भारतमा चर्कियो किसान आन्दोलन, मोदीको आग्रह अस्वीकार – Nepal Press

भारतमा चर्कियो किसान आन्दोलन, मोदीको आग्रह अस्वीकार

तीन नयाँ कृषि कानुनविरुद्ध दसौं हजार भारतीय किसानले गरिरहेको आन्दोलन झनै चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आन्दोलन शान्त पार्न प्रयास गरेपनि तत्काल मत्थर हुने संकेत मिलेको छैन । कृषि कानुनले नीजि कम्पनी र बिचौलियालाई फाइदा हुने आरोप किसानको छ ।

नयाँ कानुनले किसानको आम्दानीलाई दोब्बर बनाउने भन्दै मोदीले आश्वस्त पार्न खोजेको प्रयासलाई किसानले अस्वीकार गरेका छन् । आक्रोशित किसानले राजधानी नयाँ दिल्ली नजिकै विरोध प्रदान गरिरहेका छन् । किसान नेता र सरकारबीच भएको ६ पटकको वार्ता सफल हुन सकेन । यसलाई मोदी सरकारकै जटिल परिस्थिती मानिएको छ ।

‘सयौं किसानले आफ्नो आवाज व्यक्त गर्न दिल्लीतर्फ ट्रयाक्टर र्‍याली आयोजनको तयारी गरिरहेका छन्’ ३० वटा किसान समूहको संगठन संयुक्त किसान आन्दोलनका संयोजक कमलप्रित सिंह पन्नुले भने, ‘सरकारले हाम्रो आन्दोलन बिथोल्ने प्रयास गरेको छ तर, हामीले शान्तिपूर्ण आन्दोलनलाई जारी राख्छौं ।’

स्थानीय अधिकारीले आन्दोलित किसानलाई नयाँ दिल्ली प्रवेशमा रोक लगाउन सडकमा ब्यारिकेड राखेर अवरोध गरिरहेका छन् । किसानको आन्दोलनलाई प्रतिपक्षी कांग्रेस आइ र केही अर्थशाष्त्रीले समर्थन गरेका छन् । ‘नयाँ कानुनले किसानको अहित गर्ने मेरो अध्ययनको निष्कर्ष छ’ संघिय सरकारका पूर्व आर्थिक सल्लाहकार कौसिक बासुले ट्वीट गरेका छन् ।

तीन नयाँ कानुनले भारतीय किसानलाई आफ्नो उत्पादन विक्री गर्न झनै सुविधा हुने र विकल्प उपलब्ध हुने सरकारी दाबी छ । प्रधानमन्त्री मोदी र कृषि मन्त्रीले नयाँ कानुनबाट फाइदा लिन आग्रह गर्दै आन्दोलन मत्थर पार्न पहल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर