जैसीलाई पत्रकार महासंघको नेतृत्वमा उम्मेदवार बनाउने श्रमजीवि पत्रकार संघको निर्णय – Nepal Press

जैसीलाई पत्रकार महासंघको नेतृत्वमा उम्मेदवार बनाउने श्रमजीवि पत्रकार संघको निर्णय

काठमाडौं । आगामी पत्रकार महासंघको निर्वाचनमा श्रमजीवि पत्रकार संघले अध्यक्ष जन्मदेव जैसीलाई महासंघको नेतृत्वका लागि उम्मेदवार बनाउने भएको छ ।

महासंघलाई तत्काल निर्वाचन मिति घोषणाा गर्न दबाब दिँदै अध्यक्ष जैसीलाई महासंघको नेतृत्वका लागि उम्मेदवारी बनाउने र त्यसका लागि देशभरका श्रमजीवी पत्रकारलाई साथ दिन आव्हान गरेको हो ।

मंगलबार संघको कार्यालयमा बसेको बैठकले जैसीसहित अन्य स्थानीय तहका पदमा अरु श्रमजीवी पत्रकार संघको तर्फबाट उम्मेदवार बनाउने निर्णय संघले गरेको छ। विगत लामो समयदेखि आमसञ्चार क्षेत्रमा कार्यरत श्रमजीवी पत्रकारको श्रम अधिकारका लागि पैरवी गर्दै आएका जैसीले हजारौं श्रमजीवीलाई श्रमको मुल्य दिलाइसकेका छन् ।

देशभरका श्रमजीवी पत्रकारले कमजोर बन्दै गएको महासंघको साख बचाउन र थप अधिकारका लागि पैरवी गर्न र महासंघलाई ट्रेड यूनियन संस्थाको रुपमा विकास गर्न जैसीलाई महासंघको नेतृत्वमा पुर्याउनु्पर्ने भन्दै देशभर अभियान चलाईरहेका छन् ।

बौद्धिक श्रमजीवीको उक्त मतको कदर गर्दै संघले जैसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले आम सञ्चार क्षेत्रमा श्रमजीवीले भोग्नुपरेका समस्या, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको चुनौती, लामो समयदेखि बृद्धि नभएको पत्रकारको पारिश्रमिक, विभिन्न मिडिया हाउसमा पारिश्रमिक भुक्तानी नभएकोलगायतका एजेण्डामा पनि ठोस निर्णय गरेको छ ।

सरकारले विगत ६ वर्षदेखि श्रमजीवी–पत्रकारको पारिश्रमिक बृद्धिका लागि संघको नेतृत्वमा पटक–पटक ध्यानाकर्षण र दबाब दिंदा पनि बृद्धि नगरेकोमा गम्भीर चासो व्यक्त गर्दै तत्काल अल्टिमेटमपत्र बुझाउने, अल्टिमेटम अवधिभित्र बृद्धि नगरिएमा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै आमसञ्चार सम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र अन्य सञ्चारसम्बन्धी विचाराधीन ऐन पारित गर्न सरकारले प्रक्रियागत रुपमा ढिलासुस्ती गरेकोमा आपत्ति जनाउँदै तत्काल सरोकारवालासँग छलफल गरी संसदमा पेश गर्न ध्यानाकर्षण गराउने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लघंन राज्यकै महत्वपूर्ण निकायबाट भएकाले त्यसको विरोध गर्दै पत्रकारलाई समाचार लेखेकै आधारमा धम्की दिने, कुटपिट गर्ने कार्य रोक्न र त्यस्ता घटनामा संलग्नलाई छानविन गरी कार्वाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउने भनेको छ ।

विभिन्न मिडिया हाउसमा श्रमजीवी पत्रकारले अझै तलव नपाएको, अवकाशमा जान चाहानेले कानुनअनुसार उपदान र सेवा सुविधा नदिएकोमा त्यसको भत्र्सना गर्दै ती मिडिया हाउसमा ध्यानाकर्षणपत्र बुझाउने, साना तथा स्वरोजगार मिडियाको संरक्षण एवं बिना धितो सहुलियत दरमा न्युनतम पाँच करोडसम्म ऋण उपलब्ध गराउन दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै पत्रकार महासंघको बैधानिकता समाप्त पार्न खोज्ने वर्तमान नेतृत्वको कार्यशैलीप्रति घोर भत्र्सना गर्दै महाधिवेशनले तोकेको मितिमा निर्वाचन गर्न नसकेकोमा क्षमा माग्न अमूर्त हैन, तत्काल निर्वाचनको मिति निर्धारण गर्न, छुटेका सक्रिय पत्रकारलाई नविकरण तथा सदस्यता प्रदान गरेर मतदाता नामावली जेठ मसान्तभित्रै सार्वजनिक गर्न बाध्य पार्न महासंघ नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ ।

अहिलेसम्म विधान विपरीत भएका कार्य खारेज गर्दै विधान विपरित निर्देशक समितिले कुनै कार्य गरेमा त्यसको सांकेतिक विरोध कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।


प्रतिक्रिया

One thought on “जैसीलाई पत्रकार महासंघको नेतृत्वमा उम्मेदवार बनाउने श्रमजीवि पत्रकार संघको निर्णय

  1. बिना धितो ५ करोड दिनलाई जैसी ब्यान्क लिमिटेड खोल्न पर्छ पहिला ! महासंघको नेतृत्व तिर भन्दा बैंक खोल्नु पर्‍यो हजुर जतिको राम्रो मान्छेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर