नेकपामा अध्यादेश विवाद, प्रचण्ड निवासमा ओलीविरोधी नेताहरुको बैठक – Nepal Press

नेकपामा अध्यादेश विवाद, प्रचण्ड निवासमा ओलीविरोधी नेताहरुको बैठक

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले सत्तारुढ नेकपाको विवाद झन् चर्किएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले अध्यादेश खारेजीको माग गरेका छन् ।

अध्यादेश जारी भए लगत्तै प्रचण्डनिवास खुमलटारमा पाँच सचिवालय सदस्यसहित प्रचण्ड–माधव नेपाल पक्षका प्रभावशाली नेताहरुको बैठक बसिरहेको छ । अबको रणनीतिबारे छलफल गर्न प्रचण्डले आफू पक्षधर नेताहरुको आकस्मिक बैठक बोलाएका हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार तत्काल बदनीयतपूर्ण ढंगले ल्याइएको अध्यादेश खारेज गरी संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकको एक दिनअघि पार्टीको पहिलो बरीयताका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि विभाजन नजिक पुगेको नेकपामा विवाद थपिएको हो ।

प्रचण्ड–माधव नेपाल पक्षले अध्यादेश खारेजीको एजेण्डा बुधवारको बैठकमा लैजानेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे पार्टीलाई जानकारी नभएको बताए ।

अध्यादेश जारी भएलगत्तै प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुबीच अबको कदमका बारेमा समेत छलफल भएका छन् । स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको निर्णयले मदन भण्डारीको अपमान  भएकाे बताए ।

रावलले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र स्वेच्छाचारी भएको भन्दै अध्यादेशले पार्टीलाई थप संकटमा धकेलेको बताए । उनले भोलिका स्थायी कमिटी बैठकमा प्रधानमन्त्री उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “नेकपामा अध्यादेश विवाद, प्रचण्ड निवासमा ओलीविरोधी नेताहरुको बैठक

  1. देशको माया गर्ने ,जनताको हित चाहने कुनै नेता छैनन। सबै कुर्सिका लागि बिदेशिको पाउ मोल्ने दलालहरुबाट अब केही हुने वाला छैन।
    सबै जनता सवधान रहनु होला।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर