‘मिसन इम्पोसिबल’ सुटिङ सेटमा खनिए टम क्रुज, कोभिड गाइडलाइन उल्लंघन गर्नेमाथि आक्रोशित – Nepal Press

‘मिसन इम्पोसिबल’ सुटिङ सेटमा खनिए टम क्रुज, कोभिड गाइडलाइन उल्लंघन गर्नेमाथि आक्रोशित

हलिउड एक्सन स्टारर टम क्रुज अहिले मिसन इम्पोसिबलको सातौं श्रृंखला छायांकनमा व्यस्त छन् । फिल्म छायांकन यस्तो बेला भैरहेको छ जतिबेला अमेरिका र युरोपमा कोरोना भाइरस महामारी उत्कर्षमा छ ।

बेलायतस्थित फिल्मको सेटमा हालै एउटा रोचक घट्ना भयो । जहाँ अभिनेता क्रुज कोभिड–१९ गाइडलाइन उल्लंघन गर्ने क्रु मेम्बरमाथि खनिए । भेराइटी म्यागजिनका अनुसार ती दुईजना सदस्यमाथि क्रुज निकै आक्रोशित भए ।

ती दुईजना सदस्यहरु मास्क बिनै कम्प्युटर स्क्रिन नेर सँगै उभिएका थिए । अनि क्रुजले यो देखेपछि तत्कालै प्रतिक्रिया जनाए : आइन्दा यस्तो देखेँ भने तिमीहरुले फिल्म सुटिङ नै छाड्नुपर्छ ।

द सन् म्यागजिनले क्रुजले ती उल्लंघनकर्ता क्रु सदस्यहरुलाई गाली गरेको अडियो प्राप्त गरेको छ । जहाँ क्रुजले भनेका छन् : हामी सुनजत्तिकै महंगा छौं । हाम्रै कारणले तिमीहरु हलिउडमा फिल्म गर्न पाइरहेका छौं । किनभने तिनीहरु हामीमाथि विश्वास गर्छन् । मलाई प्रत्येक रातीजसो स्टुडियो, बिमा कम्पनी र निर्माताबाट फोन आउँछ । हामीले हजारौं रोजगारी सिर्जना गरिरहेका छौं । म अब आइन्दा यस्तो हर्कत कहिल्यै हेर्न चाहन्न ।’

अभिनेता क्रुज सुटिङ सेटमा कोभिड–१९ मापदण्ड पालनालाई लिएर निकै कडा देखिएका छन् । अहिले बेलायतमा कडा लकडाउनकै बीचमा फिल्म छायांकन भैरहेको छ ।

क्रुज अगाडि भन्छन् : यो कुरा तिनीहरुलाई भन्दिनु जो हाम्रो उद्योग ठप्प हुँदा घरवारविहिन भएका छन् । फिल्म नबन्दा टेबुलमा खाना र बच्चाको कलेज शुल्क पनि उठ्दैन तिमीहरुको । यही कारण म फिल्मको भविष्यसँगै प्रत्येक रात सुत्ने गर्छु । म यो गल्तीका लागि माफी माग्ने पक्षमा छैन ।

‘मैले भनिसकेको छु । म यस्तो कुरा दोहोरिएको हेर्न चाहन्न । यदि तिमीहरुले मैले भनेको मान्दैनौं भने काम छोडेर गए हुन्छ । तिमीहरुको गल्तीले फिल्म उद्योगलाई बन्द गर्नु छैन । बुझेऊ ? यदि मैले फेरि यस्तो पारा देखेँ भने, तिमीहरु जान सक्छौ ।’

मिसन इम्पोसिबलको सातौं सिक्वेलको इटाली सुटिङमा हालै ढिलाइ भएको थियो जतिबेला फिल्मका १२ जना क्रु मेम्बर कोभिड–१९ पजेटिभ पाइएका थिए । त्यसको दुई सातापछि अहिले बेलायतमा सुटिङ सुचारु भएको हो । फिल्मलाई क्रिस्टोफर म्याक्वरीले निर्देशन गर्दैछन् । सन् २०२१ को नोभेम्बर १९ मा फिल्म रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *