किम्फमा इरानी फिल्म ‘द सिलहुट्स’ सर्वोत्कृष्ट – Nepal Press

किम्फमा इरानी फिल्म ‘द सिलहुट्स’ सर्वोत्कृष्ट

काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिभल भर्चुअल सम्पन्न

इरानी फिल्म ‘द सिलहुट्स’ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को अन्तराष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट भएको छ । साना सलेरी निर्देशित ८० मिनेट लामो फिल्मले जितसँगै दुईलाख रुपैयाँ प्राप्त गर्‍यो ।

सन् १९८२ मा तत्कालिन सोभियत युनियनले अफगानिस्तानमा हमला गरेपछि शरणार्थी हुन बाध्य लाखौं अफगानीको कथा यसले पेश गर्छ । एक शरणार्थी युवाले द्धन्द्धको पृष्ठभूमिमा आफ्नो पहिचान खोज्न गरेको संघर्ष ‘द सिलहुट’को कथा हो ।

अन्तराष्ट्रिय विधातर्फ टीना म्याडिसन निर्देशित फिनल्यान्डको फिल्म द बिलभ्ड डटर दोस्रो भयो । एउटा बाउले सामाजिक दबाबको बाबजुद आफ्नो छोरीका लागि ज्वाइँ खोज्न गरेको कथावस्तु यसले चित्रण गर्छ । दोस्रो भएसँगै फिल्मले डेढलाख रुपैयाँ जित्यो ।

८२ मिनेट लामो अमेरिकी फिल्म ‘बाटो’ले तेस्रो हुँदै एकलाख रुपैयाँ पुरस्कार जित्यो । लुकास मिलर्ड र केट स्ट्राइकर निर्देशित फिल्मले कच्ची बाटो हुँदै एउटा परिवारले गरेको सिजनल बसाइसराइको कथा यसले भन्छ । यसलाई नेपाल प्रिमियर गरिएको हो ।

नेपाल पानोरमातर्फ सोनाम चोकी लामा निर्देशित डोल्पाली वृत्तचित्र ‘द स्नो लियोपार्ड कलिङ’ले सर्वोत्कृष्ट डकुमेन्ट्री प्राइज जित्यो । यो डकुमेन्ट्रीले जितसँगै ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो । हिउँचितुवालाई पछ्याउँदै तीन डोल्पाली महिलाले गरेको यात्रा यसको कथा हो ।

अंकित पौडेल निर्देशित छोटो फिल्म ‘सङ्स अफ क्लाउड्स’ले नेपाल पानोरमातर्फ उत्कृष्ट फिक्सन अवार्ड उचाल्दै एकलाख रुपैयाँ जित्यो । यस विधातर्फ जुरी अवार्ड भने सिकुमा राईको ‘कम ओभर फर अ ड्रिंक कान्छी’ले जित्यो ।

चार दिनसम्म नेपाल चलचित्र विकास बोर्डमा चलेको फेस्टिभलमा यसपटक फिल्मलाई सेमी–भर्चुअलरुपमा प्रदर्शन गरियो । विजयी फिल्मका निर्देशकले भिडियो सन्देशमार्फत खुशि साटे । कोभिड–१९ को कारण यसपटक किम्फ भर्चुअल भएको हो ।

फेस्टिभलको शुभारम्भ चाहिँ खिन्से नोर्बु निर्देशित फिचर फिल्म ‘डाकिनी’को विश्व प्रिमियरसँगै भएको थियो । यसपटक नेपाली लेखक नयनराज पाण्डे, सनडान्सकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिघम र स्वीटजरल्यान्डकी पत्रकार लिसा रुस्ली निर्णायकमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर