाउनु सजिलो पक्कै छैन । लोकतान्त्रिक विचार आत्मसात् गर्नु र व्यवहारमा उतार्नु सजिलो काम होइन ।

लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा हुने भएकाले आलोचना र विरोध पनि यसको अभिन्न अंग हुँदा यो एकतन्त्रीय जस्तो चोखो देखिंदैन । तर, सबैभन्दा भुईं तहको अनि एक्लो आवाज पनि गुन्जाउन पाइने हुँदा यो प्रणाली जनपक्षधर छ । त्यसैले, सयौंको बलिदान, हजारौंको यातना अनि कष्ट र लाखौंको प्रयास प्रयत्नबाट स्थापित यो प्रणालीको रक्षाका लागि सबैखाले अधिनायकवादी विचारविरुद्ध अभियान नचलाई हिंसालाई परास्त गर्न सकिने छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.