वार्नर ब्रोजद्धारा २०२१ का सबै फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा – Nepal Press

वार्नर ब्रोजद्धारा २०२१ का सबै फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा

लस एन्जल्स / हलिउडको प्रतिष्ठित स्टुडियो वार्नर ब्रोजले सन् २०२१ का लागि पाइपलाइनमा रहेका आफ्ना सबै १७ फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा गरेको छ । यो निर्णयलाई हलिउडकै अहिलेसम्मकै बोल्ड कदमको रुपमा अन्तराष्ट्रिय संचारमाध्यमले लिएका छन् ।

अब एचबीओ म्याक्समा दर्शकले निःशुल्क यी फिल्म हेर्न पाउनेछन् । कोरोनाभाइरसको बढ्दो संक्रमणबीच हलिउडको अग्रणी स्टुडियोले यस्तो निर्णय लिएको हो । साथै यी फिल्मलाई अमेरिकी हलमा समेत रिलिज गरिने भएको छ । अहिले न्यून अकुपेन्सीसहित अमेरिकामा हल चलिरहेका छन् तर व्यवसायिक मुनाफा छैन ।

बिग बजेटका फिल्महरु :

सुसाइड स्क्वाडका सिक्वेल, गोडजिला भर्सेस कङ, ड्युन, द म्याट्रिक्स ४, लिन म्यानुअलको इन द हाइट्स, क्लाइन्ट इस्टवुडको क्राइ म्याचो, हरर फिल्म कन्जुरिङको आउँदो सिक्वेल, स्पेस जामः अ न्यू लिगेसी लगायत छन् । एचबीओ सब्सक्राइब गरेपछि दर्शकले सीधै यी ठूला फिल्म हेर्न पाउनेछन् ।

वार्नर ब्रोजको यो निर्णयपछि फिल्म हलको भविष्यमाथि बहस सुरु भएको छ । यस्तो बहस चलिरहँदा युनिभर्सल पिक्चर्स र डिज्नेले समेत आफ्ना ठूला फिल्मलाई अर्को वर्षसम्म पोस्टपोन्ड गरेका छन् । आउँदो महिनादेखि अमेरिकामा कोभिड भ्याक्सिन लगाउने तयारी भैरहेपनि वार्नर ब्रोजले आफू यसप्रति विश्वस्त नभएको भन्दै स्ट्रिमिङको निर्णय लिएको हो ।

‘अरु व्यापारजस्तै फिल्मको व्यापार पनि संकटसँग जुधिरहेको छ’ वार्नर मिडियाका कार्यकारी अधिकृत जेसन किलरले भने, ‘हामी महामारीको मध्यमा छौं । हामी भविष्यका लागि उपयुक्त बाटो खोजिरहेका छौं । हामीले गर्न सक्ने भनेको दर्शकमाझ राम्रा र ठूला फिल्मलाई सार्वजनिक गर्नु हो जुन भनेको स्ट्रिमिङ नै हो ।’

उनका अनुसार सन् २०२१ को परिस्थिती हेरेर कम्पनीले वितरण प्रणालीको यो हाइव्रिड मोडेललाई आत्मसात गर्नेछ । वार्नर ब्रोज अध्यक्ष टबी एमेरिचले पनि चिकित्सकले भाइरसको जोखिम औंल्याएकाले आफूहरुले यस्तो निर्णय लिएको न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा बताएका छन् । ‘हामी अझै एकवर्ष पर्ख र हेरको तयारीमा छौं’ एमेरिचले भने ।

यसवर्षको क्रिसमसमा वार्नरको सबैभन्दा ठूलो फिल्म ‘वन्डर वुमन १९८४’ स्ट्रिमिङ हुँदैछ । यो फिल्मको प्रिक्वेलले गतवर्ष नेपाली फिल्म घरमा राम्रो व्यवसायिक प्रदर्शन गरेको थियो । तत्काललाई एचबीओमार्फत अमेरिकी दर्शकले फिल्म हेरेपनि नेपाली दर्शकलाई सुविधा उपलब्ध हुनेछैन । वर्ष २०२१ को सुरुआती महिनामा मात्र एचबीओले अमेरिकाभन्दा बाहिर सेवा प्रवाह गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर